(स्रग्धरा छन्द)
वित्दा दोस्रो शताब्दीतकअझ जिवितै देख्छु तिम्रा विचारी ।
डिठ्ठाको चाल उस्तै भरसक ठगने छन् सबै कर्मचारी ।
भेँडा बाख्रा थुने झैँ सबजन थुनिने छन् उनै झ्यालखाना !
झन् बढ्ता लामखुट्टे र उडुस उपियाँ गाउँछन् नित्य गाना ।१
तिम्रो कान्तीपुरीका चपल ति अबला वस्त्र छोटो लगाई ।
हिड्छन् लज्जा नमानी परपुरुषसितै पश्चिमी र्याप गाई ।
मर्दाना वा जनाना बहुत सकसले सक्दछन् चिन्न कोही ।
लामा लट्टा बनाई पुरुष युवक नै स्त्री बने तुल्य होई ।२
पेशा चल्दैन घाँसी बस ! अब मममा भैँसि हुन्छन् चलानी ।
गाईको मासु खाने चलन शुरु भयो ठुङ्दछन् जानिजानी ।
पैले पैले बनेका जति असल कुवा पुर्न थाले अचेल ।
त्यस्ताको चल्छ ख्याती जुन जन हुलमा गर्दछन् ठेलमेल ।३
खोज्दा सोती गजाधर् अब त कहिँ कतै मुस्किलै पर्छ भेट्न ।
पाटी पौवा कुवाको स्थल सहज लिए रेस्टुराँ प्यास मेट्न ।
तिम्रा पाला हुँदाहुन् बधुहरु सुशिला भैसके आज छाडा ।
स्वामी जान्छन् विदेशी श्रमतिर, घरकी ! अस्मिता बेच्न टाढा । ४
बिर्के टोपी लगाई नबस अब त्यहाँ स्वर्गमा काम छैन ।
तिम्रा तीखा झटारा पृथिवितल झरी लौ नहानी हुँदैन ।
कस्दै छड्के पटूका सुर गर घरमा फर्कने झट्ट भानु ।
देख्दा यस्ता अनेकौँ विकृति मुलुकमा, क्यान छौ चानुमानु ? ५