14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सालिकलाई जाडो लाग्दैन

लघुकथा ईगम खालिङ April 29, 2020, 8:21 pm
ईगम खालिङ
ईगम खालिङ

एकजना मातेको मान्छे एउटा सालिकसम्म आइपुगेपछि साँच्चीको जिउँदो मान्छेसित बात मारेझैँ गरेर भुँडी मिचि-मिचि हाँस्न थाल्छ, त्यसपछि सालिकसित बोल्न थाल्छ—“नडराऊ भानु, म नेपाली चलचित्रको मत्थुजस्तो होइनँ । भन्नु हो भने म मात्तिने मान्छे नै होइनँ । तिमीलाई यसो कोट लगाइदिऊ भनेर आएको । यस्तो जाडो छ, बाहिर ।”

कोट खोलेर “नसिकसिकाउनु नि नयाँ कोट हो” भन्दै सालिकलाई लगाइदिन्छ । फेरि बोल्न थाल्छ—“आज भानुजयन्ती हो भनेर तिमीलाई कचकच गर्न आएको होइन नि ! दिन-रात बाहिर बस्दा कति साह्रो जाडो हुन्छ भनेर कोट लगाइदिनु आएको । हिज, मेरी श्रीमतीले मलाई रातभरि घरबाहिरै राखिन् । जाडोमा मलाई तिम्रो याद बेस्सरी आयो ।”

त्यति भनिराखेर उनी आफ्नो बाटो लाग्छ । तर अलिक पर पुगेर फेरि सालिक भएकोमा नै फर्किन्छ अनि यसपल्ट सालिकलाई राम्ररी नियाल्ने कोशिस गर्छ । त्यसपछि फेरि खितिति हाँस्छ । “मलाई शंका त लागेको थियो । थेत्, भानुभक्त भनेको त गुमानसिंह चाम्लिङ रहेछन् ! उनी चाहिँ कहिलेदेखि ‘आदि कवि’ भए । मौलो लाग्छ होला !” भन्दै कोट निकालेर आफ्नो ‘टाई’ चाहिँ लगाइदिइराख्छ । अलिक पर पुगेपछि सालिकतिर फर्केर नारा लगाउन थाल्छ—

“गुमानसिंह चाम्लिङलाई जाडो लाग्दैन !

लाग्दैन ! लाग्दैन !

गुमानसिंह चाम्लिङ दार्जीलिङको मान्छे हो !

मान्छे हो ! मान्छे हो !

गुमानसिंह चाम्लिङलाई जाडो सहने बानी छ !

बानी छ ! बानी छ !”

त्यसपछि अलिक सज्जन भावमा बोल्दै एक-दुई पाइलाहरू के हिँडेको मात्र थियो झटारिएर एउटी तरूणी केटीका खुट्टाहरूतिर मुन्टिन्छ । त्यतिबेला आफूसितै रिसाउँदै, निधारमा एउटा हात राखेर आफैलाई सराप्छ—“थुक्क मत्थु, मर्न पनि नसकेको !”

केटीले टमटरजत्रा आँखाहरू बनाएर अनुहार फुल्लाउँदै हेर्छे । उसले डराएको जस्तो गरेर दुई हात जोड्दै भन्छ, “मेडम, मैले कुनै प्र्याङ्क भिडियोको सुटिङ गरेको होइनँ, म साँच्चै ढुङ्गामा ठोकिएर लडेको हुँ । जाडोले गर्दा अलिकति रक्सी पिएको थिएँ मातेछु पो, माफ गर्नुहोला !”

त्यति सुनिसकेपछि केटीको अनुहाराकृति परिवर्तन हुन्छ, अनि अलिकति मुसुक्क हाँस्छे । उनी पनि अलिकति खुसुक्क हाँसेर भन्छ—“मैले मेरो कोट सालिकलाई एकैचोटिको निम्ति दिएँ । तर यो ज्यान चाहिँ कसको निम्ति बलि चढाउ-चढाउ भइरहेको छु ।”

केटी नबोली फुस्स परेर सरासर आफ्नो बाटो लाग्छे । कतै केटीले पछि फर्केर हेरी पो हाल्छे कि भन्ने आशामा उनी फेरि एकपल्ट त्यही भूइँमा घुत्रुक्क लडेर पर्खिरहन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।