19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जुनको रामकहानी

कविता इन्दिरा चापागाईं November 30, 2020, 7:34 am
इन्दिरा चापागाईं
इन्दिरा चापागाईं

मलाई सुन्दर देख्छौ

सायद आफ्नो पहूँच नपुगेर हुन सक्छ

नियालेर हेर त

मुहारभरी छन् मेरा पीडाका धब्बाहरु

तिम्रा करेसाबारीमा

कर्कलाको पातभरी टप्पेका मोतिदाना

मेरा विषादका थोपाहरु

असह्य पीडा छ, म भित्र पनि

बादलले सहँदैन म फुलेको,फलेको

पटक पटक ढाकिदिईरहन्छ मेरो उज्यालो

कहिले आधाभएर बाँच्छु त

कहिले चौथाई भएर बचाउँछु आफ्नो अस्तित्व

कहिले त भाग्न मन लाग्छ ब्रह्माण्डदेखि नै

अनि अलप हुन्छु कृष्णपक्षभर

हाय!'औँशीको रात' भन्दै

अन्धकारमा एक्लै रुन्छौ तिमी

सृष्टिको नियम हो

धर्तिमा झर्न सक्दिन

आकासको विनियम हो

सक्दिन निलगगनमै मर्न पनि

चाहान्छु सूर्यसँगै सहयात्रा गरुँ

तर मनमौजी ऊ,छोडेर हिड्छ अर्कै बाटो

सायद उसको लक्ष बेग्लै छ

अन्धकारमा आफैं मार्ग कोर्छु र

घिसारिरहन्छु एक्लो जीवनयात्रा

लड्छु,उठ्छु र फेरि पूर्ण हुन्छु,पूर्णिमाको लागि

‘आहा! पूर्णचन्द्र’ भन्दै आल्हादित हुन्छौ तिमी

‘आहा !चाँदनी रात’ भन्दै प्रफुल्लित हुन्छौ

त्यसैले,

पीडा-दुख पिएर पनि

प्रयास गर्छु खुशी देखिने

तिम्रो जस्तै त हो

मेरो रामकहानी।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।