हराएको शहर

लघुकथा मनिश कुमार शर्मा समित November 30, 2020, 1:42 am

बुढा बालाई प्रायः त्यो भग्नावशेष मन्दिरमा देखिरहन्थे । अग्लो स्थानमा रहेको त्यो मन्दिरबाट उदास र मलिन अनुहारमा उनी सधै अग्ला–अग्ला कंक्रीट महलहरूले सुशोभित शहरलाई निहाली रहन्थे । उनी कतै केही खोजिरहेको जस्ता देखिन्थे । कौतुहलताले म उनलाई सोध्न पुग्छु “बा तपाईंलाई प्रायः यहीँ केही खोजिरहेको देख्छु के खोज्नु भएको बा ? “

“म मेरो शहर खोजिरहेको छु ।“ उनले मलिनताको साथ जवाफ दिए । मैले आशय बुझ्न सकिन र एक टकले उनलाई हेर्न थाले । मेरो भाव बुझेर होला उनले भन्न थाले -

“मेरो शहर घना जंगल तथा पहाडको बिचमा रहेको अति नै सुन्दर थियो । मानवता र उदारतामा परिपक्वता । छरछिमेकमा ऐंचो पैंचो गरी मीठो मसिनो खाने चलन थियो । विपत्‍ घडीमा सहयोगी हातहरू थिए । स्वच्छ र सुन्दरताले भोकले निन्याउरो परेको अनुहारमा मन्द मुस्कान खुल्थ्यो । हेर्दा हेर्दै एकाएक यो शहर यहाँबाट गायब भयो ।

“ट्याँट्याँ–टुँटुँ गरिरहेका सवारीका लाम, फोहोर, बिग्रिएका सडक र अस्तव्यस्त व्यवहार, हत्याहिंसा, छुवाछुत यी घिनलाग्दा प्रवृतिले कूरूप भयो । चहक हराउँदै कहर बन्दै गयो । रथको हो कि रगतको जात्रा छुट्याउन नसकिने भयो । विभिन्न तरिकाले सम्पत्तीजोडि ठुला महलमा विषाक्त श्वास फेर्दै, सामाजिक संजालमा पोष्ट गर्न व्यस्त मानव आकृतिहरू देखिन थाले । अनि कहिल्यै नभेटिने गरि मानवताका पक्षहरू विलिन भए ।“

“आज मेरो शहर विशाल अनन्तता बिचमा कतै हराएको छ । मेरो आवाज मेरो पुकार कतै बिलाउँछन । धुलो, धुवाँ र कोलाहल, यो डरलाग्दो खन्डहर, मठ मन्दिर बिच हीनताबोधले मेरो वात्सल्य खोजिरहेको छु । मेरो आफ्नोपन खोजिरहेको छु ।“

बुढा बाको सोचाइको परिधि देखेर म नि:शब्द थिएँ । ‘कतै कालान्तरमा शहर झैं मेरो गाउँ पनि हराउने त हैन ?’ प्रश्नहरु मष्तिस्कमा मडारिन थाले । अचानक मेरा पाइला फटाफट चल्छन् । एक दृढ सोचाइ लिएर ‘म मेरो गाउँ शहर झैं हराउन दिने छैन ।‘

ठिमी, भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।