तिम्रो पेट डम्म बढ्दै गएको बेला
मेरो मन पनि उसै गरि ढक्क फुलेको थियो ।
फरक यति हो, तिम्रो पेट फुलेको सबैले देखे
मेरो मन फुलेको तिमीले समेत देखिनौं ।
तिमीलाई व्यथाले च्यापेको बेला
मलाई उस्तै औडाहाले निमोठिई रहेको थियो ।
फरक यति हो, तिमी चिच्याएको सबैले सुने
मलाई ऐठन भएको तिमीले समेत सुनिनौं ।
अस्पतालको शैयामा तिम्रो शरीर चिरेर
निकालिएको शिशू सुम्सुम्याउँदै
सबै पीडा भुलेर तिमी मुस्कुराउँदै गर्दा
तिम्रो शरीरबाट विभक्त अर्को शरीर
मेरो पनि निशानी हो भनेर गर्व गर्दै थिएँ ।
फरक यति हो, तिमी मुस्कुराउँदै गर्दा मैले पनि साथ दिएको थिएँ,
मैले गर्वबोध गरेको तिमीले चाल पायौं कि पाएनौ ?
काखमा खुसी हुर्किदै गर्दा, उसका आँखामा मैले आँफैलाई खोजि रहेँ
हर्षको पहाड उभिदै गर्दा, कर्तव्यको सगरमाथा चढ्दै गएँ
मलाई थिच्ने पुरुषार्थको पहिरो, तिम्रो मातृत्वले पन्छाउँदै गर्दा
म त, मेरो सन्तानलाई मेरा अधुरा सपना विसाउने चौतारी बनाउँदै रहेछु,
म जे हुन सकिन, मैले जे गर्न सकिन, मैले जे कमाउन सकिन
म उसलाई त्यही गराउन चाहन्छु, बनाउन चाहन्छु, भनाउन चाहन्छु ।
फरक यति हो, तिमी विगत सम्झिएर वर्तमानमा रमाई रहेकी छौ,ं
म वर्तमानमा पिल्सिएर भविष्यमा रमाउन चाहन्छु ।
ओहो, आज त त्यहि छोराको बर्थडे है ?
चुनौतीका पहाड उक्लनु पर्ने गोडा द¥याउन,
प्लाष्टिकको घोडामा हट्हट् गर्न सिकाउनु पर्ने ।
ईन्द्रेणी सपनामा देख्ने आँखाबाट नजर हट्न नदिन,
सादा कागजका पानामा ईन्द्रेणीको चित्र बनाउन सिकाउनु पर्ने ।
चमकदार सपनाको विस्कुन देखाउन, बालिएका बत्ति निभाएर मनाउनु पर्ने ।
साँच्चै तिमीले के उपहार ठिक पारि दिएकी छौं छोरालाई ?
थाह छ मलाई–उसले पोहोर देखि किनि मागेको आईप्याड दिएर
तिमीले भन्ने छौं–हेप्पि बर्थडे छोरा, ठुलो मान्छे हुनु, ज्ञानी बन्नु ।
फरक यति हो
म उसलाई दिने छु,
मेरा भाँचिएका, टुटेका र फुटेका अधुरा सपनाहरुले भरिएको समयको टोकरी
अनि भन्ने छु–
मैले त यि काम र कुरा गर्न सकिन अब तिमीले गर्नु पर्छ है
ह्याप्पी बर्थडे छोरा !
कमल–झापा