16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रसिकका रसिक लेखहरू

कृति/समीक्षा छविरमण सिलवाल October 25, 2020, 5:26 pm
छविरमण सिलवाल
छविरमण सिलवाल

भाषा, साहित्य, कला, संगितको अद्धितीय संगमका साधक गणेश रसिकका बारेमा जति लेखे पनि थोरै हुन्छ । नम्र स्वभाव, मधुर बोली, तेजस्वी अनुहार उहाँको यो परिचय यहीँ नै हो । र, उहाँको पुस्तक पढ्दा होस या गीत सुन्दा उस्तै हार्दिकता झल्किन्छ । जीवनको आरोह अवरोहमा परेका हरेक कुराहरुलाई हामीले स्वागत गर्नुको विकल्प रहँदैन् । जे जस्तो परिवेशसँग पनि हामी साक्षत्कार हुँनै पर्दछ । यही क्रममा गणेश रसिक पनि तिनै परिवेशसँग ठक्कर खाँदैँ हुर्केका सर्जक हुन् । यसै मेसोमा उनका जीवनका मोडहरुमा देखिएका, भोगिएका र प्रत्यक्ष अप्रत्यक्ष रुपमा गाँसिन पुगेका सर्जकहरुका बारेमा उहाँले लेख्नु भएको पुस्तक ‘छपक्कै मनमा बसेकहरु’ पुस्तक पढिरहँदा मलाई मनमा एक प्रकारको रोमान्चकता र भावुकता सँगै ति समयसँग साक्षात्कार हुन पुगें, जुनबेलाको समयमा म जन्मेको पनि थिइन ।

‘छपक्कै मनमा बेसकाहरु’ पुस्तकभित्र उन्नाइस जना मुर्धन्य व्यक्तित्वहरुको बारेमा उहाँका आफ्ना विचारहरुलाई निर्धक्क लेख्नु भएको छ । जे छ त्यहीँ, जस्ताको तस्तै, कतै बढाइचढाई गरेको भेटिन्न् । त्यसैले उहाँहरु रसिकको मनमा छपक्कै भएर बस्न सफल हुनु भयो । यस पुस्तकमा भेटिएका उन्नाइसै जना व्यक्तिहरु सबैका मनमा छपक्कै भएर बस्न सफल हुने छन्, युगौँ युगसम्म ।

‘मैले भेटेको एउटा रत्न’ शिर्षकमा बालकृष्ण समबाट रसिकले शुरुवात गर्नु भएको छ । र, ‘कोसीछेउ उभेको जोर सिमल’ शिर्षकमा जनगायक रामेश र मन्जुललाई अन्तेममा प्रस्तुत गर्नु भएको छ । लेख्दा लेख्दै उहाँले आफ्ना बारेमा पनि धेरै कुराहरु पस्कन सफल हुनु भएको छ । त्यसैले पुस्तक लेखनको बारेमा उहाँ यसरी प्रस्तुत हुनुहुन्छ –‘हो, कहीँकतै अभिलेख नरहने त्यो समयगाथा एक दिन मसँगै समाधिस्थ हुनेछ । समयले छोडेपछि स्वयं आफैले पनि बिर्सनुपर्ने हुन्छ । एक दिन आफ्ना लागि आफै बोझ र बिरानो भइन्छ । अहिले म त्यही बिरानो हुँदै गएको धमिलो चित्रहरुलाई पल्टाउँदै र छान्दै छापामा उतार्ने प्रयत्न गर्दै छु ।’

‘देश खोज्दै एउटा लाहुरे’ शिर्षकमा केशवलाल जोशी उभिन्छन् र भन्छन्–‘आराम छ रसिक भाइ ।’

‘नेपाली सङ्गीतका सप्तकोशी’ शिर्षकमा नातिकाजीलाई सम्झन्छन्, र लेख्छन्–‘शान्त नदी जस्तै, गम्भिर शिबपुरी पहाडजस्तै थिए नातिकाजी । मजस्ता धेरैका पूजनिय र आदरणिय थिए । जीवनको उत्तराद्र्धमा पनि उनको सिर्जना, लगनशिलता, समर्पण यथास्थितिमै रहेको देख्दा मेरो शिर श्रद्धाले निहुरिन्छ ।’ साँच्चिकै रसिकज्यूले भने जस्तै नातिकाजी नेपाली सङ्गीतका सप्तकोशी नै हुनुहुन्थ्यो ।

नयाँ पुस्ताले विर्सदै गए भने पुराना पुस्ताको इतिहास मेटिन कति बेर लाग्ला र ? यस्ता विर्सने शैलि अहिले निकै मौलाएको छ । पुराना कुराहरु हाम्रो सम्पदा हुन् र उनीहरुकै पदचापमा हामी हुर्केका हौँ भन्ने भान जबसम्म नयाँ पुस्तालाई पर्दैन, तब सम्म मौलिकताको जर्गेना गर्न कठिन नै हुन्छ । त्यसकारण पनि यस्ता पुस्तकको महत्व ह्वात्तै वढ्छ । त्यस्तै ‘नौलाख ताराका एउटै जून’ शिर्षकमा अगमसिँह गिरीलाई रसिक यसरी सम्झनु हुन्छ–‘आजभोली जब देशका सीमाका जङ्गे पिलर हराएको र सारिएको खबर सुन्छु, जब आफ्नो गाउँको पशुपतिनगर छब्बिसे, मेग्मामा सीमा मिचिएको देख्छु । त्यतिवेला म अगमसिँह गिरीका कालजयी गीत सम्झन्छु, जसमा अम्बर गुरुङ्को स्वर र सङ्गीत बगेको छ’–

सुगौली सन्धी हामीले भुलेका छैनौँ भनिदेऊ,

किल्ला काँगडा हामीले भुलेका छैनौँ भनिदेऊ ।

स्कुल पढ्दा साथीभाइको लहलहैमा स्कुलका हेडमास्टर हटाउँनको लागि हडताल गर्छन् । तर रसिकलाई के को लागि हडताल गरियो भन्ने थाह थिएन । पछि थाह पाउँदा पो झल्यास हुन्छन्, जसको लागि हडताल गरीयो उनी त भिनाजु पर्नै रहेछन्, तर पछि तिनै भिनाजूले काठमाडौमा बस्नको लागि निकै सहयोग गरेको प्रसङ्ग निकै घत लाग्दो छ । उहाँको नाम हो शरदचन्द्र शर्मा भट््टराई ।

‘तिम्रो माया मार्न सकिन’ शिर्षकमा गायक फत्तेमानलाई यसरी सम्झन्छन्–‘साँचो भन्नुपर्दा पछिल्लो पुस्ताका लागि उनी अत्यन्तै चाखलाग्दा र जोशिला पनि । योगदानको वा उमेरका हिसाबले अग्रज हुँ भन्ने घमण्ड पटक्कै नभएका, पुस्तापुस्तावीच कुनै सीमारेखा नकोर्ने, सबैका लागि आत्मीय र समावेशी थिए फत्तेमान । तर चित्त बुझेन भने कसैलाई बाँकी नराख्ने, लाग्ने छुराजस्तै थिए ।’ मैले पनि उहाँसँग थोरै भए पनि भेट्ने अवसर प्राप्त गरेको थिए । म पनि उहाँकै भनाईमा ऐजन ऐजन गर्न चाहन्छु । फत्तेमानले हात्ती किनेर पालेका कुराको प्रसङ्ग निकै घतलाग्दो छ ।

‘बीसौँ शताब्दीको गीत’ कविताका सर्जक वासु शशीका बारेमा पनि रसिकका संस्मरण निकै घतलाग्दा छन् । कर्णप्रिय गीतहरुको गायक बच्चु कैलाश प्रचारमा त्यती रुचि नराख्ने स्वभावका रहेछन् । उनका बारेमा यसरी वर्णन गर्छन्– ‘जब बच्चुकैलाश गाउँथे, तब गीत र संगीतमा चुर्लुम्मिएर गाउँथे । आफ्नो श्वर संगीतजस्तै पृथक शैलीमा गाउँथे । २०२७ सालतिरको कुरा हो, मैले रंगमन्चमा पहिले र अन्तेमपटक रुपरेखाले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा उनले गाएको सुनेको थिएँ । त्यसपछि उनको सार्वजनिक जीवन कहिल्यै देखिएन ।’ ‘’

त्यसैगरी शान्ती ठटाल, नटराज भैरवबहादुर थापा, जितेन्द्र बर्देवाका जीवनका पाटाहरुलाई उहाँले सचित्र उर्तानु भएको छ । यो समाज या समाजका केही मै हुँ भन्ने हरुले भैरवबहादुर थापालाई दिएको दुःखका पहाडले मन चसक्क दुख्छ नै । त्यो समय वितिसकेको छ तर समयले उनलाई दिएको चोट छपक्क मनमा बसेकाहरु मार्फत ताजा नै रहेको छ । यसबाट हामीले पनि धेरै कुराहरु सिक्न, जान्न र मान्छेलाई मार्ग निर्देशन गर्नको लागि एउटा सुन्दर क्षण हुन्छ भन्ने लाग्छ ।

हिरण्य भोजपुरेलाई म पनि नजिकबाट चिन्दछु । उहाँको लेखन गायन र बोली बचनले कसलाई पो मोहनी नलगाउला र । तर भोजपुरेका केही दुःखका पाटाहरुले मन चसक्क दुख्छ नै । एउटा प्रसङ्ग प्रस्तुत गर्दछु – ‘झण्डै १५ मिनेट जति कुराकानी भए । आँखामा आँसु भए पनि हाँसिरहेका थिए भोजपुरे । तर आजचाहिँ मैले भोजपुरेको हाँसोमा अन्तरमनका आँसु देखें । अव्यत्त गहिरो पीडा र समवेदना देखेँ । मलाई पूरा विश्वास भयो –वास्तवमा रुन नसकेर पो हाँस्ने मनुख्खे रहेछन्, हिरण्य भोजपुरे ।’

रवि शाह, शशी भण्डारी, तारादेवी, कमला श्रेष्ठ र कवि कृष्णभुषण बलका प्रसङ्ग अत्यन्त मार्मिक छन् । जे छन् यथार्थ छन्, हरेक मानव जन्मनु एउटा विशेष कारण भएकै हुन्छ जस्तो लाग्छ मलाई त्यस्तै विशेषता बोकेर नेपाली साहित्य, शिक्षा, गीत–सङ्गीतका आ–आफ्ना छाप छोड्न सफल व्यक्तित्वहरुसँगका प्रसङ्गले नयाँ पिँढीलाई पनि झक्झकाउँने नै छ, यो पुस्तकले ।

दार्जलिङमा जन्मेर जिवनभर नेपाली गीत–सङ्गीतमा सेवा गरेर पनि नेपाली नागरिकता नपाएरै यस संसारबाट बिदा भए । तर नेपाल र नेपाली गीत–सङ्गीतलाई माया गरिरहें । त्यस्ता व्यक्तित्व हुन दिव्य खालिङ । दिव्य खालिङका बारेमा रसिकका विचारहरु यसरी पोखिएका छन् पुस्तकमा–‘आदर्शवादी नेपाल र नेपालीलाई अत्यन्तै माया गर्ने दान खालिङका भतिजा दिव्य खालिङ आज हाम्रा सामु छैनन् । तर उनका अमर सिर्जनाहरु सम्पूर्ण नेपाल र नेपालीलाई नासोका रुपमा या भनौँ सम्पत्तिको रुपमा छोडेर गएका छन् । भोली दिव्यको परिचय पक्का नेपालमा दरिने छ, यसमा कुनै शङ्का छैन । तर दुःखको कुरा नेपाली नागरिकताको प्रमाणपत्र भने सधैँ रहनेछन् अनागरिक दिव्य ।’

एक समय थियो रामेश, रायन र मन्जुलको । अहिले समयसँगै उनीहरुको शरीर बुढो भएको छ । तर स्वर उस्तै छ, संसारले सुन्ने उनीहरुको आवाज उस्तै छ । तर उनीहरु विगत २७ वर्षदेखि बोलचालमा छैनन् । रसिकले यी प्रसङ्गहरु निकै मिठासका साथ पस्केका छन्, ‘छपक्कै मनमा बसेकाहरु’ पुस्तक मार्फत । उनीहरुको भावना एकै भएको ठान्छन्, तर सोच ? यस्तो कुरा उनीहरुका फ्यानहरुले सुन्दा नमज्जा मान्लान भन्ने सोच कहिले आउँने हो, भन्ने प्रश्न उठछ नै । तर रसिकको मिठासपूर्ण प्रस्तुतीले उनीहरु मिलेकै अनुभूत गराउँछन्– ‘समय कति कठोर र निर्दयी छ, सँगै उभेको जोर सिमल आज रामेश मन्जुलको गीत गाउँदै छन््– ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरु हाम्रा गीतहरु ।’ यता दर्शकदीर्घामा बसेर ताली बजाइरहेका छन्, गीतकार मन्जुल । यीनीहरुबीच विगत पच्चिस वर्षदेखि दोहोरो सम्वाद छैन, तर शब्द र सङ्गीत संवाद छ । ताल र स्वरबीच संवाद छ । मात्र दुईजना व्यक्तिबीच संवाद छैन ।’

अन्त्यमा, ‘छपक्कै मनमा बसेकाहरु’ पुस्तकमा प्रस्तुत भएका उन्नाइस जना नै नेपाली गीत–सङ्गीत, साहित्य, शिक्षा, नाट्य आदी क्षेत्रका महत्वपूर्णका साथै एउटा युगै हाकेका व्यक्तिहरु हुन् । उनीहरुको त्यो युगकामात्र नभएर सदियौँ सम्म पनि यस क्षेत्रमा आफ्नो नाम स्वर्ण अक्षरमा लेख्न सफल रहेका प्रमाण हामीसँगै छ । त्यसकारण पनि यो पुस्तक उपयोगी छ । अर्को कुरा उन्नाइस जनालेमात्र त्यो युगको प्रतिनिधित्व धानेको छैन् । धेरै त्यस्ता व्यक्तित्वहरु छुट्नु भएको छ । त्यसको परिपूर्ति आगामी पुस्तकले गर्ने नै छ । यस पुस्तकलाई साग्रिला बुक्सले प्रकाशन गरेको हो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।