14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

बरु बस्छु जागाराम

कविता सन्ताेष लुइटेल किंसुका June 8, 2020, 4:13 pm
सन्ताेष लुइटेल किंसुका
सन्ताेष लुइटेल किंसुका

आज त म पनि सुताैँ कि ?

आँखा लगाउँछु ओछ्यानतिर,

खै किनकिन साहसै पुग्दैन,

ओछ्यानयात्राका लागि किन हाे कुन्नि पाइलै चल्दैनन् ।

साेच्छु,

रात यति छोटो छ,

सुताैँ त सपनाकाे बाढी,

यो छोऽऽटो रातमा के सपना देख्न सकिन्छ र ?

फेरि देख्नु पनि के छ र ?

पाइला प्रतिपाइलामा चिहान बनाउन

सुते त निदाइएला, निदाए अर्काे सपनाकाे जन्म

विपनासँगै मलामी,

भाे …..

बरु बस्छु आज पनि जागाराम

००

भोलि त आखिर उठ्नु नै छ फेरि

नित्यकर्म जेसुकै रहोस् ।

बाध्यताका बन्धनले बाँधिएर

दासबजारमा हाजिर हुनु छ

धेरै रम्रिएर,

मेरुदण्ड नै भाँचेर भए पनि

नम्रिएर

इच्छाहरूलाई खाडलकाे सिन्कीगुन्द्रुकझैँ

अतृप्त मनकाे गहिरो खाडलमा सझाउँदै

मालिककाे दुईदाना मकै र

एकडल्लाे जुठो भातमा असीम प्रेमकाे पहाड देख्ने दसैँखसीझैँ

रमाउनु छ

यस्ता विवशताका बिच के सुत्नु र सपना देख्नु ?

भाे ….

बरु बस्छु आज पनि जागाराम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।