19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिमी प्रिय छौ

कविता पिमला न्यौपाने August 19, 2020, 2:32 am
पिमला न्यौपाने
पिमला न्यौपाने

जन्म तथा नामले नभै

न अर्थ न धर्मले कतै

न कुनै जोडबलको फन्दाले

हो त केवल

विवेक र कर्मले

सबैमा सम्मान र प्रेमभाव

अनि प्रेरणारुपी

सबल हात र साथले पूर्ण

तिमी प्रिय छौ ।

कहिले परिवेशले त

कहिले आफ्नाहरुले

त कहिले मुलुकी तौरतरिकाले

ठक्कर दिँदा

लडाउँदा, भिडाउँदा

अनि पछार्दा नि

शान र मानका साथ

उठीरहने जागरुक वीर

तिमी प्रिय छौ ।

आँधि र भेलसँग नथाक्ने

हैरानीको शब्दअर्थै नराख्ने

अबोध बालकजस्तो

न द्धेष न इष्र्याको सहारा लिने

निडर र शान्तिको

नविन जोडी बनी

भावनाको सुक्ष्म धागोले

यत्रतत्र थरीथरीका मनहरु गास्ने

तिमी प्रिय छौ ।

बलिन्धारे साउने झरी झै

धारा प्रवाह अनवरत

कुनै सुर न तालका

आँशुका मुहानका धनीलाई

किनारा पार्दै होइन कि

बारुदबम र इन्जिनका चालकलाई झै

साइनो गाँस्दै भलाकुसारी गर्ने

तिमी प्रिय छौ ।

नानाथरीका पर्वमा गर्व गर्ने

रङ्ग, आकृति र दृष्टिको छनक दिने

तेरो र मेरोमा तितरवितर हुँदै

कुच्चिदै लड्दैपड्दै अझै

मिठास र आफ्नोपनको भाषामा

थुङ्गा—थुङ्गा आत्मिय फूलहरुले

साहित्यीक माला गाँस्दै गरेको

मानवता र नेपालीपनले मुग्ध

तिमी प्रिय छौ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।