किच्चक

लघुकथा डा. विदुर चालिसे September 22, 2020, 4:41 pm

––“खोस्टोको नि मूल्य हुन्छ र ?”

बढुवाको जवाफ नपाएको सिपार्इं पुर्पुरोमा हात राखेर निराश स्वरमा बर्बराइरहेको थियो । पाटीको छेउमा बलवीर थच्चिन्थ्यो र टोलाउँथ्यो । उसको काम देख्नेहरू अचम्ममा पर्थे । उससँग बहादुरीको सिमा नै थिएन । आँटी, हकी र इमान्दार उसको परिचय थियो । तर सबै चिज परिबन्दको रनाहामा खोस्टो भइदियो । उसको जीवन र इमान पोलेको मकै जस्तै एकाएक तातो न तातो अनि कालो समेत भइदियो ।

––“दिदी ! पोलेको मकै दिनु न !”

नजिकै पोलेको मकै बेचिरहेकी सुकुमैचा सिपाईंतिर फर्केर पुलुक्क हेर्थी । अनि उसको हातमा भएको मकैको खोस्टो च्यातिच्याती फाल्थी । दिदीले अनुभव गरेको सिपाईं तुरून्तै जिस्किन्थ्यो ।

––“अरे ! आच्या, बैनी, खोस्टो किन फालेको ?, यो मकैको पातो त म जस्तै खोस्टो हो र ?”

सानुमैचाका अगाडि आफ्ना मनमा अटाउन नसकेका वेदनाका शब्दहरू निकाल्यो । सानुमैचा भने चुपचाप बसी अनि सिपाईंको जवाफ दिने इच्छा पनि गरिन । उ अहिले खोस्टो केलाउने ठाउँमा थिई । प्रेमका इसारा बुझ्ने ठाउँमा थिइन । सिपाईंको प्रेमभाव र बढुवाको रन्को त्यसै खोस्टियो ।

––“के यो खोस्टो हो ?”

श्रीमान्का अगाडि अदालतमा बहस गरिरहेका वकीलहरू खोस्टोको बारे र त्यसको अनाहक सम्बन्धका विषयमा खुब बहस गर्थे । उता बैंंकमा पनि ग्राहक र बैंक बीचका मन लाग्ने खोस्टोका बारे निकै भनाभन हुन्थे । अड्डामा खोस्टोको काम थिएन । तर खोस्टो नभई काम पनि हुँदैन थियो । सहमति सम्झौतामा त खोस्टोको के मतलब र ? तर खोस्टो आदानप्रदान धेरै नै हुन्थ्यो । खोस्टोको रूप जस्तो भए पनि सारमा खोस्टोले तरल अवस्थालाई हात दिन्थ्यो, लिन्थ्यो । कतै बहस चल्यो खोस्टो टुप्लुक्क आउँथ्यो । आरिस बन्थ्यो र झट्र्काथ्यो सबै मनका भावसँग खोस्टोको उपादेयता । खोस्टो सुन्ने समयमा मन नलाग्ने वस्तु, पत्रु र अनावश्यक विषय भए पनि यसको गति यति पातलो थियो कि पानी जस्तै तरल, पैसा जस्तै निर्मल र भ्रष्ट्राचार जस्तै सरल विषय थिए । जब बाटोमा हिंडिरहेका मानिसहरू भेटिन्थे । तब उनीहरू खोस्टो जिन्दगीको हिसाबकिताबको तृष्णाले दौडिरहेका हुन्थे र भन्थे ।

––“बस ! खोस्टो जिन्दगी !”

युध्द होस वा जनयुध्द जेसुकैमा पराजित लडाकु आफ्ना कर्तव्यमा अब्बल थिए तर पनि अधिकारमा खोस्टो बन्दथे । दोष कस्को थियो र ? खोष्टिने, खोष्ट्याउने अनि खोस्टोका बीचमा थिए “किचिमिचीमा परेका किच्चक दादा” ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।