18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत मन्दिरा मधुश्री May 22, 2020, 2:03 am

सुस्त सुस्त चकमन्न हुँदै जान्छ राति

अनायासै दुख्न थाल्छ देब्रे पाटो छाती

याद आउँछ गाउँ घरको खर्क रनबन

साथीभाइ हाटबजार निर्दोष बालापन

काफल गेडी ऐँसेलु र कटुस खोजी खाको

गुराँसको फूल साटी चोखो प्रीति लाको

ताजै लाग्छ देउरालीमा चढाएको पाती

अनायासै दुख्न थाल्छ देब्रेपाटो छाती ।

ढल्यो कि त अझै होला चौतारीको बर ?

मलाई बाटो कुर्दो होला अझै जन्मघर ।

जन्म कहाँ अहिले यहाँ मरण होला कहाँ ?

गाँठो परि बल्झ्यो याद जन्मेँ हुर्केँ जहाँ ।

आँखाभरी आँसु थपी बाल्छु मनमा बाती

अनायासै दुख्न थाल्छ देब्रेपाटो छाती ।

भोजपुर, हाल काठमाडौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।