17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अपराधी प्रशिक्षण केन्द्र

लघुकथा कृष्ण बजगाईं May 22, 2020, 2:43 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

‘अपराधी प्रशिक्षण केन्द्र !’

प्रशिक्षण केन्द्र संचालनको लागि आएको निवेदन पढेर हाकिम रन्थनिए । निवेदकलाई सोधे– ‘के हो यो ? अपराधी उत्पादन गर्न प्रशिक्षण केन्द्र खोल्ने तपाईको कत्रो हिम्मत ? अपराधीलाई भेट्नसाथ प्रहरीले सिधै पक्रिन्छ ।’ हाकिमले रवाफिलो स्वरमा बोले ।

‘विद्यालय र विश्वविद्यालयले अघोषितरुपमा भ्रष्ट्रचारी र अपराधी उत्पादन गर्दा हुने । हामीले घोषितरुपमा प्रशिक्षण केन्द्र संचालन गर्न नहुने ? खै विद्यालय र विश्वविद्यालयका संचालकहरुलाई प्रहरीले पक्रेको छैन त ?’ निवेदकले भन्यो ।

निवदकको कुरा सुनेर हाकिमको पारो चढ्यो । तर आफूलाई संयमित राख्दै हाकिमले भने–‘सम्बन्धित विषयको शिपका साथै नैतिक र आदर्शवान नागरिक हुने शिक्षा दिँदा कोही कोही भ्रष्टचारी, व्यभिचारी र अपराधी बन्छन् भने विद्यालय र विश्वविद्यालयको के दोष ?’

‘हाम्रो प्रशिक्षण केन्द्रमा पढेका विद्याथीहरुले अपराधको परिणाम पनि थाहा पाउने हुनाले डरका कारण सायद अपराध नगर्न पनि सक्छन् । असल प्रशिक्षार्थी पनि उत्पादन हुन सक्छन् ।’ निवेदकले तर्क गर्यो ।

उसको कुतर्क सुनेर हाकिमले जंगिदै भने ‘यो प्रशिक्षण केन्द्र कुनै हालमा दर्ता हुन सक्दैन ।’

‘यो धेरै पहिलेदेखि भूमिगतरुपमा संचालन भइरहेको व्यावसायिक प्रशिक्षण केन्द्र हो । अहिले यसलाई औपचारिकरुपमा दर्ता गर्न मात्र खोजेको हो । गणतन्त्र सबैका लागि आएको हो । गणतन्त्रमा पक्षपात गर्न पाइदैन । तपाईले दर्ता गर्नु भएन भने माथि कुरा गर्दछु ।’ निवेदकले धम्किको भाषा बोल्यो ।

माथि भन्ने शब्द सुनेपछि हाकिम हच्किए । अलिक नम्र हुँदै सोधे– ‘त्यहाँबाट उत्पादन भएका प्रशिक्षार्थीहरुले कहाँ रोजगारी पाउँछन् त ?’

‘भूमिगतरुपमा संचालित प्रशिक्षण केन्द्रमा राजनीतिक पार्टीहरुको पनि लगानी छ । हाम्रा प्रशिक्षार्थीहरुले सत्ता पक्ष, प्रतिपक्ष लगायत ठूलासाना सबै राजनीतिक पार्टीमा रोजगारी पाइरहेका छन् । भविष्यमा तिनले स्वदेशमा मात्र होइन विदेशमा पनि रोजगारी पाउने सम्भावना छ ।’ निवेदकले उत्तर दियो ।

निवेदकको उत्तर सुनेपछि हाकिमलाई चिट्चिट् पसिना आयो ।

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।