सक्नेभए,
पानीलाई पनि
छोडिदिनु अलिकति तिर्खा
वतासलाई पनि
बाँडिदिनु अलिकति शीतल
ढुंगालाई दिनु अलिकति वजन
धर्तीलाई अलिकति माटो दिनु
संकटमा परेको साथलाई
अलिकति साथ दिनु
अभरमा परेको छ
सेवा गर्ने हात
हातलाई अलिकति हात दिनु ।
विस्तारै आउनु
बाटोले पनि लामो श्वास फेरोस्
र एक छिन आराम गरोस् ।
खाली खाली आएका
यि हातहरूलाई
यो व्रम्हाण्ड नै बोकाएर
हतारलाई पनि हतार हुने गरी
कता हिडिरहेको हो यो लक्कर
पख्नुस्
हजुरबाले बनाएको
चौतारोमा बसेर
एकछिन प्रकृतिको पुराण सुनौं ।
गोरखा