19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लौरो

कविता इन्दिरा गौतम September 16, 2020, 3:59 am

दैलाको कुनामा ऊ निर्ढुक्क छ

पुस माघको कठिड्ग्रिने जाडो

बर्षायामको घाम र पानी

केटाकेटी, जवान र बृद्धकोतनाव र सहारा

मानिसका हरेक विडम्बना सहन्छ।

खेत - बारी, गोठ, अड्डा - अदालत धाउँदा

गाउँ, बस्ती, शहर जाँदा

साहुबाट ऋण खाँदा

भन्ने गर्थे……

खै, म सँग अब यही त छ,

बाँचे तिरौला,

मरे त कस्को के लाग्छ र !

हिजोदेखि बा सिकिस्त छन्

ऊ दैलाको कुनामा मूकदर्शक बनि

साह्रै दुसी छ, पीडित छ।

अचानक बाको शरीर……

मानिसको घुइँचो छ।

कोही शोकमा डुबेका छन्,

कोही शुभ चिन्तक छन्,

कोही जाय जेथो सोध्ने छन्

त कोही ऋण फिर्ता माग्ने।

आमैको सहज सरल अबोध मन

मात्र आँशुका धारा बगिरहन्छन्

खै बा अझै बौरेनन्?

इनै प्रश्न छन् बारबार,

सबैका नाना थरिका प्रतिकृया,

सुझाव सुन्दा सुन्दा

उसका कान थोत्रा भए।

ट्वाक्क ढाडमा कस्सेर हान्ने

बाका हात आज निर्जीव भए

शोकाकुल परिवेश

आमै करुण ब्यथा पोख्तछिन्।

शङ्ख ध्वनि भयो

अन्तिम श्रद्धान्जलीको कोकहोलो छ।

बाले चलाउने गरेका धेरै सामान

घाट लैजान तैयार गरे,

ऊ झसङ्ग झस्कियो, मनमनै सोच्यो…

म पनि बा सँगै जल्ने रहेछु

पौराणिक युगका नारी सती भए जस्तै।

आमैलाई चाहिन्छ……

भन्यो कसैले फेरि त्यही कुनामा राखि दिए

ऊ ट्वाल्ल परेर हरि रह्यो ।

दश दिनमा गउँत खाए, छर्किए

सोझै ऊ पनि चोखियो

उसले आज लामो सास फेर्यो

अब उसो आमैको सहारा हुने भो ।

तेह्रौं दिनमा टिकोटालोमा

गुरुजीको दानमा पो परेछ-

लौ, अचम्म!

ऊ भावुक हुन्छ।

बाको बुढेसकालको एकमात्र साहारा

आज श्रद्धांजलिको तस्बिरमा

आफैलाई बाको साथी देख्छ।

हो ऊ त्यही दैलाको कुनामा बस्ने

चुपचाप बिभिन्न चरित्रका मानिसलाई

नजिकबाट जान्ने नियाल्ने

अशक्तहरु अनि बाको बिश्वासी लोरो हो ।

आज बिधिको बिधानलाई स्वीकार्दै

गुरुजीको हातको सहारा बन्दै

आफैलाई श्रद्धा सुमन चढायो,

लामो निस्वास फेर्दै

जिउँको लाश सरि

नयाँ बाटो हुँदै नयाँ घरतर्फ लाग्यो।

ओदालगढी, असम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।