19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उज्यालोतिर....

कविता बिलोक शर्मा June 25, 2020, 2:56 am

हेरिरहेछु

युगको पेण्डुलमलाई नियार्दै

क्षणहरूका दिनचर्या।

गुफाभित्रबाट निःस्सासिँदै

कालचक्रको विषालु पथलाई पर सार्दै

सर्प बेरिएका शरीर लिएर

स-साना कागजका नौकाहरू

अन्धकारको बहावले धकालिँदै

अग्रसर छन्।

बाटो बिराएका जुनकिरीहरू

अँध्यारोका सुसेलीलाई नै

बाटो ठान्न वाध्य छन्।

अन्धकारले सिकाएको कोरियोग्राफी

हात-खुट्टाहरूमा उनिएर

मनभित्रको समाजतन्त्रमा

तलमाथि गरिरहँदा

जिब्रोमा प्राण चेपेर बसिरहेछ

समय।

पर्खाइको उपवास सहेर बसिरहेको

भुइँको शरीर

अनि

अनन्तताको त्रिभुजमाथि घर बनाएको

यौटा पार्थिव निद्रा

माटोको तल्लोपेटमा प्रहार गरी

मृत्युको रिहर्सलमा व्यस्त छ।

म भने

पर्खाईमा छु

समयको नाडीमा बाँधिने

एउटा रूद्राक्षको।

-(डुवर्स, हालः लुधियाना, भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।