लाखौं ढुंगाहरूमाथि हजारौं ढुङ्गाहरू
हजारौं ढुंगाहरूमाथि सयौं ढुंगाहरू
यसरी ढुंगै ढुंगाहरूमाथि चढेर
उभिएको छ शिखरको ढुंगा ।
तिमीले सगरमाथाको शिखर टेक्दा
कति ढुंगाहरूले काँध थापे
कति ढुंगाहरूको शिरमा टेक्यौ?
ढुंगा बनेका ढुंगाहरू
ढुंगा बनाइएका ढुंगाहरू
पूजिइएका ढुंगाहरू
कुल्चिइएका ढुंगाहरू
ढुंगैढुंगाहरू र
ढुंगाका पहाडहरूमा नचिनिइएका ढुंगाहरू,
तिमीलाई
क-कस्ले काँध थापे
क-कस्ले शिरमा चढाए?
तिमीले
क-कस्को काँध चढ्यौ
क-कस्को शिरमा टेक्यौ?
ती पनि ढुङ्गै थिए
जो भात खाँदा सिरिङ्ग दाँतमा लागेका थिए
जो साग खाँदा किरिकिरी दाँतमा लागेका थिए
जो जिन्दावाद-जिन्दावादले रङ्गिएका थिए
जो मुर्दावाद-मुर्दावादले पोतिएका थिए,
ढुंगाहरूको पहाड उक्लदै गर्दा
तिमीले थुकेर छाडेका ढुंगाहरू
पहाडका हातहरूले डोर्याएका गोरेटो हिंड्दै गर्दा
तिमीले ढोगेर छाडेका ढुंगाहरू,
शिखरमा पुगेर हेर्दैगर्दा
तिम्रा सम्झनामा छन् कि छैनन्?
उक्लँदै गर्दा शिखर
पहिरोमा धन्नैले ज्यान लिएका ढुंगाहरू
बिर्सन सकिने भए कि भएनन् ,
उक्लँदै गर्दा ठाडै उकालो
तिम्रा पाइताला राख्न
काँध थापेर बसेका ढुंगाहरू
सम्झन योग्य रहे कि रहेनन् ?
हुनपनि
उकालो चढ्दैगर्दा
माथि-माथि आकाशका तारा हेर्नु कि
पाइताला मुनि आफूलाई थामेका ढुंगा ?
नत्र त
तिमीले छोडेपछि
बृद्धाश्रममा आँसु सुकेर पल्टिएका पितृ जस्ता ढुंगाहरू,
सडकपेटीमा भोकले धुलो चाट्दैगरेका निरीह पागल जस्ता ढुंगाहरू,
पहाडका भित्ताहरूमा काई झैं टक्सिएका आफ्नै घर भित्र बनबासी जस्ता ढुंगाहरू,
अनुदानका चामल गोदाममा लाइन बस्दै गरेका बमले चोइटिएका वीर योद्धा जस्ता ढुंगाहरू......
तिनका पनि जिन्दगी
मान्छेहरूको जस्तै कथाले भरिएका हुने थिए ।