14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

किकर्तव्यविमूढ म सिंहदरबार

कविता अशोक घिमिरे May 13, 2020, 12:15 am

साँझ विहान

वाइटकलर लिवासलाई

ब्लुकलर खोलले छोपेका

अनगिन्ती कुपोषित श्रमिक लाग्ने

एक ठूलो जत्था मेरो

समयगेट हुँदै दिनहुँ बग्नेगर्छ ।

म शायद ती कुपोषित जत्थाबाट हुर्काइएर

हाजिरका म्यान र

अक्षरका खबल्टा भित्र वर्षौ घुम्रिएको

निहात् बलात् क्रिशकाया हुँ ।

म हरेक दिन अक्षरका खबटा भित्र सास फेर्दै

जनआस्थालाई सदा आशाको तन्द्रामा

तरल झुन्ड्याएर

अबोध शिशु आँखालाई शासन गर्दै

आकाशमा उडाइएको चेटच¨ाहरु

निर्लज्ज आफै हेरिबस्छु

थाहा छैन लटाई कसको हातमा छ ।

इतिहासदेखि वर्तमानसम्म

लम्पट सुतेका यी माकुरे दस्तावेजहरु

हिजोआज उल्टो उभिएर

अभिसप्त म माथि खोकिबस्छन्

र कठघरामा उभ्याएर नानाभाँती सवाल गरिबस्छन् ।

थाहा छैन उभिएर भूगोल आफै माथि

मानवीय संवेदनालाई कुल्चिएका

यी लीलामयुक्त गिद्वि

आदिम कारखाना झैँ

किन अझै पनि उत्पादन गरिरहेछन्

अक्षरका खबटाहरु ?

थाहा छैन अक्षरका एक रोमानी शहरभित्र

किन अझै पनि अबोध शिशु आँखाहरु

केही खोजीरहेछन् र

हराईरहेछन् आलिशान सिसमहलभित्र ।

थाहा छैन विदेशी कच्चा पदार्थ आयात गरी

अनवरत कारखानामा

कसरी उत्पादन हुनसकेका होलान्

यी मेसोपोटामिया सपनाहरु ।

थाहा छैन एक ठूलो अक्षरको मिउन टेकेर

कट्कटिएको चाउरी अनुहारमा

नक्कली दाह्री जुँगाको जंगल सम्याउँदै

किन किच्च हाँसो उड्ने गर्छ

र चुरोटको धुँवा म माथि फ्याँकिने गरिन्छ ।

किंकर्तव्यविमूढ म सिंहदरबार अझै पनि

जिउँदो छु र जवान छु

त्यसैले म हेरिरहेछु वर्तमान...........

हिजो बाघबाट सिंहमा परिणत भई

बनेको हुँ म सिंहदरबार

खबरदार

मलाई स्याल बनाउने कोशिस नगर ।

धरान, हालः काठमाण्डाैं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।