16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाटो बिराउने छैन विनय सर !

संस्मरण/स्‍मृति विजयराज आचार्य November 30, 2020, 3:10 pm
विजयराज आचार्य
विजयराज आचार्य

“तपाईं बालसाहित्यमै समर्पित हुनुस् । यसैमा छ तपाईं र देशको भविष्य ।” विनय सरले बारम्बार मेरोलागि दोहो¥याउने शब्द हो ।

२०६२÷६३ तिर मलाई बालसाहित्यको भुतै चढेजस्तो भएको थियो । विवेक सिर्जनशील प्रकाशनको कार्यालयमा साहित्यको जुनसुकै विधाका स्रष्टा आए पनि “तपाईंले जुन विधामा कलम चलाउनु भएको छ, त्यही विधामा बालसाहित्य लेख्नुस्, म छापिदिन्छु ।” मेरो आग्रह त्यही हुन्थ्यो ।

त्यतिबेलासम्म नेपालमा बालसाहित्यलाई महत्व दिने चलनै थिएन । बालसाहित्य लेख्ने लेखकलाई केटाकेटी लेखक भनेर एक खालले होच्याइन्थ्यो । त्यस्तो अवस्थामा बालसाहित्य सम्बन्धी अनुसन्धानात्मक र सैद्धान्तिक पुस्तक प्रकाशन हुने त कल्पना बाहिरकै कुरा जस्तो थियो । मेरो मनमा बालसाहित्यका सिर्जनात्मक मात्र नभई अनुसन्धानात्मक सैद्धान्तिक र समालोचनाका पुस्तक पनि प्रकाशन गर्नुपर्छ भन्ने लागिरहेको थियो ।

म त्यस्तै पुस्तक लेख्ने लेखकको खोजीमा भौतारिरहेको थिएँ । त्यतिबेला विवेक सिर्जनशील प्रकाशनको कार्यालय, अनामनगरस्थित ‘दाहालको दैलो’मा थियो । म प्रायः त्यही बस्थेँ । एकदिन बिहानै प्रमोद प्रधान सर आउनुभयो र भन्नुभयो, “विजयजी तपाईंलाई विनय कसजू दाइले भेट्न खोज्नु भएको छ । समय निकाल्नुहोस् उहाँ बल्खु बस्नुहुन्छ । एकदिन तपाईं र म सँगै जाउँला ।”

“उहाँ को हो ? मलाई भेट्न खोज्नुको कारण के रहेछ ?” मैले प्रमोद सरसँग जिज्ञासा राखेँ ।

“उहाँ सञ्चारविद् हो । वरिष्ठ साहित्यकार हो । अहिले उहाँले बालकथा लेखन भन्ने पुस्तक लेखिसक्नु भएको छ रे । त्यसको प्रकाशन र बालसाहित्यको बारेमा छलफल गर्न पनि खोज्नु भएको छ ।” प्रमोद सरको प्रस्तावले मलाई एकदम उत्साहित बनायो र भोलिपल्टै विनय सरकोमा जाने सल्लाह गरेर त्यस दिन विदावादी भयौँ ।

अर्को दिन प्रमोद सर र म बल्खुस्थित विनय सरको घर गयौँ । पहिलो भेटमै लामो गफ ग¥यौँ । मानौँ वर्षौँदेखिका चिनजानका साथी थियौँ, आफन्ती थियौँ । पहिलो भेटमै उहाँले लेखेको बालकथा लेखन पुस्तक प्रकाशन गर्ने, बालसाहित्यको सिर्जना र प्रवद्र्धनका लागि के के गर्न सकिन्छ, नियमित भेटघाट गरेर छलफल गर्ने सल्लाह गरेर आधा दिन बिताएर हामी हिँड्यौँ ।

हाम्रो त्यो भेट नेपाली बालसाहित्यको लागि कोसेढुङ्गा सावित भयो भन्दा अत्युक्ति नहोला । त्यो भेट बालसाहित्यको माध्यमबाट देशलाई माया गर्ने जोडीको भेट भएको दिन थियो । भेटका सुरुका एक÷डेढ वर्ष हामीबिच महिनामा पन्ध्र÷सोह्र दिन भेटघाट र टेलिफोन कुराकानी हुन्थ्यो । त्यसपछिका करिब बाह्र÷तेह्र वर्ष त उहाँ र मबिच भेटघाट र टेलिफोनमा कुराकानी नभएका दिन विरलै होला । विनय सर र म कहिले भेटेर, कहिले फोनमै घन्टौँ कुरा गथ्र्यौँ । हाम्रा अधिकांश कुराकानी बालसाहित्य केन्द्रित हुन्थे । हामीले बालसाहित्य इतरका कुरा गरेनौँ ।

विनय सरको सिर्जनशील नेतृत्व, मेरो क्रियाशीलता र साथीहरूको सक्रिय सहभागिताले गर्दा नेपाली बालसाहित्यले फड्को मार्न सफल भयो भन्दा दम्भ प्रदर्शन गरेको होला जस्तो लाग्दैन ।

हामीबिच चिनजान हुनुभन्दा पहिला नै हामी दुवैका बालसाहित्यका आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशित भइसकेका थिए । मैले बालसाहित्य त लेखेको थिएँ तर लेख्ने तरिका राम्रोसँग नबुझी लेखिरहेको रहेछु भन्ने कुराको हेक्का विनय सरसँगको सङ्गत गरेर, उहाँको पुस्तक पढेर र उहाँबाट प्रशिक्षण लिएपछि मात्र स्पष्ट भएको थिएँ । यस अर्थमा उहाँ मेरो आदरणीय गुरु हुनुहुन्छ ।

आत्मालाई साक्षी राखेर भन्नुपर्दा यदि हाम्रो भेटघाट र सहकार्य नभएको भए विनय सरका पचासौँ कृति प्रकाशन हुन्थ्यो कि हुँदैनथ्यो ? उहाँले बालसाहित्यको सम्पादन, प्रशिक्षणमा नेतृत्वदायी भूमिका निर्वाहमा जुन उचाइँ प्राप्त गर्नुभयो त्यो हुन्थ्यो कि हुँदैनथ्यो ? त्यो म ठ्याक्कै भन्न सक्दिनँ । म के कुरामा ढुक्क छु भने यदि मेरो विनय सरसँग भेट नभएको भए मैले प्रकाशन, सम्पादन, लेखन र प्रशिक्षणको माध्यमबाट जति योगदान दिन सकेँ, त्यसको बीस प्रतिशत पनि गर्न सक्ने थिइनँ । हाम्रो चिनजानपछि नै उहाँले सयौँ किताब सम्पादन गर्नुभयो । दर्जनौँ किताब अनुवाद गर्नुभयो र पचासौँ किताब लेख्नु भयो । तीमध्ये धेरैजसो विवेक सिर्जनशील प्रकाशनबाटै प्रकाशित भएका छन् ।

मैले भनिहालँे हामीले निरन्तर भेट्यौँ, छलफल ग¥यौँ । ती भेट र छलफल अधिकांश बालसाहित्य सिर्जना, सम्पादन र प्रशिक्षण केन्द्रित हुन्थे । छलफलकै क्रममा हामीले एउटा सामूहिक संस्था भए धेरै साथीहरूलाई समेटेर काम गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्यौँ । २०६९ सालमा हामीले विनय सरको नेतृत्वमा बालवाङ्मय तथा अनुसन्धान केन्द्रको स्थापना ग¥यौँ । उहाँको कुशल नेतृत्व र त्यस संस्थामा आबद्ध साथीहरूको सक्रियताकै कारणले बालवाङ्मय तथा अनुसन्धान केन्द्रले छोटो समयमा नै बालसाहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्यो ।

हामीले विवेक सिर्जनशील प्रकाशन र बालवाङ्मय तथा अनुसन्धान केन्द्रको सहकार्यमा विभिन्न विधामा कलम चलाएका तर बालसाहित्य नलेखेका लेखकलाई बालकथा कसरी लेख्ने ? भनेर प्रशिक्षण सुरु ग¥यौँ । यसरी प्रशिक्षण लिएरै बालसाहित्य लेख्न सुरु गरेका दर्जनौँ स्रष्टा अहिले बालसाहित्यका स्थापित लेखक बन्न सफल हुनुभएको छ । यो नेपाली बालसाहित्यको विकासको हिसाबले गर्वको विषय हो ।

हाम्रो सहकार्यको प्रारम्भतिर त्यति स्तरीय बालसाहित्य लेख्ने प्रचलन थिएन । लेखकले पनि बालसाहित्यलाई हल्काफुल्का तरिकाले लिने र अन्य विधामा लेख्न नसके बालसाहित्य लेख्ने अथवा कसैको रचना स्तरीय भएन भने कस्तो बालसाहित्य जस्तो लेखेको भनेर गिज्याउने चलन थियो । हुन पनि अधिकांश लेखकले बालसाहित्य भनेर आफ्नो बाल्यकालको अनुभवलाई कलात्मक बान्की नदिइकन रुखो तरिकाले प्रस्तुत गर्ने चलन थियो । केही लेखकहरू चाहिँ पुराना उपदेशात्मक कथालाई आफ्नो ढङ्गले लेखेर बालसाहित्य हो भन्ने गर्थे । यस्ता कार्यले गर्दा बालसाहित्यमा आकर्षणको सट्टा विकर्षण नै पैदा गरेको अवस्था थियो । त्यो भ्रम चिरेर आधुनिक बालसाहित्य सिर्जनाको बाढी ल्याउन विनय सरको नेतृत्वको हाम्रो समूहले महत्वपूर्ण योगदान गरेकै हो ।

बालबालिका नै भविष्यका देशका जिम्मेवार नागरिक हुन् । यदि सुन्दर समाज निर्माण गर्ने हो भने बालबालिकालाई नै प्रशिक्षण दिनुपर्छ भनेर विद्यालय स्तरीय बालबालिकालाई कथा कसरी लेख्ने भनेर प्रशिक्षण दिन थाल्यौँ । छोटो समयमा हाम्रो समूहले देशका विभिन्न जिल्लाका पाँच हजारभन्दा बढी बालबालिकालाई तालिम दिन सफल भयौँ । पाँच सयभन्दा बढी बालबालिकाका कथा संयुक्त रूपमा प्रकाशन भइसके । पचासभन्दा बढी बालबालिकाले छुट्टै आफ्ना कृति लेख्न सफल भए । केहीले त प्रकाशनसमेत गर्न सके ।

बालबालिकाले नै साहित्य लेख्न थालेपछि उनीहरूमा साहित्यप्रति रुचि बढ्दै गएको छ । विनय सर आपूmले जानेको सीप धेरैलाई बाँड्नु पर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो । त्यसैले बालकथा कसरी लेख्ने भनेर प्रशिक्षण दिनसक्ने कम्तीमा दश जना जनशक्ति उत्पादन गर्ने भनेर हामीले सल्लाह ग¥यौँ । हामीले डा. गोविन्द गजुरेललाई लिई टिस्टुङमा तीन दिने प्रशिक्षक प्रशिक्षणको व्यवस्था ग¥यौँ । त्यहाँ दश जनाले प्रशिक्षण लिएका थियौँ । अहिले त्यसको आधा सङ्ख्या मात्र प्रशिक्षण दिने कार्यमा लाग्न सकेका छौँ । अरू साथीहरू यस क्षेत्रमा सक्रिय हुन सक्नु भएन ।

हामीले विभिन्न समयमा बालसाहित्य लेखन अतिरिक्त संस्मरण लेखन, जीवनी लेखन, लघुकथा लेखन, चित्रपुस्तक लेखन लगायतका विभिन्न विधामा कसरी लेख्ने भनेर लेखकहरूका लागि प्रशिक्षण कार्यक्रम चलायौँ । यी कार्यक्रममा विनय सरले सधैँभरि मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयो ।

उहाँ पटक पटक विदेशमा उद्देश्यमूलक साहित्य लेखनको परम्परा फस्टाएको छ भन्नु हुन्थ्यो । “के हामीले पनि उद्देश्यमूलक बालसाहित्य लेखन परम्पराको थालनी गर्न सकिन्न ?” मैले प्रश्न गरेँ । “सकिन्छ किन नसकिने ?” उहाँले जवाफ दिनुभयो ।

मैले वायोडायनामिक क्षेत्रमा काम गरिरहेका कृष्ण गुरुङलाई प्रस्ताव गरेँ, तपाईंले गरिरहेको कामको बारेमा अध्ययन गरेर बालसाहित्य लेखन कार्य गरौँ भनेर । उहाँले स्वीकार्नु भयो । बालवाङ्मय तथा अनुसन्धान केन्द्र र उहाँको संस्था केभिन रोहन पर्या प्रतिष्ठानको संयुक्त आयोजनामा बालकथा लेखन कार्यशाला ग¥यौँ । त्यहाँ लेखिएका कथाहरूलाई माटाको माया शीर्षकमा प्रकाशित ग¥यौँ ।

त्यसपछि हामीहरूले उद्देश्यमूलक बालकथा लेखन कार्यलाई निरन्तरता दिँदै गयौँ । भूकम्पसम्बन्धी कृति भुइँचालोको कथा, बीमासम्बन्धी निष्फिक्री, बुद्ध र लुम्बिनीसम्बन्धी बुद्ध र लुम्बिनी, जन्मदेखि मृत्युसम्मको संस्कारसम्बन्धी बन्धन, मुटु रोगसम्बन्धी ढुकढुकी, बालबालिकालाई गर्ने व्यवहारले उनीहरूमा पारेका प्रभावसम्बन्धी मेरो के दोष ? लगायत डेढ दर्जनभन्दा बढी पुस्तक निकाल्न सफल भयौँ । यी सबै पुस्तक सम्बन्धित विषयमा प्रशिक्षण कार्यशाला गरेर लेखिएका कथाकृति हुन् । ती सबै पुस्तक प्रकाशन भइसकेका छन् ।

हामीले प्रायः भेटघाटमा के कुराको अभाव छ ? त्यसको पूर्ति कसरी गर्ने ? भनेर छलफल गर्ने गथ्र्यौँ । एक पटक वरिष्ठ हास्यकलाकार मनोज गजुरेल विदेशबाट फर्केर आएपछि हामीलाई भन्नुभयो, “यदि हामीले नेपाली संस्कार र संस्कृति झल्कने लोककथाहरूलाई चित्रपुस्तक बनाएर अङ्ग्रेजीमा अनुवाद गरी विदेशमा पठाउन सके धेरै राम्रो हुने थियो ।” हामीलाई उहाँको कुरा ठिक लाग्यो । तत्कालै चित्रपुस्तक लेखन कार्यशाला गरेर एक दर्जन चित्रपुस्तक उत्पादन गरी अङ्ग्रेजी र नेपालीमा छाप्यौँ । विदेशमा रहेका नेपाली बालबालिकासमक्ष पु¥याउने कामचाहिँ प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न भने सकिएन । पछि हामीले पटक पटक चित्रकथा लेखन कार्यशाला गरेर उमेर समूह अनुसारका चित्रपुस्तक तयार गरी पचासौँ पुस्तक प्रकाशन गर्न सफल भयौँ ।

बालसाहित्यको क्षेत्रमा काम गर्दै जाँदा किशोरले पढ्ने साहित्यको अभाव महसुस ग¥यौँ र किशोर कथा भाग–१ प्रकाशन ग¥यौँ । उहाँ अमेरिका भएको बेला डा. चूडामणि बन्धु र रामकुमार पाँडेको सक्रियतामा दोस्रो किशोर कथा कार्यशाला गरियो । पछिल्लो समयमा भारतीय सुप्रसिद्ध लेखिका मनोरमा जफालाई बोलाएर धुलिखेलमा तीन दिने कार्यशाला गरेर किशोर कथा तीन तयार पारेका थियौँ । त्यसको सम्पादनको जिम्मा विनय सरले लिनुभएको थियो । त्यो कार्य सम्पन्न गर्न नभ्याई उहाँको निधन भएकाले अब अर्कै सम्पादकले सम्पादन गरी प्रकाशन गर्ने योजना बनाएका छौँ । यी तीनवटा किशोर कथा लेखनबाट उत्साहित भएर विनय कसजू, रामकुमार पाँडे, विजयराज आचार्य, मन्जु ज्ञवाली लगायतका स्रष्टाले किशोर कथाका आ–आफ्नो कृति निकाल्न सफल भइसकेका छन् ।

भेटघाटको क्रममा कहिलेकाहीँ हामीबिच व्यक्तिगत कुरा पनि हुन्थे । “कथाको हिसाबले तपाईंको जिन्दगी उत्कृष्ट हो । मेरो सामान्य हो ।” उहाँले एक दिन भन्नुभयो । “किन र सर ?” मैले सोधेँ । “वास्तविक भोगाइमा जीवनका कठिनाइहरू, अभावहरू पीडादायक हुन्छन् । कथामा तिनै कुरा रोचक हुन्छ । मैले कहिल्यै अभाव भोगिनँ । कठिनाइ के हो त्यो बुझ्न पाइनँ,” उहाँले भन्नुभयो । बाल्यकालमा रिडीको खोलामा माछा मारेको, जोगीको सङ्गत गरेर प्रभावमा परेको, प्रधानपञ्च भएर अनुभव गरेको, बनारसमा एक प्रतिष्ठित साहित्यकारले किताब मागेर लगेपछि कहिल्यै नफर्काउने गरेको आदि सुनाउनु हुन्थ्यो । पाल्पाको बसाइ र ग्रामीण पत्रकारिता यात्रासँगसँगै कम्युनिष्ट नेताहरू जाँदा आफ्नो घरमा बस्ने गरेको, पारिजात पाल्पा जाँदा उहाँकै घरमा कार्यक्रम गरेको, पाल्पा छाडेर काठमाडौँ आएर कीर्तिपुरमा घर किनेर बसेको र पछि त्यहाँबाट बल्खु सरेकोसम्म कथा बेलाबेलामा सुनाउनु हुन्थ्यो । रिडीमा नेवारी गुठीले छिप्पेको बोका काटेर पचासौ व्यञ्जन बनाएर भोज गरेको देखी कसरी आस्तिक भएर जोगीको सङ्गतमा पुगेँ र बनारसमा जोगीकै व्यवहारले कसरी भौतिकवादी बनेसम्मका अनुभवहरू मलाई बताउनु भएको थियो ।

यसरी आ–आफ्ना व्यक्तिगत घटना सुनाउने क्रममा मैले पनि बाख्री गोठालो जाँदा चितुवासँग जम्काभेट भएको र मेरो आँखा अगाडिबाटै चितुवाले मेरो प्यारो झक्कलेलाई निमोठेर लगेको कुरा सुनाएको थिएँ । उहाँले मेरो कुरा सुनेर “तपाईंको जिन्दगीका हरेक भोगाइहरू सुन्दा कथा बन्न सक्छन् । यो घटनालाई चित्रकथाको रूपमा लेख्नुहोस्, धेरै राम्रो कथा बन्छ” भनेर सुझाव दिनुभयो । मैले चितुवासँग जम्काभेट चित्रकथा लेखेँ । उहाँले नै सम्पादन गरिदिनु भयो । त्यसलाई अङ्ग्रेजीमा पनि अनुवाद गरेर छापियो । छोटो समयमै त्यो पुस्तक पाँचौ संस्करण छापियो र बिसौँ हजारप्रति बिक्री भयो । त्यसपछि मैले आफ्नो जीवनका भोगाइका दर्जनौँ कथा लेखेँ र तिनै कथा जीवन्त बन्न सफल भए ।

उहाँले मलाई जिस्काएर भन्नुहुन्थ्यो, “भौतिक रूपमा दुःख पाउनु, गरिबी, पीडा भोग्नु, सिर्जनात्मक हिसाबले समृद्ध बन्नु हो ।”

काठमाडौँ वरिपरिका जिल्लाका रिसोर्ट र होटलहरूमा भएका कार्यशालामा त मैले उहाँसँग धेरै दिनहरू बिताएको छु । उहाँसँग गरेका यात्राहरूमध्ये दुईवटा यात्रा मेरोलागि निकै यादगार बनेका छन् । ती हुन् गोरखाको लिगलिगकोट यात्रा र जुम्लाको सदरमुकाम हुँदै मुगुको रारासम्मको यात्रा । गोर्खाली युवा विकास ढकालको सक्रियतामा लिगलिगकोट साहित्ययात्राको आयोजना भएको थियो । यात्रामा पाका र युवा पुस्ताका गरी पचासौँ साहित्यकारको सहभागिता थियो । तीन दिने त्यो यात्रामा पहिलो दिन देवकोटा गाउँ (उपेन्द्र देवकोटाको गाउँ) र दोस्रो दिन हर्मी (विकास ढकालको गाउँ) मा बास बसेका थियौँ ।

विनय कसजू मैले चिन्नुभन्दा धेरै वर्ष पहिलेदेखि नै मुटु रोगी हुनुहुन्थ्यो । गोर्खाको यात्राक्रममा चेपे नदीबाट पैदल यात्रा सुरु गरेका थियौँ । चेपेबाट लिगलिगकोट पुग्न उकालै उकालो जानुपर्ने थियो । यात्रामा डा. मुकेश चालिसे पनि सहभागी हुनुहुन्थ्यो । हामी तीन जनाको एउटा समूह थियो । यात्राभरि नै मैले विनय सर र मुकेश सरको सहयोगीकै भूमिका निर्वाह गरेँ । हामी तीन जना सँगसँगै हिँडिरहेका हुन्थ्यौँ । उकालोमा थाकेपछि उहाँका गाला राता हुन्थे । एक चोटी उभिएर लामो–लामो सास फेर्दै भन्नुभयो, “मेरो एउटा साथी मजस्तै मुटु रोगी थियो । हिँड्दा–हिँड्दै भुतुक्क निभ्यो । म पनि त्यसरी नै ढले भने तपाईंहरूले अन्यथा नलिनु होला ।” उहाँको त्यो कुराले मलाई एकदम डर लाग्यो । राति एउटै कोठामा सुतेका थियौँ । निद्रा लागेन, उहाँले सास फेरिरहनु भएको छ कि छैन भनेर ध्यान दिएर सुनेरै रात कटाएँ ।

दोस्रो दिन बाह्र बजेतिर हामी लिगलिगकोट पुगेका थियौँ । थाकेर उहाँको अनुहार रातो भएको थियो । जिउ पसिनाले भिजेर निथु्रक्क भएको थियो । मलाई उहाँको अघिल्लो दिन हिँड्दा हिँड्दै भुतुक्क ढलेर नउठ्न पनि सक्छु भन्ने शब्दले डर लागिरहेको थियो । लिगलिगकोटमा पुग्ने बित्तिकै उहाँको अनुहारमा एकाएक चमक आयो । फटाफट दुई चारवटा फोटा खिचिसकेपछि घरमा “लौ हामी लिगलिगकोट पुग्यौँ” भनेर त्यहाँको बारेमा वर्णन गर्दै कुरा गर्नुभयो । त्यो यात्रा मेरोलागि अविस्मरणीय बन्यो ।

एकहत्तर सालको दसैँ तिहारको बिचमा एक दर्जन जति लेखक, कलाकार जुम्लाको सदरमुकाम हुँदै मुगुको सदरमुकाम गमगढी, रारा हुँदै ऐतिहासिकस्थल सिँजाको भ्रमणमा गएका थियौँ । त्यो भ्रमणमा विनय कसजू पनि सहभागी हुनुहुन्थ्यो । सुरुका तीन दिन हामी जुम्ला सदरमुकाममा भएको साङ्ग्रिला फाउन्डेसनको पाहुना भएर बस्यौँ । विभिन्न साहित्यिक गतिविधि ग¥यौँ । बालकथा लेखन, प्रशिक्षण चलायौँ । खलङ्गा वरिपरिका ठाउँहरू, गाउँहरू घुम्यौँ ।

चौथो दिन हामीहरूले जुम्ला सदरमुकामदेखि माथि देखिने डाँफे लेक हुँदै मुगु जाने यात्राको थालनी ग¥यौँ । यात्राका अरू सबै सहभागी पैदलै हिँड्यौँ । विनय सरलाई हिँड्न गाह्रो हुने भएकाले घोडाको व्यवस्था गरिएको थियो । करिब चार घण्टाको उकालो उक्लेपछि हामी डाँफे लेकमा पुगेका थियौँ । डाँफे लेकको टुप्पोमा पुगेपछि मैले अलि असजिलो महसुस गरेँ । सास हलुका भए जस्तो कस्तो कस्तो । डाँडो काटेर ओरालो लागेपछि सहयात्री साथीहरूले लेक लागेको कुरा छलफल गर्नुभयो । त्यतिबेला मलाई विनय सरले गोरखा जाँदा भन्नुभएको “मुटुले मात्र छत्तीस प्रतिशत काम गर्छ । हिँड्दा हिँड्दै भुतुक्क निभ्न सक्छु” भन्ने शब्दको सम्झना भयो र आपूmभन्दा पनि उहाँकै चिन्ताले बढी सतायोे । त्यो दिन हामी दिनभरि हिँडेर साँझ चौथामा पुगेर बास बसेका थियौँ । अर्को दिन दिनभरि हिँडेर मिर्मिरे साँझमा गमगढी पुगेका थियौँ । गमगढी पुग्दा विनय सर घोडामा अगाडि अगाडि हुनुहुन्थ्यो । मान्छेहरू लाइन लागेर हेरिरहेका थिए । सबैले सोधिरहेका थिए, “उहाँ को हो ? नयाँ सिडिओ साप आउनु भएको हो ?” अहिलेसम्म पनि सदरमुकाममा नयाँ मान्छे जाँदा त्यस्तो चासो देखाएको अवस्था देखेर अचम्म लाग्यो । त्यो दिन हामी गमगढी बास बसेर अर्को दिन रारा ताल गएका थियौँ । हामी बाह्र बजेतिर रारा पुगेका थियौँ । निरन्तरको सङ्गत भए पनि मैले लिगलिगकोटको टुप्पोमा पुग्दा र रारा पुग्दा जस्तो उहाँको अनुहारमा चमक कहिल्यै देखेको थिइनँ । त्यो दिन हामीले राराको सुन्दरतामा रमाएर बितायौँ । अर्को दिन लेकहरू पार गर्दै नेपालकै ऐतिहासिकस्थल सिँजा पुगेर बास बस्यौँ । भोलिपल्ट फेरि जुम्ला सदरमुकाम फर्केर बास बसी अर्को दिन नेपालगञ्ज हुँदै काठमाडौँ पुगेका थियौँ । यसरी उहाँसँग लामो यात्रा गर्ने अवसर पनि मिलेको थियो ।

उमेरले विनय सर र म ठ्याक्कै २९ वर्षले जेठा कान्छा थियौँ । बालसाहित्य प्रबद्र्धनको हिसाबले हामी सहयात्री थियौँ । सहयात्रा गर्ने क्रममा मान्छेका बिचमा केही मतभेद भएन भन्नु एक प्रकारको अप्राकृतिक ढोङ हो जस्तो लाग्छ । हाम्राबिचमा पनि बेला बेला त्यस्ता खटपट नभएका होइनन् । हामी दुवैले के गम्भीरताका साथ महसुस ग¥यौँ भने एक आपसमा द्वन्द्व बढाएर कामै गर्ने कुरामा अवरोध सिर्जना ग¥यौँ भने नेपाली बालसाहित्यको विकासलाई उचाइँमा पु¥याउने हाम्रो सपनाको के हालत होला ? यो त आफ्नो सपनाको आपैm हत्या गरेजस्तो हुन्छ । त्यही कुरालाई आत्मसात गरेर सानातिना मनमुटावलाई आत्माभित्रै गुम्साएर निरन्तर सहकार्य गर्दै उहाँको मृत्यु पर्यन्तसम्म पनि सहकार्यलाई निरन्तरता दियौँ । कहिल्यै घर नफर्कने गरी अस्पताल गएको दिन पनि उहाँले मेरा तीनवटा लघुकथा सम्पादन गरी मलाई मेलमा पठाउनु भएको थियो ।

उमेरमा जतिसुकै फरक भएता पनि कहिलेकाहीँ हामीबिच दौतरीजस्तै अनुभव साटासाट हुन्थे । आ–आपूmले भोगेका कुरा कहिलेकाहीँ किशोर साहित्य लेख्दा, कतिपय लेखकहरूले मायाप्रेमका कथा लेख्दा घरपरिवार र आफन्तबाट गर्न सक्ने शङ्काका कुरा आदि । मैले त अभिभावक सम्झेर आपूmले भोगेका कुरा सर्लक्कै भन्थे । उहाँले अरूका उदाहरण दिनुहुन्थ्यो । आफ्ना अनुभव नभएर पनि होला ।

उहाँले अगाडि त्यसरी माया गरेको अभिनय कहिल्यै गर्नुहुन्नथ्यो । तर उहाँले मलाई मनैदेखि माया गर्नु हुँदोरहेछ भन्ने कुरा २०७२ सालको भूकम्पको बेला मैले अनुभव गरेको थिएँ । भूकम्पको धक्का रोकिन नपाउँदै “विजयजी तपाईंँ सकुशल हुनुहुन्छ नि ? सुरक्षित हुनुहोस् । तपाईं बालसाहित्यको क्षेत्रबाट देशलाई ठूलो योगदान दिन सक्ने मान्छे हो । बालसाहित्यको बारेमा अझ धेरै गर्न बाँकी छ ।” यति भनेर मोबाइल काट्नु भयो । उहाँले किन त्यो भन्नुभयो ? त्यो मैले बुझ्न सकिनँ । तर उहाँको त्यही भनाइले आफ्नो घर गल्र्याम्म गुर्लुम्म ढले पनि मन दह्रो भएर ठिङ्ग उभिन सक्यौँ । पछि उहाँले सुनाउनु भयो । भूकम्पपछिको पहिलो फोन नै मलाई गर्नु भएको रहेछ ।

अहिले विनय सर सम्बन्धी संस्मरण लेख्न बस्दा कोरोनाको कारणले लकडाउन भएर घरमा बस्न थालेको छ महिना भइसक्यो । भौतिक रूपमा कुनै क्षति भएको छैन । तर मन छियाछिया छ । यो दुनियाँमा कसैलाई नचिनेको एक्लो मान्छे हुँ कि भन्ने पीडा भइरहेको छ । यदि विनय सर भएको भए पक्कै दिनको एकपटक कुराकानी गथ्र्यौँ । एकले अर्कालाई सिर्जनात्मक कार्य गर्न हौसाउथ्यौँ र पीडालाई सिर्जनामा बदल्थ्यौ जस्तो लागिरहेको छ ।

मैले भनी हालेँ प्रायः काम उहाँको सिर्जनशील नेतृत्व र मेरो क्रियाशीलताबाट हुन्थे । कार्यक्रम योजना बनाउनेदेखि व्यवस्थापन गर्नेसम्मको कार्यको लागि बढी उहाँ र मेरोबिचमा छलफल भइरहन्थे । यसरी नजिक भएर काम गर्दा साथीहरूले बाउछोराको संज्ञा दिन्थे । यसलाई हामी दुवैले सहजरूपमा नै लिन्थ्यौँ । कसै कसैले त विनयले विजयलाई र विजयले विनयलाई बाहेक अरू कसैलाई बाल दिन्नन् भनेर पनि सुनाउँथे । त्यसलाई हामीले हाम्रो समस्याको रूपमा लिएनौँ ।

मलाई विनय सरको बानीमध्ये सबैभन्दा मनपर्ने बानीचाहिँ युवा पुस्तालाई प्रोत्साहन गर्ने लाग्छ । उहाँ मुक्तकण्ठले युवा पुस्ताको राम्रा कामको प्रशंसा गर्दै अगाडि बढ्न हौसला दिनुहुन्थ्यो । मलाई पनि उहाँले पटक–पटक वैचारिक हिसाबले मभन्दा तपार्इं परिपक्व हुनुहुन्छ भन्नु हुन्थ्यो । बाउ सरहको मान्छेले यसरी मूल्याङ्कन गर्दा निकै गर्व लाग्दथ्यो । अरू बढी काम गर्ने हौसला बढ्थ्यो ।

म उहाँको समय परिस्थिति अनुसार परिवर्तन हुनसक्ने खुबीबाट पनि अत्यन्तै प्रभावित छु । उहाँले समयसँगै आफ्नो जीवन कथालाई पुनर्लेखन गर्न कत्ति पनि हिचकिचाउनु भएन । पटक–पटक पुनर्लेखन गर्दै अगाडि बढ्नु भयो । रिडीको व्यापारिक घरानामा जन्मनु भयो । परम्परागत व्यापारलाई सघाउनु भयो । प्रधानपञ्च भएर राजनीतिमा होमिनु भयो । रिडीबाट पत्रकारिताको थालनी गरेर पाल्पामा आएर त्यसलाई क्लाइमेक्समा पु¥याउनु भयो । प्रेस व्यवसाय गर्नुभयो । पाल्पा जिल्लामै पहिलो पटक कम्प्युटर भित्र्याउने कार्य गर्नुभयो । यी सबै कर्मलाई चटक्कै छाडेर काठमाडौँमा आउनु भयो । सुरुका दिनमा मिडिया र पछिल्ला दिनमा साहित्यमा पनि खास गरेर बालसाहित्यको लेखन, सम्पादन र प्रशिक्षणमा सक्रिय हुनुभयो । उहाँको विशेषज्ञताकै कारणले गर्दा नेपालको राष्ट्रिय सूचना आयोगको प्रथम प्रमुख सूचना आयुक्त बन्ने अवसर पनि प्राप्त गर्नुभयो । समयअनुसार परिवर्तन हुन नसकेको भए उहाँले यति ठूलो सफलता र लोकप्रियता प्राप्त गर्न सक्नु हुन्थ्यो होला र ? यदि जीवनको कथालाई पुनर्लेखन गर्दै उचाइँमा पु¥याउने प्रयत्न नगरेको भए रिडीको एउटा व्यापारी नै भएर उहाँको जीवन बित्ने थियो ।

विनय कसजूको सहकार्यमा हामीले कथा, संस्मरण, जीवनी लेखन र सम्पादन कलासम्बन्धी प्रशिक्षणको आयोजना गरेर सिक्ने कार्य त गरेकै थियौँ । उहाँले महत्वपूर्ण योगदान दिएको विधा लघुकथा पनि हो । मलाई विगत तीन वर्षदेखि उहाँबाट लघुकथा लेखनसम्बन्धी कार्यशालाको आयोजना गर्न पाए हुन्थ्यो भनेर लागिरहेको थियो । मैले यो प्रस्ताव वालवाङ्मय तथा अनुसन्धान केन्द्रमा बारम्बार राखेँ । दुई पटकसम्म मिति नै तोकेर कार्यशाला गर्न भनेर निर्णय पनि गरियो । विभिन्न कारणले ती कार्यशाला तोकेको समयमा हुन सकेनन् । मेरै प्रस्तावमा लघुकथा लेखनसम्बन्धी पहिलो कार्यशाला म कार्यरत शुभकामना एकेडेमीबाटै सुरु गरेका थियौँ । उहाँले मेरो प्रस्तावलाई खुसीसाथ स्वीकार्नु भयो । हामीले विद्यालयका आठ जना शिक्षकका लागि लघुकथा लेखनसम्बन्धी तीन दिने कार्यशाला चलायौँ । त्यसपछि मैले निरन्तर लघुकथा लेखिरहेँ । दसैँ तिहारकोबिचमा लेखकहरूको लागि कार्यशाला गर्ने अवसर जुट्यो । हामीले कीर्तिपुरमा तीन दिने लघुकथा लेखन कार्यशालाको आयोजना ग¥यौँ । त्यतिबेलासम्म मैले ३० वटा लघुकथा लेखिसकेको थिएँ । ती लघुकथा विनय सरले सम्पादन पनि गरिदिइसक्नु भएको थियो ।

जिन्दगीको अन्तिम अन्तिम क्षणतिर आइपुगेको रहेछ र दसैँको सप्तमीको दिन बिहान हामीले एक घण्टासम्म म्यासेन्जर च्याटबाट कुराकानी ग¥यौँ । निकै अनौपचारिक र ठ्टटाको शैलीमा । त्यतिले नपुगेर घरमा बोलाउनु भयो । एघार बजे गएको लगभग दिनभरि गफ ग¥यौँ । उहाँले मेरा दुईवटा चित्रकथा र चालिसवटा लघुकथा सम्पादन गरिदिने । मैले उहाँको लघुकथाहरूको समीक्षासहितको लघुकथाको पुस्तक तयारीको ताकेता गर्ने लगायतका समझदारी पनि ग¥यौँ ।

पछिल्ला दिनहरूमा हामीहरूले दैनिक कुराकानी गरी काम गर्दै गरिरहेका थियौँ । कात्तिक अन्त्यतिर एक दिन बाह्र बजेतिर फोन गरेर “लौ आज तीनवटा लघुकथा सम्पादन गरेर पठाएको छु । अब चालिसवटा पुग्न सातवटा सम्पादन गर्न बाँकी भयो । म अहिले अस्पताल जाँदै छु । साँझ फर्केर सुरु गर्छु । दुई तीन दिनमा सकिएला” भन्नुभयो । मैले सोधे, “हिँड्दै जानुहुन्छ कि ?” “होइन छोराले लाँदै छ” भन्नुभयो । त्यो नै उहाँसँगको मेरो अन्तिम टेलिफोन संवाद हुन पुग्यो । सामान्य चेक गरेर साँझ घर फर्कन्छु भनेर अस्पताल जानु भएको कहिल्यै घर फर्कनु भएन ।

त्यो दिन उहाँलाई स्टार अस्पताल लगिएको रहेछ । अर्को दिन स्वास्थ्यमा थप जटिल भएपछि मेडिसिटीमा लगियो । त्यहाँ २० दिन जति कहिले आई.सी.यू., कहिले भेन्टिलेटर गरी कठिन अवस्थामा उपचार गराउँदा गराउँदै मङ्सिर १० गते उहाँको मृत्यु भयो ।

मेडिसिटी अस्पतालमा म बेलाबेला गइरहेको थिएँ । निरन्तर रूपमा बौद्धिक रूपमा क्रियाशील व्यक्ति निरीह भएर कहिले आई.सी.यू. र कहिले भेन्टिलेटरमा लडिरहेको देख्दा मन नै विरक्त हुने । मलाई विद्यार्थी लिएर चार दिने शैक्षिक भ्रमणमा जानुपर्ने भएकोले मङ्सिर ५ गते अस्पतालमा भेट्न गए । ‘तपाईंले धेरै गर्नुभयो’ भनेर दुई हात जोडेर नुगेर नमस्कार गर्नुभयो । त्यतिबेला भक्कानो छुट्यो, बोल्न गाह्रो भयो । हातले सङ्केत गरेर विदावारी भए । घर पुग्ने बित्तिकै नेत्र तामाङको फोन आयो । “म विनय सरलाई भेट्न गएको थिएँ । बाहिर घुमाउन लानु भएको रहेछ । चोभार डाँडाको सडक देखाएर ऊ त्यो विजयराज आचार्यजी आउने जाने बाटो हो” भनिरहनु भएको थियो भनेर सुनाउनु भयो । मनै अमिलो भयो । ६ गते म विद्यार्थी लिएर शैक्षिक भ्रमण गएँ ।

१० गते काठमाडौँ फर्कदैँ थियौँ । दासढुङ्गा आइपुग्दा गङ्गा मेडमले “विजयजी तपाईं कता ? सरलाई गाह्रो होला जस्तो छ” भनेर भक्कानिँदै फोन राख्नुभयो । एकछिनपछि मञ्जु ज्ञवालीबाट डाक्टरले घोषणा गरिसकेको कुरा थाहा पाएँ । अनि दासढुङ्गाबाट काठमाडौँ पुगुञ्जेल विनय सरसँग सम्बन्धित व्यक्तिहरू, बालसाहित्यकार, सञ्चारमाध्यमका साथीहरू र विभिन्न साहित्यिक सङ्घसंस्थाका व्यक्तित्वहरूलाई खबर गर्दै राति ८ बजे घर पुगेँ ।

११ गते बिहानै घरमा गएर परिवारसित सल्लाह गरेर बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा श्रद्धाञ्जलि र अन्तिम संस्कारको कार्यक्रम गर्ने सल्लाह गरेर पशुपतिमा त्यसको व्यवस्था मिलाउन गएँ । त्यहाँ धेरै, प्रतिष्ठित व्यक्तित्वहरू, मन्त्रीहरू, विभिन्न सङ्घसंस्थाका नेतृत्वमा रहेका व्यक्तिहरू, साहित्यकार र सञ्चारकर्मीको समेत बाक्लो उपस्थितिमा पार्थिव शरीरमा श्रद्धाञ्जलि कार्यक्रम गरेर विद्युतीय शवदामार्पmत् उहाँको भौतिक शरीरलाई त्यहीँ विसर्जन गरेर घर फर्कियौँ ।

त्यसको १५ दिनपछि बालवाङ्मय तथा अनुसन्धान केन्द्र, नेपाल प्रज्ञा–प्रतिष्ठान, राष्ट्रिय सूचना आयोग र नेपाल बालसाहित्य समाजको आयोजनामा प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको थियो । परिवारले एक असल अभिभावक गुमायो, हामीले एक प्रेरणादायी गुरु गुमायौँ, राष्ट्रले एक विशिष्ट सर्जक एवम् चिन्तक गुमायो । सबैले क्षति भएको महसुस गरिरहेका छौँ । मान्छे जन्मेपछि मर्नु प्राकृतिक नियम नै हो । अब उहाँलाई सम्मान गर्नु भनेको उहाँको अपुरो योगदानलाई पूरा गर्नु नै हो ।

“मान्छे त एकदिन अवश्य मर्छ तर उसको विचार मर्दैन” भनेभैmँ विनय सरको भौतिक शरीर मरेर गएको भएता पनि उहाँका सिर्जनाले उहाँलाई हजारौँ वर्षसम्म बचाई रहनेछ । अन्तमा यही भन्न चाहन्छु ः आदरणीय गुरु मलाई थाहा भए जतिका तपाईंका अधुरा सपना पूरा गर्न जीवन पर्यन्त लागिरहने छु ।

(कीर्तिपुर ६, टौदह)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।