मेरा बाजे बराजुका
रगत र पसिनामा
भिजेको
यहाँको माटोमा
मेरा शैशवले
त्यही सुगन्धबाट लय भर्छ
जीवनको ।
तिमीले मान या त नमान
यसरिनै बदलिन्छ
भूगोल
र
थान।
गुनासो छैन
म
मेरा
नाति पनातिको बाजे
बराजु बन्दा
इतिहासले
मलाई प्रवजित भनोस
या
आप्रवासी ।
छुँट्टिदा छुँट्टिदै
जाति
वंश
कुल घराणा
रोज्दा रोज्दै
तिमी
जब
एक्लो हुँन्छौ
मलाई खोज्नु-
म
तिम्रो भै दिन्छु
भै सहन्छु ।
ओदालगुडी,असम