भुईँहरू
हिँडिरहने खुट्टाहरूझैं
नाङ्गो छन् आज….
चिनाजाना ढुङ्गाहरूका सिरानीमा
धेरै-धेरै निद्राहरू
घामको छाता ओढ्न पाउने
एउटा क्षीण आशा बोक्दै
जीवित छन्
एक झिनो आकाश ओढेर।
क्यानभस्मा उतारिने धमिला अनुहारहरू
पहेंला दाँतहरू देखिने नियास्रो हाँसोहरू
बुलाकीले सजिएकी चाउरिएका अनुहारहरू.....
पालैपिलो बस्छन् अनि उठ्दछन्
रक्ताम्मे नुहाएर
पाइताला तल्तिरको संसारलाई!
जीवन्त प्रदर्शनी चलिरहेछ
सडकको रङ्गशालामा।
वाचाहरू
योजनाहरू
सहुलियतहरू
खेत-फ्याक्ट्रीदेखीनै पछ्याइ रहेछन्
सडकलाई।
सडक भने हिँडिरहेछ
हिँडिनैरहेछ.....
(नोटः कोभिड-१९को प्रकोपपछि प्रवासी मजदुरहरूको शहरदेखी घर-पलायनमाथि आधारित कविता।)
-(डुवर्स, हाल-लुधियाना, भारत)
..........................................................................................................