19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बिग ब्याङ

कविता विजय देवकोटा March 31, 2020, 9:35 pm
विजय देवकोटा
विजय देवकोटा

वाह कल्पना !

कहाँ होला आकाश टुङ्गिने भित्तो ?

कति होलान्‌ यस्तै गोल-भुगोलका डल्लाहरू ?

तीनचुलीले कतिवटा बिहानी घामको झुल्कोमा नुहाउला ?

'बिग ब्याङ'को डरले बसाईं सरिरहँदा

कतिवटा गोला बिगार्लान्‌ मान्छेहरूले ?

...

अर्को 'बिग ब्याङ' :

आफूले टेकेको जमिनमा मात्रै भुइँचालो जानेछ

कहिल्यै नखसेको आकास

आफूतिर मात्र खस्नेछ

त्यो दिन मुटुको पम्पु एकाएक थाक्नेछ

फोक्सोले हावा छान्नेछैन

तातो रगत बग्नुपर्ने नशामा निलो शून्यता जम्नेछ‍‍‍‍

चिता र खाडलमा बिलाउने कायाको त के हिसाब र ?

...

अस्थायी आँशु, अस्थायी आर्तनाद, अस्थायी सुस्केरा

कोटा पुरा भएपछि ट्याक्क रोकिइनेछन्‌

अघि मुटुको पम्पु रोकिइए झैं

अरू-अरूहरूका लागि पनि त साँचेर राख्नुछ

किनकी

मरेपछिलाई पनि त अर्म-पर्म लगाउनुछ हामीलाई

मरेपछिलाई समेत पर्म लगाउनु पनि

एक 'बिग ब्याङ' नै हो नि!

...

यो भोग्नका लागि पनि त बाँच्नुछ हामीले

पीडा या खुशी त बाँचेरै पो महशुश होला

चट्टानको चेपका जिवाष्महरूलाई दु:ख न सुख !

हुन्डरीको बीचमा फसेका हामीलाई पो दु:ख-सुख !

वाह कमिले गोलोको 'बिग ब्याङ"!

...

नाप्नै नसकिने घनत्व

असीमित उर्जा

लौकिक विकिरण

परलौकिक कल्पना

एक 'बिग ब्याङ'

अनि...त्यसपछि ?

अब आस्तिक र नास्तिकहरू नै लडिरहुन्‌

कतै 'बिग ब्याङ' पो भैहाल्छ कि !

...

आउनुस्‌ कल्पनाको 'बिग ब्याङ' नापौं

निकै टल्किरहेको आकाशको त्यो तारा

जिबाकै आत्मा हुनुपर्छ

ती वनदेवी पूजा नगरे

घाँसदाउरा बिषालु बन्नेछ

भञ्ज्याङमा विश्वासले ढुङ्गा र पाती नचढाए

बाटोमै अपशकुन पर्नेछ

अतिविकासको कोरोनाले खेदेपछि

आदिविश्वासमा फर्कनु पनि

एक भयानक 'बिग ब्याङ' नै हो नि !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।