14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सहिदिन्छु गाली बरु

कविता डा. नवराज सुब्बा October 25, 2020, 4:51 am

हो साथी !

म दही–चिउरे नै हुँ

मलाई दहीले मात्रले पुग्दैन

अघाउन चिउरा पनि चाहिन्छ

स्वादिलो केरा भए झन राम्रो

तिमी जतिसुकै ज्ञान देउ मलाई

म कहिल्यै अघाउँदिन त्यसले

मलाई त्यो केलाउने विज्ञान चाहिन्छ

हो मलाई धरतीले पुग्दैन अकाश पनि चाहिन्छ

मलाई घामले पुग्दैन जूनको प्रकाश पनि चाहिन्छ

यसै निहुँमा तिमी मलाई दहीचिउरे भन्दछौ भने भन

म दहीचिउरे नै हुँ एक नम्बरको

म मुन्धुमलाई माया गर्छु

उत्तिकै माया गर्छु वेदलाई पनि

मलाई कुरान, बाइबल या त्रिपिटक

सवैका ज्ञानलाई उत्तिकै श्रद्धा गर्ने गर्दछु

मलाई बिल्ला नलगाइ देउ कसैको

म सबैलाई उत्तिकै माया गर्छु

तिम्रा मायालाई पनि मैले जतन गरेको छु

दिएका धोकाका डामलाई पनि छोपेर राखेको छु

म अतीतलाई श्रद्धा गर्छु वर्तमानलाई पूजा

वर्तमानले नपुगेर भविश्यलाई सम्मान गर्दछु

तिमी मलाई हरदम् यो सेतो हो कि कालो हो भनेर सोध्दछौ

यो दुवै अलिअलि हो वा दुवै होइन भनेर दिन्छु जवाफ

तिमी यो दिन हो कि रात भनेर सोध्छौ मलाई

यो अस्ताउन लागेको दिन वा उदाउँदो उषा भन्दिन्छु

केही छैन गर गाली मलाई

बरु म गाली सहन

हरदम तयार छु

तिमी यताको कि उताको भनेर सोध्दछौ मलाई

म कतैको कसैको पनि होइन म आफ्नै हुँ भन्दिन्छु

एकातिर त लाग्नै प¥यो नि! भन्दछौ म कतै लाग्दिन भन्दिन्छु

हो म पनि शीतल छहारी खोज्दै हिड्ने बटुवा नै हुँ

प्यास लाग्दा बाटामा जुनसुकै धाराको पानी पिउँछु

तर म कोइली झैं गीत गाउन जान्दिन

न सुँगाको स्वर निकाल्न सक्दछु नै

मलाई कहिले घाम चाहिन्छ कहिले जून

पुग्दैन कुनै एकले मलाई

जसरी हिड्नलाई धरतीले पुग्दैन

हेर्ने स्वच्छ आकाश पनि चाहिन्छ

मेरो यो चाला देखेर मलाई जति सराप

बरु म तिम्रा हजार आरोप सहन तयार छु

मलाई माफ गर मेरा साथीहरू

म तिम्रो भजन किर्तनमा अब साथ दिन सक्दिन

तिमीले निर्जीव ठानेको वस्तु अनि कम्प्यूटरमा म जीवन खोज्दैछु

मैले अब कम्प्यूटरको कृत्रिम वौद्धिकता जाँच्नु छ

मान्छेलाई यन्त्रले उछिन्न लाग्यो कि त्यो बुझ्नु छ

मान्छे हिजो जसलाई भगवान भन्दथे तिनले आधा मारे आधा बचाए

अब मान्छे सुपरम्यान भएर निस्कदैछन् युग छिचोलेर

मानव यन्त्र र यन्त्र मानव बन्दैछ

तिनको राज्यसत्तामा मान्छेको अस्तित्व रहदैन कि !

त्यसको चिन्ता छ मलाई

बाँकी रहेका आधा मानिस पनि सिद्धेलान् कि !

एउटै तनाव छ अब मनमा

हे वर्तमान ! म तिमीलाई अतीत जत्तिकै माया गर्छु

अनि त्यत्तिकै माया गर्छु भविष्यलाई

बरु म सहर्ष स्वीकार गर्दछु आरोप

तर अतीत, वर्तमान र भविष्यलाई

दही, चिउरा, केरा मान्न तत्पर छु

मीठो लाग्छ मलाई तिम्रो गाली

दहीचिउरे आरोप सहन म तयार छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।