19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आर्यघाट

कविता विपुल पोख्रेल August 29, 2020, 8:23 am

मेरा लागि सबै समान छौ

सबैको अन्त्य मेरो काखमा नै हुने हो

उस्तै समय,

उनै सरजाम

उही आगो

अनी उस्तै खरानी

राजादेखि रंकसम्म

बुद्धदेखि शिसुसम्म

मेरै काखमा

मेरै आँखा अगाडि

एकै प्रकारले बिसर्जन भएका छन्

मनुष्यको अन्तिम मूल्यांकन गर्ने पात्र हुँ

हो म आर्यघाट हुँ ।

मलाई पटक पटक हासोँ उठ्छ

तिम्रो भ्रमदेख्दा अनौठो पनि लाग्छ

तिमि चर्को आवाजमा जातका कुरा गर्छौ

लिंगका कुरा गर्छौ

भूगोलका कुरा गछौ

धनको अहंकार गछौ

गरिबीको बिबषताको कथा भन्छौ

तर्क माथी तर्क गरेर

तर्ककै आधारमा आफूलाई माथी पारेर

अहंकारको सिंहासन बनाउछौ

त्यसैमा बस्छौ

अनी अनौठो संस्कार प्रदर्शन गछौ

अर्काको अस्तित्व स्वीकार्दैनौ

अर्काको बिचारलाई गन्दैनौ

अर्काको सीप र क्षमता

तिम्रा लागि नाथे बनिदिन्छन्

सन्सार जित्ने एक्लो बिजेता भन्ठान्छौ

अनि हाडमा मासुले प्लाष्टर गरेर

छालाले बेरिएको तिम्रो शरिर लिएर

एक दिन मसम्म आइपुग्छौ

अनि तिम्रो भ्रमको आवरण फुकालेर

तिमिले हेपेको

थिचेको

अस्वीकार गरेको

स्तर मिल्दैन भनेको

त्यो पात्रलाई जस्तै गरेर

आगोको मुस्लोसँगै आकाशमा पुर्‍याउने गर्छु

हो म त्यही आर्यघाट हुँ ।

धेरै मलामी पनि आउँछन्

कुरा सुन्छु

सबैको होस उडेको हुन्छ

‘यसैगरी जाने हो, के को लफडा’

यो रेडिमेट आवाज सुन्छु

मानव कल्याणका प्रबचन सुन्छु

झगडा नगर्ने प्रतिबद्धत व्यक्त हुन्छ

मृत्युको महिमा चल्छ

समाजको खराव प्रबृत्तिमाथी शब्दप्रहार हुन्छ

केही बेर त म पनि झुक्किन्छु

आशा गर्छु

समाज अब फेरिन्छ कि ?

मानवताको भाव पलाउँछ कि ?

बिसंगति बहिस्कृत हुनछ कि ?

अनी फेरि झल्यास्स हुन्छु

यही नजिकै गौशालाको चिया पसलमा

बिसाएर मान्छे झुक्याउने योजना बुन्दै गरेको देख्दा

अर्कोलाई लुटेर आफू सम्पन्न हुने योजना सुन्दा

सोझो औलाले घ्यू नआउने कथा प्रवाह हुँदा

मनुवा हो, म तिम्रा द्वैध चरित्रको साक्षी हुँ

हो म आर्यघाट हुँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।