14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सोचेजस्तो हुन्न जीवन

संस्मरण/स्‍मृति हरिप्रसाद भण्डारी November 30, 2020, 1:22 am

विनय सरसँग मेरो पहिलो भेट कहिले भयो भन्ने कुरा यकीनसाथ भन्न सक्दिनँ तर उहाँसँग अप्रत्यक्ष रूपमा भेटघाट तथा सम्पर्क हुन थालेकोचाहिँ वि.सं. २०४१ देखि नै हो । त्यो बेला म सडक विभागको क्षेत्रीय कार्यालय, पोखरामा जागिरे थिएँ । पोखरा बस्दा त्यहाँका लेखक साहित्यकारहरूसँग सम्पर्क बढाउँदै थिएँ । त्यस्तैमा एक दिन भूपनिधि पन्तसँग भेट भयो ।

भूपनिधि पन्त सप्तगण्डकी साप्ताहिक पत्रिका चलाउनुहुन्थ्यो ।

वकालत उहाँको मुख्य पेशा भए पनि साहित्यिक क्षेत्रमा उहाँको लगाव थियो । बजारमा निस्केका साहित्यिक पुस्तक किन्नुहुन्थ्यो र गहन तरिकाले अध्ययन गर्नुहुन्थ्यो । मैले काम गर्ने कार्यालयको अगाडि उहाँको डेरा थियो । फुर्सदको बेला उहाँलाई भेट्थेँ । उहाँकी छोरी इन्दिरा पन्तले पकाएको कालो चिया पिउँदै साहित्यिक छलफल गथ्र्यौँ । उहाँको ठेगानामा विभिन्न ठाउँबाट पत्रपत्रिकाहरू आउँथे । यसै सिलसिलामा एक दिन उहाँले मलाई एउटा पत्रिका दिँदै भन्नुभयो, “पढ्नोस्, साह्रै मजाको छ ।”

पुस्तक आकारको उक्त पत्रिका हातमा लिएर हेरेँ, त्यसको शीर्षक थियो सत्य साप्ताहिक । उक्त पत्रिका पाल्पा तानसेनबाट प्रकाशित भएको थियो र सम्पादक थिए विनय कसजू । सरल भाषा, गाउँघरका समाचार, बिचबिचमा साहित्यिक सामग्री, समग्रमा पत्रिका पठनीय थियो । उक्त पत्रिका पढेर म प्रभावित भएँ र उक्त पत्रिकामा कविता छपाउने रहर जाग्यो ।

मनको कुरा भूपनिधि पन्तसामू व्यक्त गरेँ । उहाँले भन्नुभयो, “अवश्य, तपाईंका कविता राम्रा छन्, विनय कसजूले खुसी भएर छाप्छन् ।”

अर्को दिन मैले तीनोटा मुक्तक टाइपका कविता लगेर पन्त सरलाई देखाएँ । कविता पढेपछि उहाँले भन्नुभयो, “आहा क्या राम्रा कविता ! पठाइहालौँ ।”

त्यो बेला ईमेल इन्टरनेटको चलन थिएन । हातले लेखेको प्रतिलाई हुलाकमार्पmत् पठाउनु पथ्र्यो । सकेसम्म राम्रा अक्षरमा लेखेर पत्रिकाको ठेगानामा पठाएँ ।

कविता पठाएको करिब एक महिना भैसकेको थियो । एक दिन पन्त सरसँग बाटोमा भेट भयो । मलाई देख्नासाथ उहाँले भन्नुभयो, “ल बधाई छ हरि सर, सत्य साप्ताहिकमा पठाएको तपाईंको कविता छापिएछ ।”

सत्य साप्ताहिकको वर्ष–२, अङ्क–४३, मिति २०४१ चैत २ गते प्रकाशित तीन टुक्रा शीर्षकको कवितामध्येको एउटा टुक्रा यस्तो थियो ः

सुन्को चेन बनोस् असाध्य बलिया यन्त्रादि सुन्का बनून्

हीराका सब अङ्क भै टिलीटिली मोती जडेरै बलून्

किन्तु दिन्न सही यदि समयता के काम त्यस्तो घडी ?

त्यस्तै बुद्धि विवेक नास्ती नर होस् के काम शृङ्गार गरी ?

जीवनमा पहिलोचोटि छापिएको मेरो रचना यही नै थियो । पत्रिकामा छापिएको कविता देखेर म खुसीले बुरुक्क उफ्रेँ । एक प्रति पत्रिका हातमा समाएर मेरा मिल्ने साथीहरूलाई देखाउँदै हिँडेँ । विनय कसजूको पत्रिकामा मेरो पहिलो साहित्यिक रचना प्रकाशित भएको हुँदा म उहाँलाई सधैँ सम्झिरहन्छु । कतै साहित्यिक अन्तर्वार्ता दिँदा होस् वा आफ्नो साहित्यिक परिचय (वायोडाटा) दिँदा होस् सत्य साप्ताहिक र विनय कसजूको नाम सधैँ जोडिएर आउँछ ।

मेरो साहित्यिक अभियानको जगमा पहिलो ईंटा राख्न मद्दत गर्ने विनय सरसँग भेट गर्ने तीव्र इच्छा हुँदाहुँदै पनि प्रत्यक्ष भेटघाट हुन सकेको थिएन । त्यो बेला अहिलेजस्तो हातहातमा फोन सुविधा थिएन । कसैसँग कुराकानी गर्नु परे पत्र मात्र पहिलो आधार थियो । एक ठाउँबाट अर्को ठाउँमा पत्र पुग्न हप्तौँ ता के महिनौँ दिन लाग्न सक्थ्यो । भेटघाट गर्ने अर्को उपाय नभएको हुँदा हाम्रो भेट सम्झनामा मात्रै सीमित थियो ।

वि.सं. २०५६ मा मेरो म्याग्दी जिल्लाबाट पाल्पा जिल्लाको मालपोत अधिकृत पदमा सरुवा भयो । धेरै वर्षपछि भए पनि विनय सरसँग भेट्न पाइने भयो भनेर खुसीले फुरुङ्ग भएँ । पाल्पा पुगेपछिको मेरो पहिलो योजना विनय सरलाई भेट्ने थियो तर यसचोटि पनि भेट हुन सकेन । उहाँ पाल्पाबाट काठमाडौँ सरिसक्नुभएको रहेछ । मन खिन्न भयो ।

उहाँ पाल्पा छोडेर काठमाडौँ गए पनि उहाँले थाल्नुभएको पत्रिका प्रकाशनसम्बन्धी काम जारी थियो । सत्य साप्ताहिकको ठाउँमा गाउँले देउराली शीर्षकको पत्रिका प्रकाशित हुँदै थियो । त्यसका सम्पादक हुनुहुन्थ्यो अर्का बरिष्ठ पत्रकार मेघराज शर्मा । पत्रिकाको कार्यालयमा जाने र मेघराज शर्मा लगायतका साथीहरूसँग सम्पर्क बढाउने काम जारी राखेँ ।

सुरुमा म कविता लेख्थेँ, पछि कविताभन्दा कथा लेख्न रमाइलो लाग्न थाल्यो । वि.सं. २०४३ देखि त झन् लघुकथा पनि लेख्न थालेको थिएँ । वि.सं. २०४७ मा प्रकाशित चिराग कथासङ्ग्रहमा नौवटा लघुकथा र आठवटा कथा प्रकाशित भएका छन् । यसैबिच मैले विनय कसजूका लघुकथा पढ्ने र लघुकथा लेखनसम्बन्धी धारणा निर्माण गर्ने कामको थालनी पनि गरेको थिएँ । विनय सरसँग भेट्ने, साहित्यिक भलाकुसारी गर्ने र लघुकथा लेखनबारे जानकारी लिने काम भने पूरा भएको थिएन ।

वि.सं. २०६५÷६६ तिर विनय सर राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्त हुनुभयो । उहाँको कार्यालय बिजुलीबजारमा थियो । काठमाडौँ भएको बेला एक दिन उहाँलाई फोन गरेँ र भेट्न चाहेको कुरा गरेँ । उहाँले मेरो प्रस्ताव सहजै स्वीकार गर्नुभयो । लामो प्रतीक्षापछि विनय सरसँग भेट हुने कुराले म निकै खुसी भएँ । मनमा अनेकौँ कुरा खेलाउँदै बिजुलीबजारतिर लागेँ ।

उहाँ आफ्नो कार्यकक्षमा बसेर कम्प्युटरमा केही काम गर्दै हुनुहुन्थ्यो । उहाँको दायाँतिर डेक्सटप र टेबुलमा ल्यापटप थिए । मैले नमस्कार गर्दै आफ्नो परिचय दिएँ । मलाई देखेपछि उहाँ खुसी हुुनुभयो र सबै काम बन्द गरेर मलाई समय दिनुभयो । चिया र खाजा पनि मगाउनुभयो । उहाँले मलाई त्यतिसाह्रो माया गर्नुहोला भन्ने लागेको थिएन मलाई । उहाँको शालिन व्यवहार देखेर म अत्यन्तै प्रभावित भएँ । ‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको बृक्षको हाँगो नझुकेको कहाँ छर ?’ भन्ने कविशिरोमणि लेखनाथ पौड्यालको कवितापङ्ति मनमनै वाचन गरेँ ।

मैले साथमा काला सर्पको खोजी लघुकथासङ्ग्रहको पाण्डुलिपि सँगै बोकेर लगेको थिएँ । विनय सरसँग भेट भएपछि उक्त पाण्डुलिपि उहाँलाई देखाउने र उहाँबाट सुझाव सल्लाह लिने उद्देश्य पनि थियो । केही समयको वार्तालापपछि झोलाबाट पाण्डुलिपि निकालेँ र उहाँको हातमा दिँदै भनेँ, “सरले यसलाई हेरिदिनुहन्छ कि भन्ने आशा गरेको छु ।”

मुस्कुराउँदै उहाँले भन्नुभयो, “ठीक छ । तपाईंका लघुकथा मैले पढेको छु, राम्रा छन् ।”

त्यति बेलासम्म मेरा चिराग (२०४७), अस्वीकृत कथाहरू ! (२०५८) र अविरल यात्रा लघुकथासङ्ग्रह (२०६३) प्रकाशित भइसकेका थिए । गरिमा, मधुपर्क, समष्टि, गोरखापत्र, दायित्व लगायतका पत्रपत्रिकामा फुटकर रूपमा मेरा लघुकथाहरू प्रकाशित भइरहेका थिए । बसाइको क्रममा लघुकथा र बालकथाका बारेमा छलफल भयो । उहाँले मलाई बालकथा लेख्दा राम्रो हुने सुझाव दिनुभयो । करिब डेड घण्टाको बसाइपछि म बिदा भएँ र खुसी हुँदै घरतिर लागेँ ।

पाण्डुलिपि दिएको करिब दुई सातापछि समय लिएर उहाँलाई भेट्न गएँ । उहाँले पाण्डुलिपि हेरेर आवश्यक सुझाव पनि दिनुभएको रहेछ । भेटघाटका क्रममा उहाँले केही लघुकथाको उदाहरण दिएर थप सुझावहरू दिनुभयो । उहाँको सुझाव सुनेर म औधी खुसी भएँ । प्राप्त सुझावअनुसार आवश्यक परिमार्जन पनि गरेँ । उक्त पाण्डुलिपि वि.सं. २०६७ मा साझा प्रकाशनबाट प्रकाशित भयो ।

त्यसपछि विनय सर र मेरो भेटघाट बाक्लै हुन थाल्यो । पछि म उहाँको निवास बल्खु पनि जान थालेँ । गङ्गा दिदीसँग पनि परिचय भयो । उहाँ पनि साह्रै मिलनसार र सहयोगी हुनुहुँदो रहेछ । भेटघाटका क्रममा साहित्यिक गफगाफ हुन्थे । खासगरी लघुकथा र बालकथा लेखनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राख्थेँ । उहाँले सरल भाषामा केही टिप्सहरू दिनुहुन्थ्यो ।

विनय कसजूको सुरुको कार्यक्षेत्र पत्रकारिता रहे पनि पछि उहाँले लघुकथा र बालसाहित्य लेखनमा विशेष स्थान बनाउनुभयो । पछि उहाँकै सल्लाहअनुसार मैले लघुकथाका साथै बालकथा पनि लेख्न थालेँ । विनय सरलाई बालकथा लेखनसम्बन्धी प्रशिक्षण कार्यक्रम चलाउन अनुरोध ग¥यौँ । उहाँ तयार हुनुभयो । यसै सन्दर्भमा बालवाङ्मय तथा अनुसन्धान केन्द्र गठन गर्ने सल्लाह भयो । यसै संस्थामार्पmत पनि प्रशिक्षण कार्यक्रम चल्न थाले । प्रशिक्षणसम्बन्धी धेरै कार्यक्रममा म सहभागी भएको छु । प्रशिक्षण कार्यक्रममा सहभागी हुनेहरूमा डा. चूडामणि बन्धु, प्रा. रामकुमार पाँडे, के.के.कर्माचार्य, प्रमोद प्रधान, नेत्र एटम, गङ्गा कसजू, इन्दिरा दली, अनन्त वाग्ले, एकाराम सिंह, विजयराज आचार्य, मञ्जु ज्ञवाली, शान्ति सापकोटा, श्रीराम राई लगायतका साथीहरू हुुनुहुन्थ्यो । एक दुईटा कार्यक्रममा त डा. सुधा त्रिपाठी र डा. रमेश भट्टराई पनि सहभागी हुनुहन्थ्यो । यसरी सञ्चालन गर्ने प्रशिक्षणमा मुख्य सहजकर्ताको रूपमा विनय सर रहे पनि हामी सबैले व्यापक रूपमा छलफल गथ्र्यौँ । प्रशिक्षणबाट तयार भएका बाल तथा किशोर कथाहरू सङ्ग्रहको रूपमा प्रकाशित गर्ने काम पनि भयो । प्रकाशनको जिम्मा विजयराज आचार्यले लिनुभएको हुँदा हामीलाई सहज भयो ।

प्रशिक्षणकै सन्दर्भमा भारतीय बालसाहित्यकार मनोरफा जफासँग पनि हामीले भेट गर्ने र प्रशिक्षित हुने अवसर पायौँ । उक्त प्रशिक्षण बनेपाको एउटा होटलमा भएको थियो । आवासीय रूपमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बालसाहित्य लेखनसम्बन्धी धेरै कुरा सिक्ने अवसर प्राप्त भएको थियो ।

वि.सं. २०७१ को अन्त्यतिर सरकारी जागिरबाट अवकाश लिएपछि बाँकी जीवन कसरी बिताउने भन्ने विषयमा आत्ममन्थन गरेँ । लामो छलफल र पारिवारिक सहमतिपछि दर्शनाचार्य (ःउजष्)ि र विद्यावारिधि गर्ने सहमति भयो । दर्शनाचार्य गर्ने उपयुक्त विश्वविद्यालय खोज्ने क्रममा नेपाल खुला विश्वविद्यालय भेटियो । त्यसैमा भर्ना भएँ । दुई सेमिष्टरको औपचारिक पढाइ पूरा भएपछि तेस्रो सेमिष्टरका लागि शोधप्रबन्ध लेख्नुपर्ने थियो । शोधप्रबन्ध लेख्ने क्रममा विषय छनोट गर्न निकै तनाव भयो । लघुकथाकै बारेमा अनुसन्धान गर्ने इच्छा थियो । यसै सिलसिलामा अग्रज गुरु प्रा.डा.ताराकान्त पाण्डेयज्यूको सल्लाहका आधारमा विनय कसजूका लघुकथामा व्यङ्ग्य शीर्षकमा अनुसन्धान गर्ने निष्कर्षमा पुगेँ । त्यसपछि भने मन हल्का भयो ।

यो कुरा मैले विनय सरलाई भनेको थिइनँ । भेटेरै कुरा गर्ने विचार गरेँ र फोन गरेर समय मिलाएँ ।

विनय सरको निवासको सोफामा बसेर गङ्गा दिदीले पकाएको चिया पिउँदै कुरो सुरु गरेँ, “एमफिलको थेसिस लेख्ने बेला भयो, त्यसैको तयारी गर्दै छु ।”

“के विषयमा लेख्दै हुनुहुन्छ ?” विनय सरले सोध्नुभयो ।

मुस्कुराउँदै मैले भने, “हजुरकै बारेमा लेख्दा कसो होला ?”

केही समय विनय सर बोल्नुभएन । गङ्गा दिदी नजिकै हुनुहुन्थ्यो, उहाँले भन्नुभयो, “कस्तो राम्रो सोच ।”

केही समयपछि विनय सर बोल्नुभयो, “हुन्छ ।”

उहाँ कम बोल्ने मान्छे, उहाँले ‘हुन्छ’ भनेपछि मलाई साहस आयो । मैले भने, “विनय कसजूका लघुकथामा व्यङ्ग्य शीर्षक राख्दा कसो होला ?”

उहाँले फेरि भन्नुभयो, “हुन्छ ।”

शोधनायक र मेरोबिचमा सहमति भएपछि उहाँसँग भएका सामग्री उपलब्ध गराउन अनुरोध गरेँ । उहाँले इमेलमा हालिदिने आश्वासन दिनुभयो ।

साँझ घर पुगेर ल्यापटप खोल्दा नयाँ ईमेल आएको सङ्केत देखियो । खोलेर हेरेँ, विनय सरले पठाएको इमेल रहेछ । त्यसमा उहाँले पशुतन्त्र र लिस्नो लघुकथासङ्ग्रहका बारेमा अरूले लेखेका भूमिका तथा समीक्षा पठाउनुभएको रहेछ । उहाँले ती सबै सामग्री स्क्यान गरेर राख्नुभएको रहेछ ।

प्रा.डा.ताराकान्त पाण्डेयजस्तो विद्वान् तथा अनुभवी शोधनिर्देशक र विनय कसजूजस्तो सहयोगी शोधनायक पाएपछि म औधी खुसी भएँ । अनुसन्धानको काम सहजै पार लाग्छ भन्ने कुरामा म पूर्ण आशावादी भएँ ।

काम भइरहेको थियो । यस्तैमा एक दिन विनय सर बिरामी भएर मेडिसिटी अस्पतालमा भर्ना भएको जानकारी आयो । विनय सर ओपनहर्ट सर्जरी गरेको व्यक्ति, गङ्गा दिदी पनि बेलाबेला बिरामी भइरहने दीर्घरोगी । औषधीका भरमा बाँचेका जिन्दगी ।

‘कतै विनय सरलाई केही भै हाल्यो भने !’ मन अशान्त भयो । त्यो बेला म काठमाडौँमै थिएँ, दौडेर अस्पताल पुगेँ । गङ्गा दिदी र बाबुहरूसँग भेट भयो । दिदीले भन्नुभयो, “आज अलि बिसेक भएको छ । मलाई भेट्न को को आए भनेर सोध्दै हुुनुहुन्थ्यो । आईसीयूबाट बाहिर निकालेको छ ।”

दिदीका कुरा सुनेपछि मन अलि शान्त भयो । तैपनि उहाँलाई भेट्न मिल्ने अवस्था थिएन । त्यसैले केही समय दिदीसँग कुरा गरेँ र स्वास्थ्यलाभको कामना गर्दै दिदीलाई सान्त्वना दिएर घर आएँ ।

केही दिनपछि बुटवल आउनु थियो । बुटवलमै थिएँ । वि.सं. २०७६ मङ्सिर १० गते ‘साहित्यकार विनय कसजूको निधन’ शीर्षकको समाचारमा आँखा पुगे । आपूm बसेको जमिन भासिएजस्तै भयो । सुरुमा पत्यार लागेन । विजयराज आचार्य र प्रमोद प्रधानलाई फोन गरेँ । उहाँहरू दुवैले भारी मनले उक्त समाचारलाई पुष्टि गर्नुभयो ।

‘विनय कसजूका लघुकथामा व्यङ्ग्य’ शीर्षकको शोधप्रबन्ध मूल्याङ्कनको चरणमा छ । सोच्छु, ‘त्यसको एक प्रति विनय सरका हातमा दिन पाएको भए !’

यो बेला मलाई दिनेश अधिकारीको शब्द, नातिकाजीको सङ्गीत र तारादेवीको स्वरमा सजिएको गीतको सम्झना भइरहेको छ ः

सोचेजस्तो हुन्न जीवन

सम्झेजस्तो हुन्न जीवन

जस्तो भोग्यो उस्तै हुन्छ

देखेजस्तो हुन्न जीवन ।

(तिलोत्तमा– ८, रूपन्देहीं)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।