14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

प्रिय नजरुमा

कविता अशोक घिमिरे June 14, 2020, 3:57 am

प्रिय नजरुमा

तिम्रो मुहार हेर्न लालायित यी आँखाहरु

छयाप्पै भिजीसके ।

तिम्रो मृगतृष्णामा नथाकेका

लोलाएका मेरा कमजोर आँखाहरु

दौडिरहेछन् एकोरोहो रेगिस्थानमा ।

तिमी अझै पनि सुन्दरताको

त्यही धारिलो कवचले छपक्कै ढाकिएकी छ्यौ ।

कालो बुर्कामा लपेटिएर

नछोपिएका ती दुई सुन्दर आँखाहरुले मलाइ

घरिघरि घुरिरहिछ्यौ ।

घरिघरि सताइरहेछौ ।

आफैँलाई लुकाएर अनि बचाएर ।

प्रिय नजरुमा तिमी किन

बुर्काको रंग घरिघरि परिर्वतन गर्दैछ्यौ

ठ्याक्कै एक फेशनेबल मोडल झै“

मेरो रोजांईको रंग ओढेर

किन फागु झै मलाई बारम्बार हिलो छयापिरहिछ्यौ ।

लाग्दछ रातो सारी नै च्यातेर

बुर्काको लिवासमा ढिं¨ सजिएकी हौ तिमी

एक बेहुली झैँ

बिल्कुलै रातो पारदर्शी बुर्का

जहाँ कुण्ठित रहरका झुमरहरु बेतोड हल्लिरहेछन ।

प्रिय नजुरुमा भो हटाइदेऊ

त्यो अनुहारको कृतिम कवच

र उडाइदेउ उन्मुक्त आकाशमा

तैरियोस् बरु त्यो हावाको तलाउमाथि

बगुन तिम्रा अनगिन्ती काला केशका राशिहरु

छरिएर हावाको लहरसंगै ।

पोखियोस् अनुहारमा घामका सुनौलो आभा

मृदुल आँखाहरुले कोरुन् भविष्यका बक्ररेखा

गुलाबी ओठका खापा फक्रिएर उघ्रिउन

र गुम्सिएका करौडाैँ अक्षरहरु

एक रुमानी रेलगाडी झैँ बाहिर आउन

प्रेम र विचारको गहिरो आकाशमा ।

तर अफसोच तिमी अझै पनि मौन छ्यौ

र बचाइरहेकी छ्यौ आफूलाई अजरुद्विनहरुका लागि

केही त बोल नजुरुमा

हेर न म शनै शनै मैन झैँ गलिरहेछु

अनि लगातार दियो झैँ जलिरहेछु

र लडिरहेछु तिम्रा लागि ।

लडिरहृछु तिम्रो अधिकारका लागि ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।