19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यसपालीको दशैँ-तिहार

कविता विष्णुमाया विभु October 10, 2020, 12:40 pm

टीका छ तर टीकामा रातो छैन

जमरा छ तर जमरामा पहेलो छैन

त्यही पनि कतै लाइदिने हात छैनन्

कतै लाउने निधार छैनन्

हे दशैँ, सक्छौ भने आऊ तिमी कोरोनाको अन्त्यष्टि मनाएर आऊ

टिका-जमरा लाइदिने हात र लाउने निधारको मिलन गराएर आउ

घर छन् तर परिवार छैनन्

भान्छा छन् तर परिकार छैनन्

कतै बनाउने हात छैनन्, कतै खाने मुख छैनन्

कतै भोक छ अन्न छैन, कतै अन्न छ भोक छैन

हे चाडपर्व हो !

सक्छौ भने भोक र भोजनको भाग्य जुराएर आऊ

बनाउने हात र खाने मुखको मिलन गराएर आऊ

सयपत्री मखमली फुलेका छन्

कतै माला उन्ने दिदी-बैनी छैनन्

कति माला पहिरिने दाजुभाई छैनन्

हे भाइटिका!

सक्छौ भने कोभिड्को बलि दिएर आऊ

माला र गलाको मिलन लिएर आऊ

टीका लाउन, भैली गाउन

कोहि आउलान भन्दा पनि

बिडम्बना कोहि आउलान्

साथमा कोरोना ल्याउलान् भन्ने त्रासमा छन् सबै

मान्यजनको मा जाउँला

टिकाटालो लाउँला, दक्षिणा आशिष पाउँला

आफन्त संगै बसेर मिठो-मिठो खाउँला-पिउँला

चरर पिङ खेलौला, सरर गाउँघर घुमौंला

साथमा फोटो खिचौला आफन्तसंगै रमाउँला

भन्दा पनि कोहि आउला, साथमा कोरोना ल्याउला

छोए रोग सल्काउला भन्ने सन्त्रासमा छन् सबै

त्यसैले, हे दशै-तिहार!

सक्छौ भने कोरोना-कहरलाई छितिज कटाएर आऊ

मानिसका मनबाट कोभिडको शंका र सन्त्रास हटाएर आऊ

बन्द बाटो र बन्द आकाश खुलाएर आऊ

बिछोडिएका परिवार मिलाएर आऊ

टिकाको रातो अनि जमराको पहेंलो बनेर आऊ

भैलीको निसंकोच नृत्य, घरवेटीको निस्छल मुस्कान अनि बत्तिको निरन्तर उज्यालो बनेर आऊ...!

अनेसास नर्वे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।