बुद्धका आँखाहरूले
यो संसारलाई हेर्नु हो भने
कस्तो देखिने थियो होला?
सँधै क्षय हुँदैं गैरहने
छाला, रगत र
अस्थि-पञ्जरको गठजोड
अनित्य शरीरको
बोध भएर
परमार्थको खोजिमा
भिक्षु जीवन पो
अपनाउने थिएँ कि!
बुद्धत्वलाई आफैंभित्र
एकपटक उमार्न सके
म बताउने थिएँ
आफ्नै कृत्यले बेहाल
यो दुनियालाई
कुनै नयाँ सोच
कुनै नयाँ मार्ग!
सम्पन्नताको स्पर्धामा
आफैंलाई गुमाएर
खोक्रिएका मान्छेहरूको
जमातलाई
म बताउने थिएँ
बुद्धत्वको अष्टांग मार्ग
फेरि याद दिलाउने थिएँ
चार आर्य सत्य!