16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘दाइबुचु’ भित्र भेटिएको जापान

कृति/समीक्षा भारती गौतम June 9, 2020, 5:40 am

‘विश्व एउटा पुस्तक हो अनि त्यसको विचरण नगर्नेहरुले त्यो पुस्तकको पहिलो पृष्ठ मात्र पढेको हुन्छ ।’ –सेन्ट अगस्टिन

विश्व पुस्तकको प्रस्तावनामा नै कोहि कोहि अड्किए पनि धेरैजसोले कमसेकम केहि पाना छिचोलेकै हुन्छ । हजुरआमा भेट्न मावलदेखि दिदी वा सानीमा भेट्न पल्लो गांउँ अनि साथीकी दिदीको विहे खान त्यो भन्दा पनि पारी नजाने मान्छे भेट्न मुस्किल छ । कतै जान्न भन्नेले पनि औंसी र पूर्र्णीमाका हाट भर्न चम्पे र देउराली बजार भनौ या गांउँ वेंसी गर्न दोभान वा खरीवोट भनौ कुनै न कुनै प्रकारले आफ्नो गतिशीलता को धर्म थामेकै हुन्छन् ।

पुराण, विहे, व्रतवन्ध, अन्तिम संस्कार आदिको लागि हिडेको पदयात्रा, धर्म आर्जन गर्न पैताला दर्फर्याउँदै चढेका पहाडी चुचुराहरु अनि शिक्षा आर्जनको लागि टेकेका गुरुजीका पिंढीसम्मको विचरण हाम्रो स्मृतिमा नौलो हैन । त्यसैगरी दुई मुलुक वीच मित्रताको पुल वांध्न नाघेका भौगोलिक सिमानादेखि प्राज्ञिक सम्मेलनमा सहभागी बन्न उपस्थित वौद्धिक घुँईचोले पनि मान्छेलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याएकै हुन्छ ।

सभ्यताको गाडी जतिजति तेजले अघि बढ्छ उत्सुकताको सडक पनि त्यति नै फराकिदै जाने परिप्रेक्षमा मान्छेको विचरण परिधी पनि तन्किदै जान थाल्दो रहेछ । अर्को मान्छेको मन, मष्तिष्कदेखि आरम्भ भएको नियन्त्रणको लालचको भोक भौगोलिक परिधिको नियन्त्रणले नमरेर ग्रह नक्षत्र नियन्त्रणको महत्वाकांक्षासम्म मौलाउन थाल्यो । यस्तै महत्वाकांक्षाको विमानमा चढेर कोलम्बस, मार्कोपोलो, भास्कोडिगामा, चाल्र्स डार्विन, आईवीन वाट्टुरादेखि युरी गागरीन, माईकल पेलीन अनि क्याप्टेन कुक र युहान ह्वाङ आदि थु्प्रैले आफ्नो गतीशीलताको सिमाना क्षीतिज पारीसम्म तन्काए ।

समयको धमिराले पुरे पनि पुरातत्वको उत्खनन् भ्रमणका दस्तावेजहरु कुनै न कुनै रुपले संरक्षित नभए ईतिहासले यो सबै ठम्याउन सक्ने थिएन । आफूले टेकेको भूमी, आफूले भेटेको बहुमुल्य नीधि अनि आफूले देखेको दृष्यमा सकेसम्म धेरैलाई सहभागी गराउन भनेर नै यी सवैको अभिलेख राख्ने प्रवृत्तिको विकास भएको हुनु पर्छ । ‘हाम्रा सन्तानले तिम्रा सन्तानलाई’.... भने जस्तै मौखिकरुपमा लोककथा, लोक गीत लोक संस्कृतिमा विभिन्न स्थानहरुको विवरण पनि कता कता मिसिएको भेट्न सकिन्छ । राजनीति र धर्मका ईतिहासका तुलनामा भ्रमणका ईतिहास नगन्य नै भए होला ।

भ्रमण प्रवृत्ती अनि भ्रमणको अभिलेख राख्ने मानवीय परम्पराको थालनीको मिति किटान गर्न खोज्दा मानव सभ्यताको आरम्भलाई समेत नाघेर जानु पर्ने पनि हुनसक्छ । तर पनि ईतिहासको आरम्भ कतैबाट त हुनै पर्ने हुन्छ । कसैले पुगेर आएको स्थानको विवरण पनि यात्रा विवरण अनि ठाउँको विवरणगरी दुई रुपमा हेर्नु पर्ने हुन थाल्यो । आफू पुगिसकेको ठाउँमा अरुलाई पुग्न सजिलो होस् भनेर मार्गदर्शक(गाईड)को रुपमा विवरणको अभिलेख एक प्रकारको हुन थाल्यो । त्यो ठाउँवारे विस्तृत अध्ययन गरेर शिक्षाप्रद विश्लेषण र विवरण अर्को संभावना भयो । त्यस्तै तीर्थस्थानमा पुगेका स्थलहरुको धार्मिक माहत्म्य ग्रन्थ पनि जन्मिए । यस्ता विवरणहरुमा सर्जकहरु वीच प्राय एकरुपता भेट्न सकिन्छ । तर ती ठाउँमा पुगेर अनुभुत गरेका व्यक्तिगत भावनाको सँगालोमा भने एकरुपता पाउन गाह्रो हुन्छ । यात्रा विवरण र नियात्राको फरक यहि हो ।

ट्राभल जर्नल भनेर यात्राको बेला लेखिएका दैनिकीहरुको प्रकाशन सत्रौं शताव्दीको अन्त्य तिर जेम्स वाज्वेलवाट नै आरम्भ भएको भनिएको छ । उम्किएर स्वतन्त्र हुन सफल दास दासीहरुले अठारौं र उन्नाईसौं शताव्दीमा दासत्वको यात्रामा भोगेको वेदना र यातनाका अभिव्यक्तिहरुको प्रकाशनले आत्मपरक अनि भावनात्मक यात्रा विवरणको आरम्भ भएको हो कि भन्न पनि सकिन्छ ।

विश्व ईतिहासमा जे जस्तो भए पनि नेपाली परिप्रेक्षमा यात्रा विवरण या यात्रा साहित्यलाई वस्तुगतबाट भावनात्मक विवरण वीचको सिमारेखामा नियात्रा राख्न सकिन्छ । विक्रम संवत २०२५ मा प्रकाशित तारानाथ शर्माको ‘बेलायतिर बरालिदा’ पुस्तकको भूमिकामा भाषासास्त्री बालकृष्ण पोखरेलले ‘नियात्रा’ शव्दको न्वारान गर्नु भएको हो । त्यसपछि यात्रा र नियात्रा बेग्ला बेग्लै वाटामा हिड्न थाले । नियात्राको शाव्दिक अर्थ केलाउने हिम्मत नगरे पनि यात्राको निजी अनुभव मिसिएपछि त्यो नियात्रा हुन्छ । नियात्रा शव्दको जन्म जहिले भएको भए पनि यात्रामा निजी अनुभव घोलिएका रचनाको जन्म त्यसअघि देखिनै भएको भन्न सकिन्छ । यात्रासँंग निजात्मक अनुभवलाई आत्मपरक रुपमा अभिव्यक्त गरिएका पुस्तकहरुको मुहान खोज्दै जाँदा पाँचसय वर्ष अगाडि शेरसिंह राणाको ‘राजा गगनीराजको यात्रा’ देखि सन् १९९० मा प्रकाशित ‘जंगवहादुरको बेलायत यात्रा’लाई बिर्सिन सकिदैन । वीचमा केहि समयको अन्तराल भए पनि आत्मपरक यात्रा विवरण अर्थात नियात्रा लेखकहरुको खाचो नेपाली साहित्यमा भएन । लैनसिंह वांगदेल , तारानाथ शर्मा, प्रकाश एराज, केदारमणी आदी, रमेश विकल, यादव खरेल, घनश्याम राजकर्र्णीकार ,रमेस खकुरेल, विष्णुगोपाल रिसाल देखि हालका चन्द्रभट्टराई, जयछांङछा , ईल्या भट्टराई आदि धेरै नै साहित्यको यो उपविधामा योगदान गर्ने मध्ये पर्दछन्।् ।

साहित्यको नयाँ उपविधा भएर हो या तुलनात्मक रुपले हाम्रो समाजमा देश विदेश भ्रमणको अनुकुलता एवं परिपाटीको प्रचुरताले हो नियात्रा लेखनको गाडी पनि तेज गतिमा दौडिदै छ । तेजगतिमा दौडिएको गाडी प्रतिस्पर्धात्मक भयो भने पक्कै पनि दूर्घटनाको संभावना पनि वढ्ने हुन्छ । नियात्रा लेखनले पाठक अनि समाजलाई आआफ्नै क्षमता र रुची अनुसार कसैले केवल सूचना प्रवाह गरेका हुन्छन्न् अनि कसैले बाटाको अनुभव मात्र प्रस्तुत गरेका हुन्छन् । यात्राको क्रममा आफ्ना सवै ईन्द्रियका अनुभवको सहयोगमा ती स्थान प्रति पाठकलाई उत्सुकता जगाई दिन्छन् ।

केहि समय अगाडी हात परेको ‘दाईवुचु’ नियात्रासङ्ग्रहले चाहिँ पाठकलाई त्यो ठाँउमा जान उत्सुक बनाउनुको साथै पाठकलाई त्यहाँ पुग्न प्रेरित पनि गरेको देखिन्छ । नेपाली साहित्य बगैंचामा नियात्राका केहि सुन्दर फूलहरु प्रस्तुत गरीसक्नु भएका लेखक कृष्ण बजगाईको नयाा नियात्रा कृति ‘दाइबुचु’ भित्र डुबुल्की मार्ने मौका पर्यो । ‘सुर्योदयको देश’ भनेर सुनेको जापान बेला बेलामा हेरिएका कोरियन सिनेमाहरु एवं पर्लहार्वरको ईतिहास ग्रहणले छोपिएको अल्पज्ञान अलिकति उघारिएर प्रविधिको अगुवासम्ममा मात्र सिमित जापानको परिचयलाई यो पुस्तकले विस्तार गरेको छ । चिने चिने जस्तो मात्रै लाग्ने परचक्रीलाई चिरपरिचित आफन्त बनाएको छ । त्यति मात्र हैन ‘दाइबुचु’ले मलाई हात समाएर जापानको भ्रमण गराएको छ ।

जापानको घुँईचो सडक, चिल्ला गाडी, फूर्तिला मान्छे, सभ्य व्यवहार भन्दा पनि गहिरिएर अलिकति धार्मिक, केहि सांस्कृतिक, केहि ऐतिहासिक एवं साहित्यिक सवै पक्षसँग भेट गराउने यो पुस्तकलाई मैले वास्तवमा ‘जापानको प्रारम्भिक परिचयात्मक शिक्षण सामग्री’को रुपमा लिएकी छु । नेपाली नियात्रा साहित्यको आकासमा अहिलेसम्म उदाएका अन्य ताराहरु भन्दा वेग्लै दाइबुचुले अझ जापानको शिक्षण भ्रमणको हदसम्म जापान वुझाउँछ । कछुवा र खरायो अनि बावुछोरा र गधाको कथा जस्ता लोककथामा लुकेको नैतिक पाठ जस्तै दाइबुचु भित्रको यात्रा विवरणमा लुके जस्तै पाठकहरु पनि सर्जकसँगै घुमिरहेका हुन्छन् । लेखकले भने जस्तै हाइकु मिसिएको गद्यलाई हाइबुन भन्दछन् । सात दर्जन भन्दा बढि हाइकु समावेस भएको यो गद्य पक्कै हाईवुन हुनुपर्छ । यस अर्थमा यो पुस्तकको संरचना आफैले हामीलाई जापान पुर्याउन सक्छ ।

‘यात्राको क्रममा देखिएका दृष्यले मनमा स्पर्श गरेपछि कुनै गद्य बनेर पोखिए, कुनै हाइकु बनेर छताछुल्ल भए । तिनै अनुभूतिलाई समेटेर दाइबुचुु नामक प्रस्तुत नियात्रा संग्रह यहांहरु समक्ष लिएर आएको छु ।’ सर्जकको आत्मकथनको यो वाक्य नै पुस्तकको सटिक परिभाषा भएको छ । यात्राको विवरण कम अनि आत्मिक अनुभूति धेरै समेटेको यो पुस्तकले वास्तवमा पाठकलाई सर्जकको हृदयसंग भेट गराउँछ । जापानमा घुम्दैगर्दा पाठक घरीघरी आफ्नै घर पुग्छ ।

प्रसिद्द स्कटिस लेखक लुईस स्टिभेन्सनले भने जस्तै ‘विदेश भन्ने कहिं हुदैन , त्यहाँ यात्रा गर्ने यात्री मात्र विदेशी हुन्छ’ भन्ने तथ्य दाइबुचुले पुष्टी गरेको छ । पुस्तकको पृष्ठै पिच्छे तुलनात्मक रुपले होस् वा भावनात्मक रुपले पाठकलाई नेपाल मात्र होइन आफ्नै घर पुर्या एका छन् । दाइबुचुमा संगृ्रहित तेह्रवटै निबन्धले हामीलाई तेह्र विभिन्न कोणवाट जापानको परिचय गराउँछ । यस भित्रका हरेक शीर्षक मार्फत जापानलाई धार्मिक , भौगोलिक, ऐतिहासिक, आर्थिक, सामाजिक एवं साहित्यिक दृष्टिले चिन्न पाउँछौ ं। यहि दृष्टिकोणलाई निवन्धका केहि शीर्षक अन्तर्गत अलिक विस्तृत रुपमा हेर्न सकिन्छ ।

धार्मिक

दाइबुचुले जापानी धार्मिक ईतिहास अनि उनीहरुको धार्मिक विश्वासको परिचय दिएको छ । पहिलो निवन्ध ‘सम्राटको आत्मा दर्शन’ भित्र पस्ने बेला टोरीगेट पुगेर हामी पनि वर्तमान र विगतको सिमानामा आफ्नै मुलुकको नियति जस्तै एकछिन उभिन्छौं । सभ्यता अनि प्रविधिको शिखरमा झन्डा गाढिसकेको जापान भित्र पनि आत्माको उपस्थितिलाई विश्वास गर्ने सिन्तो धर्मको परिचय यस पुस्तक मार्फत जापानसँगको पहिलो चिनारी भएको छ । राजा मेईजी र रानीको आत्माको दर्शन गर्न लेखकसँगै हामी पनि टोरिगेटबाट छिर्छौं । आत्मा कहिल्यै मर्दैन विश्वास भन्ने विश्वासमा हुर्किएका हामी सिन्तो विश्वासबाट कति टाढा रहेछौं र ? हामीले पुज्ने मूर्ति अनि संवेदनशील भएर पालना गर्ने पितृकार्यसँग सिन्तो विश्वाससँग दाँजेर लेखकले जापानसंगै आफ्नै घर पुर्याए जस्तो लाग्छ । नदी, पहाड, चट्टान, वृक्ष, चन्द्रमा र सूर्यमा आत्माको निवास हुनसक्ने सिन्तो धर्मावलम्वीको विश्वास हामीले सवैतिर देवताको बास पत्याए भन्दा टाढा पाईदैन । नुहाएर मात्र देवताको दर्शन गर्ने हामी भन्दा दुवै हात धोएर कुल्ला गरी चोखिएर सम्राटको आत्माको दर्शन गर्ने जापानी परिपाटी पनि फरक लाग्दैन । सनातन प्रकृति अनि पुजिनेहरु असंख्य भएको जापानी प्राचीन सिन्तो धर्मलाई लेखकले हाम्रो हिन्दु विश्वासँगग दाँज्दा हामीलाई अनौठो लाग्दैन ।

‘कामाकुराका बुद्ध’को भ्रमणबाट हामी पुस्तकको धार्मिक परिच्छेदमा पुग्छौ । कुनै समयमा जापानको राजधानी रहेको कामाकुरा सैनिक शासनको जन्मस्थान भए पनि सामुराई शासन भए पनि बुद्धको विशाल मूर्ति देख्ता र भेट्दा हामी सामुराई शासनकालको अलिकति जापान पनि भेट्न सक्छौं । कामाकुराको दाइबुचु भेट्न हामी पनि उत्सुक भएर लेखक संगै हुन्छौ । दाइबुचु समेतका थुप्रै वौद्ध मन्दिरहरु भएको कामाकुराबाट बुद्ध र बौद्ध धर्मको प्राम्भिक जापानी परिवेशसँग हामी परिचित हुन्छौं । चवालिस फिट उचाई एवं अनुहारको लम्वाई नै सात फीट भन्दा बढि भएको त्यत्रो बडेमानको मूर्ति देखेर बुद्धको मुलुकमा जन्मिएका हामीलाई पनि कताकता ग्लानी हुन्छ । वास्तवमा बुद्धको सबैभन्दा विशाल मूर्ति त हामीसँग पो हुनु पर्ने । मूर्तिको विस्तृत वर्णनसँगै हामी पनि गर्भगृह हुंदै भर्यांङबाट ओर्लिन्छौं । धार्मिक श्लोक र सुत्रको सट्टा बुद्धको वारेमा रचिएका कविता र हाइकुले कुदिएका ढुंगा मन्दिरका आँगन वरीपरी देख्ता हामीलाई पनि आश्चर्य लाग्छ । हामो जस्तै भन्दा भन्दै पनि यस्ता फरक देखाउन समेत लेखक चुकेका छैनन् ।

‘योकोहोमाको समुद्र र माचुरी’मा जापानको दोस्रो ठूलो शहर योकोहोमाको भ्रमणमा हामी जापानको भौतिक प्रगतिको चरम सिमाका सवुतहरुका साथै धार्मिक अनि सास्कृतिक पक्षसंग पनि भेट गर्न पाउँछौ । आणविक अस्त्र अनि प्राकृतिक प्रकोपले थिलथिलो भए पश्चात अझ बलियो भएर ठाडो शिरले उभिने प्रसिद्ध बन्दरगाह योकोहोमा हाम्रो काठमान्डौ जस्तै बाह्रै महिना कुनै न कुनै पर्वमा रमाएको जस्तो लाग्छ । ईन्द्रजात्रा, मच्छिन्द्रनाथको जात्रा आदि आफ्नै ‘मन्चुरी’हरुले सम्पन्न काठमान्डौ अर्थात् त्यो अर्थमा योकोहोमालाई नेपालसँग दाज्न मन लाग्छ । बुद्ध मन्दिर र बुद्ध धर्मको शिक्षा समेतको ईतिहास बोकेको योकोहोमामा भेट्टिने चिनिया व्यावसाय र लाफिङ बुद्धका प्रसँग पनि बिर्सिन सकिदैन । उक्त नियात्रा पढिरहँदा अमेरिकाका विभिन्न राज्यहरुमा भएका चाइना टाउनको संझना दिलायो ।

‘क्योटोको किंकाकुजी’मा एघारौं शताब्दीसम्म जापानको राजधानी रहेको क्योटो भित्रका थुप्रै बुद्धमन्दिरको संख्या सुन्दा प्राचीन मन्दिर नै मन्दिरले भरिएको भक्तपुर र पाटनको झझल्को आउँछ । लेखकले तीनतले स्वर्ण मन्दिरमा विस्तृत विवरणको साथमा हामीलाई पनि सँगै लिएर जान्छन् । शान्ति नगर क्योटोको विवरणले पढ्दा जापान सम्बन्धी केही उत्सुकता शान्त हुन्छ ।

साहित्यिकः

जापानको साहित्यिक पक्षसँग पनि दाइबुचुले केही चिनारी गराउँदछ । धेरैजसो नियात्रामा जापानी साहित्य, कला र संगीत प्रेम बारे केही परिचय त पाउँछौ । तर ‘जापानको केराघरे माचुओ’ पढेपछि चाहि हाइकु र जापानको घनिष्ठतालाई सवैभन्दा नजीकबाट अनुभव गर्न सक्छौं । लेखकले आफूसँग हामीलाई हाइकु सम्राट मााचुओ बासोको घर भित्र पुर्याउँछन् । वास्तवमा हाइकु र यात्रा मिसाएर ‘ओकुनो होचोमिसी’ सिर्जना गर्ने बासो आफै पनि नियात्राकार थिए । हाइकु र गद्य सराबरी पाईने उनका पुस्तकहरु यात्रा लेखनको ईतिहासमा महत्वपूर्ण रहेका छन् । हाइकु साहित्यसँग विश्व ईतिहास अझ हाम्रो समाज परिचित भएको धेरै नभईसकेको बला हाईकु साहित्य र जापानसँंग मात्र हैन हाइकु सम्राट स्वयम माचुओ बासोको संग्रालय मा पुर्याएर लेखकले दाइबुचु मार्फत हाइकु सम्बन्धमा धेरै जानकारी प्रदान गरेका छन् । माचुओ बासोको संग्राहलयको विस्तृत विवरण हेर्दा हामी पनि लेखकले जस्तै आफ्नै मुुलुक एवं आफ्ना विभूति साहित्यकार संझिन पुग्छौ । भानुभक्त, देवकोटा, सम, पौड्याल जस्ताको त्यस्तै संग्राहलय या अजायवघर हेर्न मन आशावादी हुन्छ । असंख्य मन्दिर निर्माण गर्ने व्यवस्थाले किन यस्ता विभूति संझिन नसकेको होला प्रश्न उठ्छ । जापानी हाइकु ईतिहास मा एउटा युगैलाई बासो युग भने जस्तो हाम्रो भानुभक्त युग भयो कि भएन होला ? हाइकु सम्राटको संग्राहलय, हाईकुपाथ अनि बुद्ध मन्दिरहरुमा ढुंगा ढुंगामा हाईकु कुदिएको जानकारी सहित जापानमा हाइकुको स्थान बारे यो पु्स्तकले गहिरो ज्ञान दिएको छ । दस वटा हाइकु सिर्जना गरेर लेखकले हाइकु सम्राट प्रति सहि अर्थमा कृतज्ञता ज्ञापन गरेका छन् ।

‘हाइगाको हाँगा’ मार्फत जापानको अभिन्न साहित्यिक विधा हाइकु र चित्रको समागममा सिर्जित हाइगासँग पनि हामी परिचित हुन्छौं । नेपाली साहित्यमा कुनै चर्चामा नरहेको ‘हाइगा’ रोचक अनि नौलो लाग्छ । लेखक हाइगा प्रदर्शनीकै प्रत्यक्षदर्र्शी हुनु पाठकले यस विधा प्रति परिचित हुने अमूल्य मौका पाउनु हो । शव्द चित्र अर्थात तस्बिर र त्यसवारे कविता हाम्रै साहित्य ईतिहासमा पनि नभेट्टिने त हैन । तर अक्षर गनेर तयार गरीएको हाइकुले एउटा चित्रको वर्णन गर्ने अनि यस्तो अवधारणाको बेग्लै नाम पाउनु चाँही अनौठै लाग्छ । लेखकको भावनात्मक एवं विस्तृत विवरणसागै हामी प्रदर्शनीमा पुग्छौं ।

सामाजिकः

दाइबुचुका विभिन्न निवन्ध मार्फत जापानी समाजसँंग पनि हामी धेरै नजिकबाट परिचित हुने मौका पाउँछौ । कुनै धार्मिक स्थलमा जानु अघिको तयारी, विभिन्न अन्धविश्वासहरुको प्रत्यक्षदर्शी हुँदै त्यहााका सामाजिक अरु धेरै कुनाकाप्चा चाहार्न पुगिन्छ ।

‘ओन्सेनमा नांगा नांगै’मा निर्वस्त्र स्नान गर्ने आफ्नो रोचक अनुभवको सजीव वर्णन संगै लेखकले त्यस परिपाटीको पृष्ठभूम मा सामाजिक विश्वास अनि वैज्ञानिकता समेतको विश्लेषण गरेका छन् । आधुनिक सउना बाथ जस्तो फेसनको रुपमा नभएर आफ्नै अर्थ र ईतिहास बोकेको त्यो प्रचलन वास्तवमा नै रोमान्चकारी लाग्छ । आफू अभ्यस्त भएको मान्यता भन्दा बेग्लै आफूले अनुभूत गरेका सबै प्रसंग भन्दा नौलो परिपाटीमा सजिलै सहभागी बनेर लेखकले ‘रोममा भएको बेला...’ उखानलाई आत्मसात गरेको देखिन्छ । यसवाट हामी पाठक पनि त्यहां पुगेर निर्वस्त्र भएर तातो पानीको स्टीमरुममा भित्रिन्छौं । चिसो पानीमा चोपलिएर शरीरमा नुन दलेर ढुंगामा सेकिन समेत पुग्छौं । लेखकसंगै हामी पनि केहि संकोचवश त्यो अनौठो अनुभव गर्छौं । नांगो शरीरलाई कस्तो रुपमा लिने भन्ने पनि सन्दर्भ अनुसार फरक पर्छ भन्दै लेखकले जापानमा वर्षेनी लाग्ने ‘लिंग जात्रा’को समेत उल्लेख गरेको छन् । केहि दिन जापान भ्रमण गरेर भेउ पाउन नसक्ने सामाजिक कन्तुर भित्र लेखक पसेको उदाहरण हो यो नियात्रा ।

जापानमा बिरालाको लोकप्रियताको वारेमा हामीलाई जानकारी मात्र नदिएर लेखकले विरालासँग भेट गराउन ‘क्याट क्याफे’मा नै पुर्याएका छन् । कुकुर बिराला लोकप्रिय पाल्तु जनावर भनेर थाहा पाउनु जति स्वाभाविक भए पनि विरालोसाग खेल्न जाने, बिरालासँंग संगत गर्ने गरी बिरालाकै क्याफे वारे सवैले थाहा पाएको हुंदैन । ‘क्याट क्याफेमा बिरालीसँग आँखा जुध्दा’ शीर्षकमा बिराला भेट्न जाने क्याफेमा लेखकसँगै पुग्छौं । यो शीर्षक मार्फत जापानमा घट्तो जनसंख्या अनि बढ्दो आयु संभाव्यता अर्थात लाईफ एक्सपेक्टेन्सीले गर्दा एक्ला अनि निरास मान्छेहरुको संख्या बढ्न थालेको तथ्य पनि थाहा पाईन्छ । हुनत बिराला अत्यन्त प्रिय मान्ने मुलुकमा एक्लोपन हटाउन कै लागि मात्र क्याट क्याफे गएको नहुन पनि सक्छ । तर एक्ला मान्छेको लागि यस्तो अवसरले सुनमा सुगन्ध नै थप्ला । क्याट आईल्यान्डमा मान्छे भन्दा बिरालाको संख्या धेरै हामीले कल्पना पनि गर्न सक्ने थिएनौ । हामीले गाईलाई जस्तै जापानमा बिरालालाई पुजा पनि गर्छन् । उक्त नियात्रा नपढेको भए टोकियोमा बिरालाको मन्दिर छ भन्ने कुरा थाहा पाउने थिएनौ । क्याटलग हेरेर आफूलाई मनपर्ने विरालासँग भेटघाट गर्न पाउने जापानी सामाजिक पक्ष हामीले यसै पुस्तकको माध्यमवाट थाहा पायौ ं। त्यस्तै स्वामीभक्त कुकुर हाचिको बारे पनि हामीले थाहा पायौ । लेखकको उदार कलमले नै हामीलाई घरैबसी बसी जापानी समाजसँग भेट गराउँछ ।

तिघ्रामा विज्ञापन गर्नेदेखि जापानीहरुको अमेरिका प्रतिको आशक्ति आदि जानकारी थाहा पाउँदा जापानी समाजसँंग अझ भिज्न पुग्छौं । धेरैले देखेको कुकी, क्यान्डी अनि चिप्स जस्तो स्यान्कस्हरु र कोल्ड ड्रिन्क मात्र झर्ने भेन्डिङ मेसिनसँग परिचित हामी धेरैले त्यो भन्दा बेग्लै तातो ह्यामवर्गर, ट्वाईलेट पेपर, ब्याटरी, टाई, अन्डरवेरदेखि छातासम्म कुनैपनि वेला किन्न सकिने भेन्डिङ मेसिन पनि देख्न पुग्छौं । विकसित मुलुकका सबै सम्पन्न हुन्छन् भन्ने सामान्य मान्यताको विपरित जापानको सडकमा भेट्टिएका घरवार विहिन मान्छेले हामीलाई अचम्भित वनाउँछ । हुन त अमेरिका पनि त्यसको अपवाद त छैन । तर यहाँ आएरै नदेखुन्जेल यो तथ्य सबैले थाहा पाएका हुदैनन् ।

झुक्किएर बुक गरेको ‘होटेल लीज’मा लेखक एवं उहाँको टिम वास वस्न नपुगेको भए जापानमा ‘लभ होटेल’ अर्थात प्रेमी प्रेमीकाको लागि या पतिपत्नीको लागि भनेर प्रणयमुखी छुट्टै होटेल हुंँदो रहेछ भन्ने थाहा हुने थिएन । त्यस्तै होटेलहरु स्वचालित हुने अनि कर्मचारी भए पनि उनीहरुले आफ्नो अनुहार छोपेर ग्राहकको सेवा पुर्याउनु कति समझदारीपूर्ण र मर्यादित भयो । गोपनीयताको कस्तो राम्रो उदाहरण ।

ऐतिहासिकः

दाइबुचु भित्र छिरेपछि हामी जापानको ऐेतिहासिक पक्षसंग पनि नजीकबाट भेट गर्न पाउँछौं । प्रायजसो सबै शीर्षक भित्र कुनै न कुनै रुपले जापानको ईतिहास समेटिएको छ । पहिलो निवन्ध ‘सम्राटको आत्मा दर्शन’ले धार्मिक विश्वासको परिचर्चा गरे पनि सम्राट मेईजी एवं महारानी शोकेनको आत्माको सन्दर्भ भएकोले यसमा ईतिहास छ । सम्राट र महारानीको आत्माको दर्शन गर्दागर्दै सैनिक शासनवाट आफ्नो हातमा शासन लिएर जापानलाई विश्वसंग परिचय गराउनेदेखि ती मुलुकहरुसंग मैत्री सम्वन्ध राखी जापानलाई विश्वको अग्रणी मुलुकहरुमा उभ्याउने मेईजी बारे धेरै कुरा थाहा पाउँछौ । मेईजी कालमा राजधर्म रहेको सिन्तो धर्मलाई ईतिहासवाट अलग्याउनै मिल्दैन ।

‘युद्धपोतलाई गुलाफ’मा उन्नाईसौं शताव्दीको आरम्भमा रसिया–जापान युद्धमा प्रयोग गरिएको युद्धपोतको परिचय पाईन्छ । युद्धपोतलाई शिक्षाप्रद म्युजियमको रुपमा परिणत गरे पनि कुरिल टापुको विवादले अझै पनि संभावित युद्धको वादल जापानी आकाशवाट हटिसकेको छैन अरे । त्यहाँको मिकाशा पार्कको अतित पनि वर्तमान भन्दा विपरित रहेछ ।

अगष्ट ६, सन् १९४५ , ८ः१५ विहान । यो मिति देख्ने बित्तिकै हामी पनि लेखक संगै हिरोसिमामा रुन पुग्छौं । महत्वाकांक्षाको होडवाजीको शिकार हुन पुगेका झन्डै एकलाख निर्दोष जीवनलाई निमेषमै खरानी वनाउने आणविक प्रहारका समाचार ईतिहासले भनिसकेको भएपनि दाइबुचुको अध्ययन मार्फत भने ती हराएका जीवन अंक हैन अनुहार बनेर हाम्रो हृदय भित्र पस्छन् । ती क्षतविक्षत अनुहारहरु सोझै हाम्रो मुटु छेड्न पुग्छन् । लेखकसागै हाम्रा पनि आँखा भिज्न थाल्छन् । मानव सभ्यताको सबैभन्दा वृहत् आविष्कारले ती नै मानवजातीकै विध्वंस गरेको यथार्थ आफैमा विरोधाभास छ । कस्तो विडम्वना ! ‘हिरोसीमामा बम खस्यो, यति मान्छेको जीवन सकियो’ समाचारले यति मात्रै भन्न भ्याए पनि समाचारले भन्न नसकेको अनि भन्न योग्य नठानेका मानविय वेदना, पिडा अनि आर्तनादका कथाको छेउ पुग्दा ईतिहासको यो अध्यायनै शंसोधित हुन्छ । पिडाले टुक्रिएको हाम्रो हृदय पनि ‘सादाको’को लागि कागजको ‘ओरोगामी सारस’ बनाएर उडाउन ईच्छुक हुन्छ । उनको आत्मासम्म कागजको सारस नपुगे पनि एकहजार सारस मार्फत हामी फेरि यस्तो विभत्स र क्रुर घटनाको ईतिहास नदोहोरियोस् भनि कामना गर्र्छौ । म्युजियमभित्रका क्षत विक्षत मार्मिक चित्रले आणविक आक्रमणको त्यो घटनालाई मात्र ताजा गराउदैन, घाईते र पिडितको क्रन्दन एवं आर्तनाद समेत हाम्रो कानमा गुन्जिन्छ ।

दाइबुचु यात्रा लेखनको ईतिहासको भवनमा थपिएको सबैभन्दा प्रष्ट ईंटा भएको तथ्यलाई हामी पाठकले स्वीकार गर्नै पर्छ ।

‘हामी जहाँ जान्छौं कुनै न कुनै प्रकारले त्यो अनुभव हाम्रो अभिन्न हिस्सा हुनपुग्छ ।’ प्रसिद्ध लेखिका अनिता देसाईको यो भनाई जस्तै जापान भ्रमण दाइबुचुका लेखकको जीवनको अभिन्न हिस्सा हुन पुगेको छ । यो पुस्तक पढ्ने पाठक पुस्तकको अभिन्न हिस्सा हुन पुगेका छौं । परदेश भित्रको सवै अनुभवलाई आफ्नो मुलुकसँग तुलना गर्दै लेखक नेपाली पाठकहरुको हृदयसम्म पुग्न सफल भएका छन् । जापानको आफ्नो छोटो भ्रमणमा लेखकसँगै पाठकहरु पनि जापान घुम्न पुगेका छन् । साहित्यिक निखार, जानकारी मुलक एवं भावनात्मक अभिव्यक्तिको समिश्रण दाइबुचुले नेपाली साहित्यको नियात्रा लेखनको ईतिहासलाई एक खुड्किलो माथि उठाएको छ ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।