19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कोरोना वर्ष

कविता कृष्ण उपाध्याय August 30, 2020, 7:18 am
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

म तात्न थालेको छु,

खोक्न थालेको छु

मेरो प्रेममय मुटु

रौद्र रुप देखाई रहन्छ

आक्रोशित गोमन जस्तै,

कोरोना कतै तिमी त आइनौ ?

चोर जस्तै अश्रव्य, अदृश्य ?

प्रेमिल मेरो मन

प्रेमिल मेरो मुटु

अहिले घृणा गर्न थालेको छ

मायाका कोष केस्रा केस्रा भएर

छिया छिया भएर

नासिका मार्गबाट गायव भै रहेका छन् ।

कोरोना कतै तिमी त आइनौ

मेरो प्रेमिल मुटु आक्रान्त बनाउन ?

मेरो मुटुमा घृणा भर्न ?

किन भने

म प्रेम गर्ने डाक्टरलाई घृणा गर्न थालेको छु

म प्रेम भर्ने नर्सहरुलाई घृणा गर्न थालेको छु

म सेवा गर्ने जतिलाई हेप्न थालेको छु !

कोरोना तिमी

पात्रोमा सयौ बर्षमा आउने

प्रलय वर्ष भएर आयौ,

हत्याका हर्कत लिएर आयौ,

विस्तारै वछ्यानमा सुताएर

एक एक गर्दै

मान्छेका एक एक तन्तु मार्यौ,

बिमान भएर आयौ, यात्री मार्यौ

प्रेमीको अँगालो भएर आयौ, प्रेमी मार्यौ

पुतना भएर आयौ, वालक मार्यौ

कोरोना तिम्रो वर्ष मत्र्यलोकको मृत्यु वर्ष त भयो ।

तिमीले बााच्नेहरुलाई पनि मार्यौ नि !

मृत्युशैयामा भेट्न दिएनौ, बाँच्ने मरे तुल्य भए

मुखाग्नी गर्न दिएनौ, बाँच्नेहरु मरे तुल्य भए

संस्कार गर्न दिएनौ, बाच्ने मरे तुल्य भए

तिमीले प्राण न लिई मार्यौ

तामसी कोरोना

तिमी सत्व करुणा नभएको पनि त होइनौ नि

तिमीले सवैको मृत्यु सम्झाई दियौ

सानो ठुलो छैन भनेर सम्झाई दियौ

प्रेमको प्रकार सम्झाई दियौ

सरकार सम्झायौ, संस्कार सम्झायौ ।

तिमीले सभ्यता पनि सम्झायौर

मूर्तिकारका मुर्तिको मृत्यु भएन

सहयोग सकिएन, संस्कार सकिएन

मादल मरेन, गीत गएन

त्यसैले कोरोना

अजन्मा जस्तै अजेय छ संस्कार

अजन्मा जस्तै अजेय छ सभ्यताको मान्छे

यहि सभ्यता र संस्कार तिम्रो मृत्य हो कोरोना ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।