14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भित्ताहरूसँग

कविता भीम ठटाल May 21, 2020, 12:56 pm

वाकिफ होइन्छ भित्ताहरूसँग।

यति हो

तिनीहरूसँग बात गर्नुपर्छ।

भित्ता र मान्छे एक्लै एक्लै

निक्कै दिन सँगै बसेपछि

उदेकको एउटा साइनो बनिन्छ।

अन्यथा केहि नहुनू

केवल भित्ताहरूसँग बात गरिरहनु।

भित्ताहरू-

अनेक बटनहरू ठोकिएका

अनेक नक्साहरू टाँसिएका

अनेक पदकहरु झुण्डिएका

अनेक सामग्रीहरू राखिएका।

भित्ताहरु-

उँचाइ।

लम्बाइ।

चौढ़ाइ।

समय।

मलाई अरुभन्दा धेर मैबाट छेक्ने

अरूलाई मसम्म पुग्नुभन्दा मैलाई

अरूसम्म पुग्नुबाट रोक्ने

चुपचाप बोलिरहने

शान्तिपूर्ण आक्रमण गरिरहने

मैले जिस्क्याउँदा मैलाई जिस्क्याउने

मैले खिसी गर्दा मैलाई खिसी गर्ने

भित्ताहरू।

भित्ताहरू मेरोजस्तै

भित्ताहरू मेरो वरिपरि जस्तै

भित्ताहरू सबैको हुन्छ।

भित्ताहरूलाई निरन्तर हेरिरहेपछि

आफू जुरुक्क उठेर ह्वात्तै बाहिर जाँदा

भित्ता पच्छ्याउँदै बाहिर नआएपनि

भित्ता भित्र 'कैले फर्कन्छ'

भन्दै भित्ता पर्खन्छ।

हुनचाहिँ भित्ताहरू जो,

भित्र भित्रै आवाज र कम्पन बोकेर पनि

सम्पूर्ण इन्द्रिय भएर पनि मात्र भित्ताहरू छन्,

भित्ताहरूसँग,

केही नभएझैँ उनीहरुको 'सटाटस् क्वो'

आफ्नो 'अन्सर्टन क्वाण्टा'-सँग साट्नुपर्छ।

* * * (तर समय *-ले बिताउँछ।/?)

भित्ताहरूमा म हेरेर आँखाले नक्सा बनाउँछु।

एक दिन त म यी भित्ताहरूबाट

स्वाट्टै टाप लाउने नै हूँ।

त्यसैले यी भित्ताहरूमा मैले

यतिदिनसम्म आश्रय दिएकोमा

धन्यवाद ज्ञापनस्वरुप

देखेपछि मात्र देखिने

बुझेपछि मात्र बुझिने

नछापिकन केही छापहरु छापिराखेको छु,

नलेखिकन केही लेखहरू लेखिराखेको छु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।