म पाहाड लम्किरहेछु।
त्यो अग्लो
भिरालो पाहाडको चट्टानबाट
एउटा बिरूवाले पालुवा हाल्दैछ
आफैंलाई थेग्नलाई
चट्टानलाई जकडेको छ
आफ्ना जराहरूले।
त्यो पाहाडको चट्टानमा
कहाँ मल-जलको सवाल?
शुष्क मौसमको चर्को घाममा
निस्फिक्री हुर्किरहेको
त्यो बिरूवाले
गरेन कुनै गुनासो
सृष्टिकर्ता सँग
गरेन प्राप्ति-अप्राप्तिको
कुनै लेखा जोखा
खुसी खुसी
आकाश लम्किरहेको
त्यो बिरूवा
अरू कोहि हैन
म नै हूँ।
पाहाडको विकट चट्टान फोरेर
म इतिहास बाँचिरहेको छु।