17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सरीता

लघुकथा ईगम खालिङ July 23, 2020, 10:51 am
ईगम खालिङ
ईगम खालिङ

बिजय झीलको एउटा डुङ्गामा बसेर आनन्दसित डुङ्गा खियाइरहेको थियो । सरीतालाई उसले केही दिनअघि सोधेको एउटा प्रश्नको उत्तर दिनुथियो । त्यो पनि मात्रै ‘Yes’ वा ‘No’ भनेर । त्यसदिन सरीताले उसलाई जवाब सुनाउनलाई त्यहाँ बोलाएको थियो ।

सरीता झीलको किनारबाट उफ्री-उफ्री हात हल्लाउँदै कराउँछे, “बिजय ! बिजय ! म यहाँ छु ।” तर बिजय भने आफ्नो सुरमा मस्त डुङ्गा खियाइरहन्छ । उसले न त सरीतालाई हेर्छ न कराएको नै सुन्छ ।

सरीता उत्साहित भएर बिजयलाई कुरिरहन्छे तर उसले भने उतिर डुङ्गा खियाउँदै-खियाउँदैन । जब बिजयको अनुहार उतिर फर्किन्छ त्यतिबेला उसले हात हल्लाउँदै भन्छे, “म यहाँ छु, तिमीले अस्ति सोधेको प्रश्नको उत्तर ‘Yes’ हो ल !”

बिजयको अनुहार उदेखि टाढिँदै जाँदा ऊ छट्पटाउँछे । उसले अन्तर्मनबाटै “यता ! यता हेरन !” भन्दै बिजयको दृष्टि उतिर फर्काउन खोज्छे तर बिजय भने आफैमा मस्त भएर डुङ्गा खियाइरहन्छ । सरीता अब झन् साह्रो तड्पिन्छे । ऊ आफ्नै स्थितिसित फिटि-फिटि पर्छे । उसले “बिजय ! बिजय !” भन्दै बिजयतिर ताकेर झीलमा ढ़ुङ्गा हान्छे तर बिजयले भने त्यो सुन्दै-सुन्दैन बरु बिस्तारोसित उदेखि टाढिँदै जान्छ ।

त्यसरी आफ्नो केही सीप नचल्दा सरीताले घुँडा टेकेर दुई हात जोडी आँखाभरि आँसु बनाएर ईश्वरलाई प्रार्थना चढाउँछे—“हे प्रभु ! मेरो उत्तर ‘Yes’ हो । म उसित विवाह गर्न तयार छु ।” त्यति प्रार्थना गरिसकेपछि उसको दिमागको ढकनी खोलिन्छ अनि झोलाबाट मोबाइल फोन निकालेर फोन लगाउँछे । “फोन बन्ध छ । अब म के गरूँ, प्रभु !” भनेर चिच्याउँछे । त्यसपछि “बिजय ! बिजय !” भन्दै झीलतिर हेर्छे त्यहाँ कोही हुँदैन मात्रै अलिक टाढामा एउटा रित्तो डुङ्गा ।

त्यसदिन सरीता राति रुँदै निदाई पठाउँछे । उसले सपना देख्न थाल्छे—बिजयको विवाह एनासित एउटा चर्चमा भव्य सम्पन्न भइरहेछ । तिनीहरू धेरै खुशी रहेछन् अनि ऊ पनि । फेरि उसले तिनीहरू दुवैलाई शुभकामना स्वरूप फूलका गुच्छाहरू दिएर बधाई दिँदैरहेछे । यत्तिकैमा ऊ झसङ्ग ब्यूँझन्छे । भित्तेघडी हेर्दा रातको दुई बज्न लागेको रहेछ तरैपनि उसले बिजयलाई फोन लगाउँछे । फोन लाग्छ अनि उठाउँछ पनि । मेरो उत्तर ‘No’ हो अनि म तिमीसित बिहे गर्न सक्दिन मात्र भनेर फोन बन्ध गरिदिन्छे । त्यसपछि उसले आङ तानेर एकपल्ट गहिरो सास लिँदै खिड्कीबाट बाहिर झीलतिर हेर्छे अनि आफैसित अलिकति मुसुक्क हाँस्छे ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।