19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लेखेको एउटा सेल्फी

कविता भीम ठटाल April 16, 2020, 2:30 am
भीम ठटाल
भीम ठटाल

धेरै होइन

गोटा बिसेक वर्षअघिको कुरा हो

हाम्रो गाउँमा कोई मर्यो भने

कम से कम तेसदिन चाहिं

हाम्रोमा पोहोर टीका लगाउनु आयो आएन

या हाम्रोमा न्वारानमा २०१ रुपियाँ ल्यायो ल्याएन

या फेरि जंगलमा दाउराको डोको नठेलिदे'को

अनि भुटुन पैंचो माग्दा छैन भनेको

सबै सबै बिर्सेर

हत्त पत्त बाँस काट्नु

मान्छे बोलाउनु

हल्ला गरिदिनु

गाईलाई घाँस हाल्दिनु

कुखुराको चल्लाहरु बटुलेर थुन्दिनु

अनि भर्खरै मरेको आमाको

स्कूलबाट आउंदै गरेकी छोरीलाईबाटैमा समातेर

'आबो घर पुगेर नरुनु ल नानी, आमा तेस्तो भोयो'

भनेर भक्कु रुवाएर, उसको मन हलुङ्गो पारेर

ढाडमा त्यो नानी अनि किताब चाहिं काँधमा भिरेर

गाउँका सबैजनाले काम बाँड्ने गर्थ्यो।

(गाउँमा अझै त टेलिफोनको खम्बा हुने गर्थ्यो,

मोबाइल फोन भर्खर आ'को थियो

ट्याक ट्याक बटन थिच्नु पर्ने )।

भर्खरै राँड़ा भा'को बाबु चाहिं

नानीको लुगा कसरी फेर्ने, बाछाको दाम्लो कता छ,

कत्ति माना चामल पकाउने हो, हिउँदो कसरी काट्ने हो

केहि नबुझेर

वाल्ल परेर दुवै आँखाले केहि नदेख्नेगरि के के हेर्दै हुन्थ्यो।

मराउ हाम्रो गाउँमा एकताको मौका हुन्थ्यो-

ठूलो स्कूलमा नानी पठाउने बाबु

तास खेल्दा जितौरी बाँड्ने सरदार

पाती बोकेर चिया पनि नखाई

कर्म काण्डचाहिं गरिदिने अन्तरे बाहुन

अलैंची सुकाएर रमाइलो गनाउने फुर्पो लाप्चे

भर्खर भकारो सोरेको टाशी भोटे

तौलाइमा कम गरे पनि

सारो परेको मान्छेको बाँकी

भुलेको जस्तो गरेर छोडिदिने रामपर्वेस

मात्ने, साधु, घर-थर नभाको,

भाको जातको, नभाको जातको

सबै भेला हुने हुन्थ्यो।

मराउ साँचै समाजवाद हुन्थ्यो हाम्रो समाजमा।

गिलो भात र गुन्द्रुकको अचार अनि खेताला

खेतको पानी रुङ्ग्ने साथी, ढलाई गर्नु घर-लौरी

बिमारी बोक्ने काटेको डोको

बिहेमा सघाउने सोल्टी-सोल्टिनी

नयाँ दाल पकाको अनि ठुंग्ने भाले वनकोलाई चडाएको रात

छिमेकीलाई छानेको जाँडसँग खान बोलाउनु

हाम्रोमा पूँजीसम्पन्न प्रितिभॊज हुन्थ्यो।

अनि हामी यी सब पल

आँखाले खिंचेर, मनले सिंचेर, छात्तीले मिचेर,

मुखबाट पेटमा भक्कु घिचेर

पेट काट्यो भने सिधै

RDD -को सहुलियत पा'को पाइखानामा

हत्तारसँग download गरेर आरामसँग फर्किने गर्थ्यौं।

अझै गाउँमा Facebook र WhatsApp पसेको थे'न।

हामी अझै त खानाको हब्सानी राख्ने, देवी-देवतालाई चडाउने

अनि एक डल्लो भात बा'इर कालेलाई छोड्ने गर्थ्यो।

अनि यस्तो मौका सेव गर्नुलाई अझै हाम्रो स्कूलको नयाँ सरकोमा

पुरानो यौटा क्यामेरा थियो।

दसैं- तेउहारमा मन डुलेर , फूल फुलेर गाउँ मस्त मातेको हुन्थ्यो

अनि सहरबाट कुनै सुकिलो लुगा लगाउने साथी ट्याक्सी चढेर आउँदा

धुप्पिको फेदमा बस्ने, धानको खेतमा घुम्ने,

ऐंसेलु खाने र ठोट्ने भाँच्ने गर्दाको सम्झना

रातभरि सपनामा हिन्दी फिलिममा जस्तो रील फेरि घुमेर देख्नु मिल्थ्यो!

अझै त हाम्रोमा मान्छेहरु मान्छेहरुकोमा सघाउ पुर्याउ गर्नु भ्याउँ'थ्यो,

रुख ढलेको, पैरो गा'को, कटेरो डढेको, साँपले भैंसीको दूध खा'को,

साधारण कुरा हुने हुनाले साधारण पाराले सबै मिलेर उकासिहाल्थ्ये

होर्ल्यांगे, ओदानो, खोपा, मकैको धान-चमारा, घैंटोजत्रो मूला, कोदोको रोटी

सबैकोमा एउटा न एउटा हुने हुन्थ्यो

त्यसैले अचम्म मानेर upload गर्नु परेको थिएन।

हाम्रो गाउँमा मर्दा, जन्मँदा, घर बनाउँदा, मेल पात गर्दा

माछाले बल्छी नै चूँ डेको, नानीको साथी झार्नु जंगलको झार उखेलेको,

छोराको कान्छी स्वास्नीको जेठी छोरीको बिहे गर्ने सल्लाह,

रुखबाट सोरिएर झर्दा फिला पाछेको

यस्तै यस्तै कुरा हुन्थ्यो।

अलिक नबोल्ने बोलेको चाहिं

'तेस्लाई मो हेर् मात्रै न', या 'नहुनु भयो हौ काइँला' सम्म हुन्थ्यो।

रङ्ग, चिनो, गुम्पा, मन्दिर, गिर्जा कै'ल्यै चर्चाको विषय भएन

भोट भन्दा बेसी फर्सीको बोटकै कुरा भयो|

नपुगेको कुरा या सरकारले च्यादर नदेको कुरा गर्नु थाल्यो भने

' एई अन्तरे, पोलटिस्को कुरा नगर' भनेर कुरो टुङ्गो लागिहाल्थ्यो।

विचार अनि इच्छा जाहेर गर्यो भने

'एई हो त, ठिक भन्छ, हो नि' भनेर समर्थन हुन्थ्यो|

कसैको पनि मन्तव्य सबैको हुन्थ्यो

अनि सबैकी छोरी सबैकी छोरी नै पर्थी।

दुख्यो भने सबैलाई दुख्ने, हाँस्यो भने सबै हाँस्ने,

फल्यो भने सबैले खाने,

फ़लेन भने मिलेर खाने चलन गाउँमा थियो।

माथि हिउँ पर्दा तल टारघरेकोसम्म सिरकमा चिसो पस्थ्यो

अनि औलमा घाम लाग्दा लेकको धान पनि सुक्थ्यो।

***

गैरीघरे माइलीको जोवनजस्तै

थुप्रै दिन बितेर जानु थाल्यो।

छोरा-छोरी काख अनि हात दुवै जग्गाबाट छुट्यो

टारघरे माइला अब टावरघरे भयो

अनि लामो लामो थर भा'कोहरु छोटो छोटो घरमा सर्यो।

बिस्तारै नोकरीले घरको ठूलेहरुलाई

सहरको सानो क्वाटरमा बसाईं सार्यो।

गाउँ अब त कसैको बिहेमा मात्र जाइन्छ

साडी अनि सूट पनि घुम्नु पाओस् भनेर,

गाउँ अब त कोहि मर्दा मात्र जाइन्छ

आफुलाई चाइने मान्छे गनेर।

कुरै कुरामा थुप्रै फेर बदल भयो

किसिम किसिमको मिसिन आयो

झन् फोन त गजबकै किपट भयो

अब मरेको होइन बरु

कतिबेला मर्छ अनि upload गर्नु

भनेर social media-को चलन चल्यो ।

मुर्दाको video बनाउनु अनि सरकारको नीतिलाई दोष दिनु

नहुनुको दुखाइ र सामाजिक संजाल

निर्दोको खिल्ली, दैनिन्दिनी र स्थितिवोधसँग एउटा selfie !

मलामी नपुगेको घरबाट

बाँचेकाहरुको अभावको, तिनीहरुको सामाजिक स्तरको

लास पैले निस्किन्छ

र त्यो सारा संसार र जमाना घुमेर

भन्नु नभन्नु भनाइ भेटेर

सुन्नु नसुन्नु सुन्ने सुनेर

'मराउ माथि कात्रो' भन्ने बूढा-पाकाको भनाइलाई अर्थ दिँदै

आफ्नो अनुहार किताबले छोपर के छ छैन थाह नभई

आजकल त साथी हो!

समाज र मान्छे

मान्छे र म

म र मान्छे

मान्छे र समाज

खै साँचै संजाल भा'को हुनुपर्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।