यति धेरै वर्षहरुले मलाई म बनाएको छ
त्यति धेरै वर्षहरुले तिमीलाई तिमि बनाएको छ
समयसंगै आफैमा हराउन सिकिसकेपछी
माया लाग्दो रैछ आफैसंग
डर लाग्दो रैछ हामीसंग
कतै मेरो म हराउने त हैन हामीमा
कतै तिम्रो तिमि हराउने त हैन हामीमा
तर पनि हामी त तिमि र म मिलेर मात्र बन्छ
फरक त अवश्य छौ हामी
समान पनि त छौ होला
त्यसैले आउ तिमि हामीभित्रको मलाई खोज
म हामीभित्रको तिमीलाई खोज्छु
जीवनको यो खोजमा
जटिल हैन सरल बनौ
बोझिलो हैन हलुका बनौ
फरक हुनुको गुनासो छोडेर
समान हुनुको प्रसंशा गरेर
अलिकति तिमिसंग मलाई मिसाउनु
अलिकति मसंग तिमिलाई मिसाउछु
सोचेर भन्दा धेरै बाँचेर बिताउ जिन्दगी
रोएर भन्दा धेरै हाँसेर बिताउ जिन्दगी
तिमीले र मैले हामी बनाएजस्तै
माया र प्रेमले जिन्दगी बनाउला
जुन सुन्दर हुनेछ हामी जस्तै
जुन प्रिय हुनेछ हामी जस्तै