आमाको सम्झनामा

कविता शिव गौतम. November 9, 2020, 7:40 am

तपाईं

अब

संझनाको संसारमा पुग्नु भयो कतै,

फूल देखे पनि

तपाईंलाई सम्झन्छु

तपाईं फूलको महकमा हुनुपर्छ,

जून देखे पनि

तपाईंलाई सम्झन्छु

तपाईं जूनको चहकमा हुनुपर्छ,

तपाईंलाई सम्झ्यो कि

यी आँसु आउने गर्छन,

तपाईं यिनै आँसुमा हुनुपर्छ।

तपाईंले जस्तै

बतासले

आफना हातले

मेरो कपाल सुम्सुम्याउने गर्छ

तपाईं बतासमा हुनुपर्छ,

आकाशले भेट्यो कि

मलाई अँगालो मार्ने गर्छ

तपाईं आकाशमा हुनुपर्छ ।

मेरो मन मान्दै मान्दैन

मेरो मन मान्दै मान्दैन

तपाईं अब हुनुहुन्न भनेर,

तपाईं मेरो मानमा कतै हुनुपर्छ

तपाईंलाई सम्झ्यो कि

यी आँसु आउने गर्छन,

तपाईं यिनै आँसुमा हुनुपर्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।