जिन्दगी कविता राम्रो जीवन-गीत गाउँछु
कल्पनामा नभै धेरै विपनामा रमाउँछु
कविता अति नै मीठा दाउरा-घाँसमा हुँदा
शैली र लयमा मर्म चमेली वनमा रुँदा
महङ्गो कोटको हैन चोटको कविता मिठो
निगाह नोटको हैन भोटको कविता मिठो
गोठमा सुरिलो गीत ओठमा हँसिलोपन
बारीमा अनि भारीमा अझै मिठो छ जीवन
झुप्राका कविता लेख्छु महलका म लेख्दिन
विवेकी, रसिला मान्छे महलमा म देख्दिन
युद्ध हो कविता मेरो पलाय नभै कतै
आगो हो कविता मेरो दन्की ज्वाला जताततै
पतेरा, झुसिला किरा पोल्ने मेरो विचार छ
पुँजीको नमिठो गन्ध दौलतमा विकार छ
सङ्गीतमा बजून् शब्द भाव जीवनको बहोस्
बस्तीमा पुग्नु हो राम्रो मस्तीमा कविता नहोस्
पसिनाका छरी बीउ काव्यका फाँटमा पसी
कर्म गर्न सिकाइन्छ मरी-मरी घुँडा धसी
श्रमको गीत हो काव्य सलल बग्नुपर्दछ
चेतनादीप हो काव्य झलल बल्नुपर्दछ
उज्यालो बस्तीमा छर्दै अन्धकार भगाउने
मदोन्मत्त भए साँढे नत्थडोरी लगाउने ।
ज्याग्दीखोला, स्याङ्जा