एउटा कुशल चालकले गाडी चलाइरहँदा अगाडि के छ, पछाडि के आउँदैछ, कुन बेला एम्बुलेन्स र फायरबिगे्रडलाई बाटो छोड्ने हो, कुनलाई ओभरट्याक गनेर् हो, अप्ठ्यारा घुम्तीहरू कहाँ–कहाँ र कस्ता–कस्ता छन्, कहाँ कुन परिस्थितिमा हर्न बजाउने, कहाँ गति सीमित गनेर्, कहाँ खतरा छ र कुन समयमा साइडलाइट र हेडलाइट बाल्ने इत्यादि हेक्का राख्नै पर्छ । यसका अतिरिक्त गाडी दौडिरहँदा चालकले प्राकृतिक सुन्दरतामा मन बहलाउन पनि भ्याउँछ, बाटामा हिँड्ने हसिनाहरूको मुस्कुराहटको अवलोकन गर्न पनि भ्याउँछ, उता धित मनेर्गरी चुरोटको स्वाद पनि लिइरहेको हुन्छ, मनलाई रंगीन बनाउन लोकभाकाका गीत पनि गुन्गुनाइरहेको हुन्छ । त्यही बीचमा उसले घरपरिवार, छोरा–छोरीप्रतिको जिम्मेवारी र माया–ममता संगाल्न पनि भ्याउँछ र गाडी साहुको झम्टाइबाट बच्न ठीक समयमा आफ्नो गाडीलाई लक्ष्यमा पनि पुर्याउँछ । त्यसरी कुशल चालकले गाडी हाँके झैं प्राध्यापक के.आर.खम्बूले ‘छायाँको लस्कर’ आत्मवृत्तान्तलाई हाँक्नु भएको छ । चालकको मस्तिष्कले एकै समयमा यति धेरै कुरा फस्र्याए झैं एउटै आत्मवृत्तान्तमा खम्बूले भूगोल, जातजाति, धर्म, परम्परा, खानपिन, भेषभूषा, सामाजिक मूल्य–मान्यता, विश्वास, धारणा, भाषा, शिक्षा, संस्कृति, संस्कार, राजनीति… इत्यादि सम्पूर्ण विषयवस्तुलाई समेट्दै आफ्नो लक्ष्य पूरा गर्नु भएको छ । नदीले किनारा लपेटे झैं आत्मवृत्तान्त सुनाउने क्रममा यावत् पक्षलाई उहाँले सँगसँगै लिएर हिँड्नु भएको छ । आफू बाँचेको देश, आफ्नो समय, आफ्नो समाज, वर्ग आदिको वर्णन–चित्रण गनेर् क्रममा समयको प्रतिनिधिपात्र उहाँ आफू नै बन्नुभएको छ ।
‘मेरो अनुसन्धान यात्रा’ पछिको दोस्रो पुस्तकाकार कृति हो – छायाँको लस्कर । यो प्रा.डा. के.आर. खम्बूको आत्मवृत्तान्त हो । नेपालय पब्लिकेशन, काठमाडौंबाट यसै वर्ष प्रकाशित पाँचवटा खण्डमा संरचित, ३७० पृष्ठको बृहत् आकारको यो पुस्तक खम्बूको जीवनीसँग मात्रै सम्बन्धित छैन । यो नेपालको बामपन्थी आन्दोलन र इतिहासको दस्तावेज पनि हो । आत्मवृत्तान्तमा मुख्य रूपमा लेखक नै केन्द्रमा रहन्छ, यहाँ लेखक केन्द्रमै रहनुभएको पनि छ । यति हुँदाहुँदै पनि आज सत्ताको बागडोर सम्हालिरहेका नेपाली बामपन्थीहरूलाई बुझ्न, उनीहरूको संघर्ष, बलिदान र योगदानलाई नजिकबाट नियाल्न यस पुस्तकले सहयोग पुर्याएको छ । लेखक स्वयम् बाम आन्दोलनमा होमिएर भुक्तभोगी भएर लेखिएको यथार्थ इतिहास यस पुस्तकमा आएको छ । पञ्चायतकालमा बामपन्थी राजनीति गर्न दुःख–कष्ट व्यहोर्नु पनेर् मात्रै होइन, ज्यान नै जोखिममा पनेर् परिस्थिति थियो भन्ने कुराको मिहिन विश्लेषण पुस्तकमा गरिएको छ । जागिर खान पञ्चायत व्यवस्थाकै पक्षधर हुनु पनेर्, राजा रानी र राजकुमारका जन्मोत्सवमा उपस्थित नभए जागिरै जानेसम्मको अवस्था लेखक स्वयम्ले भोग्नु भएको कुरा पुस्तकमा समेटिएका छन् ।
यस आत्मवृत्तान्तमा डा. खम्बूले धेरै समयसम्म शैक्षिक र राजनैतिक दुबै गतिविधि सँगसँगै लिएर अगाडि बढ्नुभएको देखिन्छ । उहाँ पढाइमा अब्बल भएकै कारणले दुबै बिषयलाई सँगसँगै अगाडि लैजान सक्नुभएको हो । अहिलेको राजनीतिको केन्द्रमा रहेका बामपन्थी नेताहरू डा. खम्बूका सहपाठी र सहकर्मी नै हुन् । मदन भण्डारी, सीपी मैनाली, के.पी.ओली, माधव नेपाल, आर.के.मैनाली, मोहनचन्द्र अधिकारी लगायतका नेताहरूकै सम्पर्क एवम् निदेर्शनमा रहेर डा.खम्बूले सँगसँगै राजनैतिक जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।
विद्यालय तहदेखि क्याम्पस हँुदै विश्वविद्यालयसम्म विद्यार्थी राजनीति गदैर्ै जागिरे भएपछि पनि अनेक जिम्मेवारीमा रहेेर कहिले बुद्धिजीवी फाँटमा र कहिले प्रगतिशील प्राध्यापक संगठनमा रहेर पनि अध्ययन–अध्यापन तथा प्राध्यापनलाई जारी राख्दै राजनीतिबाट कहिल्यै थाक्नु भएन । पार्टीको कुनै न कुनै जिम्मेवारीमा बसेेर सक्रिय रहिरहनु भयो । तर, पछिल्ला दिनहरूमा डा. खम्बू राजनीतिभन्दा शैक्षिक र प्राज्ञिक कार्यतिर बढी ढल्ंिकदै जानुभयो । परिणामस्वरुप उहाँले अनुसन्धानमा डुबुल्की खेलेर विद्यावारिधि तर्नुभयो साथै प्राध्यापन क्षेत्रको विशिष्ट श्रेणीमा उक्लिन सफल हुनुभयो ।
डा. खम्बूको आत्मवृत्तान्त हेर्दा उहाँको शैक्षिक जीवन सफल रहेको पाइन्छ । पठनपाठन र शैक्षिक कार्यमा मात्रै होइन, शैक्षिक प्रशासनमा समेत उहाँ कहिल्यै कमजोर देखिनु भएन । श्रीखण्डपुरको र मच्छेगाउँको शिक्षक हुँदा विद्यार्थी–अभिभावकको अत्यन्त प्रिय बन्नु भएका उहाँलाई धरान क्याम्पसमा प्राध्यापन कार्यमा अब्बल हुँदाहुँदै पनि बामपन्थी भएकै कारणले क्याम्पस चिफ जगत केसीले दुःख दिएको पुस्तकमा उल्लेख छ । बीरगञ्ज क्याम्पसमा गएर खम्बूले बिज्ञान विषयमा स्नातक कक्षा सञ्चालन गर्न अहम् भूमिका निर्वाह गर्नुभयो भने मेची बहुमुखी क्याम्पस–भद्रपुरमा आएर पनि विज्ञान विषयमा स्नातक कक्षा ल्याउने कुरामा सबैलाई जगाउनुभयो । सहायक क्याम्पस प्रमुखको रूपमा रहेर विज्ञान विषयको पढाइलाई अब्बल बनाउनुभयो । जहिले र जहाँ शिक्षक वा प्राध्यापकका रूपमा उहाँ कर्मरत् रहनुभयो, त्यहाँ विद्यार्थीको प्रिय भएरै रहनुभयो । यो नै उहाँको पेशाप्रतिको इमान्दारी र अटुट समर्पण हो ।
जीवनमा अगाडि बढ्न चाहने जोकोहीका निम्ति डा. खम्बूको सो पुस्तक उपयोगी छ । डा.खम्बूको संघर्षमय जीवनले सबैलाई प्रेरणा दिएको छ र मार्गनिदेर्श गरेको छ; जीवन संघर्ष हो भन्ने कुरालाई प्रमाणित गरेको छ । यस आत्मवृत्तान्तमा लेखकले सोझै आफ्नो जीवनलाई मात्रै अघि नसारेर समाज र राजनीतिक ढुकढुकी पनि सुम्सुमाउनु भएको पाइन्छ । त्यसबेला पहाडबाट मधेशतिर बसाइँ सनेर्हरूको दुःखदायी समय, पहाड र मधेशका जीवनशैलीको तुलना, सर्वनाश किसिमको बन फँडानीको दृश्य, राजवंशी संस्कृति, बाटामा बर–पीपल रोप्ने मान्यता, ज्योतिष विद्याका कुरा, धामी–झाँक्रीका तिलस्मी परम्परा, असिना छेक्ने, अकाल टानेर्, तन्त्रमन्त्रमाथि सामाजिक विश्वासका कुरादेखि लिएर विश्वयुद्धका दृश्यहरूको समेत अवलोकन गराउँदै विविधताको मौजिमसला थपेर डा. खम्बूले पुस्तकलाई अत्यन्तै रोचक बनाउनुभएको छ ।
यस पुस्तकको अकोर् अत्यन्तै सुन्दर पक्ष भनेको यसको भाषा–शिल्प हो । घटनाहरूको राम्रो तारतम्य, छोटा–छोटा सरल वाक्य, सबैले बुभ्mने सुस्पष्ट भनाइ, घटनैपिच्छेका सुहाउँदिला शीर्षक, शीर्षकभित्र पनि पाठकमा कौतुहल जगाउने किसिमका चोटिला उपशीर्षकहरूले यत्रो ठूलो आकारको पुस्तक पनि पढिसकेको पाठकले पत्तै पाउँदैनन् । कतै पनि अल्छी र पट्यारलाग्ने वर्णन छैन । आवश्यक कुरालाई छुटाइएको पनि छैन । यस कुराले डा. खम्बूको लेखनशिल्प पनि अब्बल रहेको दर्शाएको छ । पुस्तकको नाम ‘छायाँको लस्कर’ सार्थक भएन कि भन्ने भान पर्न सक्छ । तर, यो प्रतीकात्मक अर्थात् विम्बात्मक नाम हो । पु्स्तकको आवरण नियाल्दा र सिंगो पुस्तकलाई मथेर नौनी झिकिसक्दा मात्रै सो नाम सार्थक भएको थाहा ह्ुन्छ ।
यथार्थ कुराहरूलाई ढाकछोप नगरी साँचो र सत्य कुरा आत्मवृत्तान्तमा आउनु पर्छ । यस पुस्तकमा पनि त्यसरी नै कुरा आएका छन् । सत्य तथा यथार्थपरक कुराले कतै कसैलाई बिझाउन पनि सक्छ, किनभने यथार्थ तीतो नै हुन्छ । यथार्थलाई छल्यो भने आत्मवृत्तान्त आत्मवृत्तान्त नै हुँदैन । यस कुराको सफलतापूर्वक निर्वाह डा. खम्बूले गर्नुभएको छ ।
नेपाली साहित्यका सन्दर्भमा बी.पी.कोइरालाको ‘जेल जर्नल’ लगायतका आत्मवृत्तान्तका मर्मस्पर्शी पुस्तक छन् । डा. खम्बूले पनि मेरो अनुसन्धान यात्रा र छायाँको लस्कर जस्ता बृहताकार आत्मवृत्तान्तका पुस्तक नेपाली साहित्यलाई प्रदान गरेर यस विधालाई जुरुक्कै उठाएर माथि पुर्याइदिनुभएको छ । आत्मवृत्तान्तभित्र राजनैतिक दस्तावेज समेत प्रस्तुत गर्न सक्ने, एकमा अनेक खुराकी पस्कन सक्ने डा. खम्बूको लेखनीलाई हार्दिक बधाई ।
भद्रपुर, झापा