14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

दोष कसलाई दिने

लघुकथा अलका मल्ल June 14, 2020, 3:20 am
अलका मल्ल
अलका मल्ल

एउटा गाउँमा गोबिन्द र उनकीे अर्धाङ्गिनी बस्थे । गाउँमा खुब रवाफ देखाउनु पर्ने भएकाले सितिमितीले हतपती उनीहरुलाई बोलिहाल्न संकोच मान्थे । पेशाले खरीदार श्रीमती चाहिं गृहणी थिए । छिमेकी वरपर मगमग बास्ना फैलने गरी खानाहरुमा बिभिन्न थरिका मसलाहरु प्रयोग गर्थे । आफूले बनाएका थरी थरीका खानाहरु प्रत्येक दिन सामाजिक सञ्जालमा शेयर गर्ने उनीहरुको बानी थियो ।

कुरो हालसालैको हो गाउँ शहर सबै बस्तीहरुमा कोरोना महामारीका कारण लकडाउनको घोषणा गरियो ।

त्यसपछि त उनीहरु झन् फुर्सदीला भए । सबै दिनहरु अनेक प्रकारका खानाका परिकारहरु बनाएर एवं रितले सामाजिक सञ्जालमा राख्ने क्रम जारीनै रह्यो । यस्तो कृयाकलाप धेरैलाई पटक्कै मन पर्दैनथ्यो । कसैले त यसरी खानाका परिकारहरु शेयर नगर्न आग्रह पनि गर्थे तर उनीहरुको जवाफ एउटै हुन्थ्यो मरिलानु के छ र ? बाँचुन्जेल मोज–मस्तीले खाने हो ।

लकडाउन भएको करिब एक महिना बितिसकेको थियो बैशाख १४ गते अक्षय तृतियाको दिन यी दुइ जोडीको बिबाहको बर्षिक–उत्सव थियो । सबै मनिसहरु कोरोनाको महामारीले घरैमा बस्नु परेकाले आलस्य अनी कता जाउँ के गरौं भइरहेका थिए भने कतिलाई त छाक टार्न पनि धौ धौ परिरहेको थियो । गोबिन्दले सोही दिन छिमेकी, आफ्ना साथीभाई र नातेदारहरुलाई बिहानै देखि खानको लागी निमणत्रणा गरे ।

लकडाउनका कारण केही पाहुना उपस्थित हुन पाएनन् भने प्रायः हर्ष–उल्लासका साथ मुखमा माक्स र हातमा पञ्जा लगाई दुरी कायम गरी उपस्थित भई रमाइलोसंग उत्सव मनाए ।

चैत्र ११ गते शुरु भएको लकडाउन पहिलो चरण, दोस्रो चरण, तेस्रो चरण हुंदै लम्बिंदै गएपछि उनीहरुका अनाज र अन्य खानेकुराहरु संिकंदै गए । बैंकमा बचत गरेर राखेका केही रकम खानेकुराका भण्डारणका लागीनै खर्चिएर सक्कियो । यसरी पैसा पनि रित्तिंदै गएपछि उनिहरु चिन्तित हुनथाले ।

एकदिन उनीहरुकै बस्तीमा राहत बाँड्ने कार्यक्रम हुंदै थियो । उनीहरुले राहतका लागी नाम लेखाई लाइन बस्न थालेको देखेर टोल छिमेकी सबैजसोले खिसीटिउरी गर्न थाले । वाह ! अनेक परिकार बनाइ फेसबुकमा फोटो शेयर गर्ने जोडी यीनिहरुनै होइन र ? कत्तिले त यीनीहरु हुनेखाने हुन् यस्ताहरुलाई पनि राहत बाँड्यो भने निमुखाहरुको भाग खोसेझै हुन्छ भन्न थाले । उनीहरु आफूलाइ अत्तिनै अपमानित र आत्मग्लानी महसुस गर्न थाले । बल्ल तल्ल पछ्यौराले अनुहार ढाकेर राहत ल्याए । घर पुगेपछी दुबैजना निशब्द्घ भए । धेरै बेर सम्म पनि बोली फुटेन । दुइजनाले दोष कसलाई दिने ? दुबैजना टोलाउनु सिवाय केही अर्थ रहेन ।

धेरै समय पछि उनीहरु आफू यसरी एकोहोरो तडक भडक भएको पश्चाताप गर्न थाले र यही आफ्नो सत्य घटना इमान्दारी पूर्वक सामाजिक सञ्जालमा शेयर गरे । गोबिन्द र उनकी अर्धाङ्गिनीको यो वास्तविक घटना धेरैका लागी अर्ति बन्न पुग्यो भने कतिपयले खुचिङ्ग पनि भन्न थाले ।

समय परिस्थिति जे जस्तोसुकै भएता पनि हामी यी जोडीका घट्नाको सार अथवा राम्रा पक्षको मात्र अनुकरण गरौं ।

काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।