19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एक पाना फेरिँदा

कविता हिममाया पौडेल August 29, 2020, 8:12 am

हेराइमा, देखाइमा र अनुभवमा

उस्तै उस्तै लाग्ने गर्छन्

आकाश र धरती

प्रकृति र पुरुष

मौसम र जीवन

लम्बीय र क्षितिजीय समय रेखाहरु

यद्यपि

वृक्षका पहेलिएका

पुराना पातका सट्टा

नयाँ पात थपिएपछि

फेरिएको छ

एक पाना जिन्दगी ।

चिप्लिएका छन्

बालापनका चञ्चलताहरु

यौवन र किशोर वयका

रोमाञ्चित छालहरु

स्मृतिमा अपलोड हुँदैछन्

बृहत् आगतका लागि

विगतका मनोबिम्ब र चालहरु ।

निस्तेज भएका छन्

धेरै पाएर तृप्त भएपछि

अरु पाउने आशाका

अतृप्त चाहनाहरु

त्यस्तै ,

धूमील धूमील भएका छन् ।

खण्डहर बगरको धापमा

वृक्षारोपण गरेपछि

उर्लिँएकोे पसिनाको मूल थाम्न,

एक झल्को बसाइमा

सजाइएका सपनाहरु ।

फुत्किँदै गएको छ

समय उस्तै गरी

फुत्त फुत्त

चुडिएको लरियाबाट

एक एक दाना मोती

खस्दो भएर

यद्यपि ,फेरिएको छ

एक पन्ना जिन्दगी ।

बगिरहेको छ

अविरल नायल

आपनै परिधिमा

बगरलाई साक्षी राखेर

अनि किनाराको कथालाई

बढी सुनेर ।

यसरी

चिप्लिएरै रहेका रोमाञ्चित छालहरु

फुत्किएरै रहेका मनोरम चालहरु

बदलिँदै गएका उमेरका भावहरु

बल्झिएरै रहेका वास्तविक हालहरु

आखिर भोग्नु नै पर्दछ ।

अझ स्वास्थ्यले एक फन्को

विश्राम लिएपछि

पुनः पुनः खोसिदै छन्

सुनौला रहरहरु ।

समय चक्रमा अाँधि आएपछि

बन्द बाकसमा

निस्सासिएका फाइलका

अनमोल योजनाहरु

शीतका थोपाले

घैला भर्न लालायितका

भत्किएका छन् बाटाहरु

त्यसैले

नखोजिदिनु प्रिय मबाट

कर्मठ कार्यहरुका लागि

सुनौला र अतिरञ्जित सपनाहरु

नखोजिदिनु

मेरो बगैचाको नियति भित्रको बोटबाट

सुन्दर फूल र स्वादिष्ट फलहरु

र नखोज्नु

दशकौ पहिले उर्लेका

यौवनका चञ्चलताहरु

सक्छौ भने आऊ

हातेमालो गरौँ,

समाऊ हात दह्रो गरी

र लैजाऊ त्यहाँसम्म

जहाँसम्म तिम्रा पाइला

पुगेका थिए ,

निरन्तर निरन्तर

फेरिएको एक पाना

जिन्दगीपछि पनि ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।