14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मान्छे बिनाको शहर

कविता कृष्ण प्रर्साई September 9, 2008, 8:31 pm

माटाले भयानक युद्ध लडिसकेकाछन् ।
माटाले भयंकर  युद्ध खेपिसकेकाछन् ।
माटाले भीषण  युद्ध  देखिसकेकाछन् ।
पराजयको नाममा -
म गीत गाइरहेछु ,
महाभारत
मात्रै, माटोको युद्ध थिएन -
अजेय शक्ति ठानिएको ,
कौरवराजको अवसान पछि ,
मरुभूमि जस्तै बनेको कुरुक्षेत्र -
चाहेर पनि युद्ध लड्न सक्दैन ,
स्वयं युद्ध लडेर थाकेको ,
कुरुक्षेत्र झै भएको छ कुरुक्षेत्रको मन पनि ।
कुरुक्षेत्रको युद्धमा ,
कंकाल भएका हाडहरु ,
अझै मक्किसकेका छैनन् -
केहीअघि मात्र ,
गिद्धहरु उड्न छाडेकाछन् आकाशमा ।
चारैतिर चकमन्न छ -
सुन्सान छ हस्तिनापुर ,
बाँचेका जे जतिछन् ,
पाएर पनि गुमाएका जस्ताछन् ।
जितेर पनि हारेका जस्ताछन् ।
लिने मान्छे नपाउँदा,
अंशको मूल्य नै कहां हुन्छ र धर्तीमा
भरखरै मात्र धृतराष्टले ,
आफ्नै छोराहरुको श्राद्ध सकेकाछन् ।
केही अस्टचिरन्जीवीहरु,
शीतल ताप्न ,
हिमालयतिर छिरेकाछन् ।
पुत्र शोकमा शोकाकुल द्रौपती ,
पुत्रमोहको नशामा ,
भौतारिरहेकी छिन् -
    र
देशको पुण्य शिखरमाथि उभिएर ,
सांकेतिक घोषण गरिरहेछिन् -
"पुनः एक दिन त्रि्र्रो माटामा,
भयानक गड्गडाहट संगै -
फेरि भूइचालो जानेछ ,
   र
हाहाकार हुनेछ -
सहयोगको / याचनाको ,
सहज भोग्न पाउनेछैनौ मृत्युलाई -
मर्ने मान्छे नभेटेर ,
मृत्युसमेत रुनेछ त्यो क्षण ।
  र
सकिनेछ अध्याय -
कफनको / मलामीको ,
असंख्य अघोषित मृत्युवरणपछि ,
त्रि्रो शहर हुनेछ -
मान्छे बिनाको शहर ।"
        
अनामनगर, काठमान्डौ
             

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।