19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बा

कविता सबिना मिश्र August 20, 2020, 2:16 pm

आहा! शब्द नै कति प्यारो

लाग्छ भनिरहु़ँ बा, बा, मेरो बा।

सानोमा कसैले बालाई अरू कसैले" मेरो बा, तिम्रो होइन" भनिदिदाँ कसलाई पो रिस नउठ्ला र ?

साँच्चै

हिजोको बाल्यकालमा बाको देनलाई मनन गर्ने हो भने

म निकै मर्माहित हुन्छु किनकि बा

आज म अवस्था बुझ्न सक्ने भएकी छु,बा

तपाईंलाई चिन्न सक्ने भएकी छु।

हिजो

आवश्यकतामा बा, अभावमा बा

खाँचो पर्दा बा

किताब किन्नपर्यो बा

कापी किन्नपर्यो बा

अब पढ्न पर्यो बा

भर्ना गर्नुपर्यो बा

परिक्षा आयो नि

बिल तिर्न पर्यो बा

कठै! मेरा बा चुपचाप

तर मलाई के थाहा

बासँग तेल किन्ने पैसा छैन भनेर।

फेरि दशैँ आयो

खसी खै त बा

नयाँ लुगा खै त बा

चङ्गा खै त बा

बाको मलिन अनुहार

मैले बुझ्न सकिन

तर म उस्तै

जुत्ता फाट्यो बा

चप्पल नि फाट्यो बा

झोला देखाउँदै यो नि

फाट्यो बा

तर बाको मन फाटेको

मैले पत्तो नै पाइँन।

मसी सकियो

कलम किन्नपर्यो बा

छुट्टीमा कतै

पिकनिक जानुपर्यो बा

मिठाई खानुपर्यो बा

पिङ्ग हाल्नु पर्यो बा

डोरी किन्न पर्यो बा

अचम्म बा केही बोल्नुभएन

तर मेरा आवश्यकता केही भुल्नुभएन।

पक्कैपनि,मेरा बा जस्तै सबैको अभिभावकले आफ्ना सन्तानको इच्छालाई परिपूर्ति गर्न कुनै कसर बाँकी राखेका हुँदैनन्।

चाहे धनि हुन् या गरिब

सुटमा हुन् या कछाडमा

तर बा ,बा नै हुन्।

समय बद्लिए पनि हामी सबैका बा उस्तै महान् छन्,

निस्वार्थी छन् केवल स्वार्थी बनेका छौँ त हामी

सक्छौँ सम्मान गरौँ

सक्दैनौं व्यङ्ग्य नगरौं

बासँग के वा कति छ भनेर हैन

बालाई के वा कस्तो छ भनेर सोधौं

अरबौंको आशिश मिल्नेछ ।

सबैलाई कुशेऔँसीको शुभकामना।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।