14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

बोकाको मन

हास्यव्यङ्ग्य काशीनाथ मिश्रित November 30, 2020, 1:52 am
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

बाख्री बुढीको कोखमा जन्मिएपछि पर्सिए पनि नपर्सिए पनि बोको । खसी पारेनन् भने म नमरुन्जेल बोको । आफ्नो स्वार्थका निम्ति मीठो मासु खान मान्छेले मलाई खसी बनाएर पाल्छ । आखिर बोको भएपछि कालगतिले मर्न पाइने होइन । औषधी नै नलाग्ने रोग लागेर ठहरै भए मात्र नत्र यो जुनी कालगतिले मर्दैन । देवीदेवताको नाममा बली चढाएर होस् वा वनभोजमा चबाएर होस् यो ज्यान मान्छेले नै लिन्छ । जस्तोसुकै मीठो घाँस र दानापानी दिएर पोसे पनि आफ्नो भँुडीकै निम्ति गर्छ मान्छेले । अरू त परै छाडौं, त्यो दुर्गन्धित दिसा निस्कदै गरेको आन्द्रासमेत पखालेर खान्छ मान्छेले । मलाई त लाग्छ मेरो जन्म केवल मान्छेकै आहाराका खातिर भएको हो । देवीदेवता छन् भन्ने विश्वास गर्छ उसले र मलाई बली दिन्छ तर मेरो बली चाहिने देवता छन् भन्ने मलाई पटक्कै लाग्दैन । नत्र त मन्दिरबाट निस्किएर उनैले मलाई मार्नु पर्ने ! मान्छेले रेट्छ अनि उसैले आहार गर्छ ।

मेरो खुशीले न म खान सक्छु न हिंड्न नै । मलाई मान्छेकै निम्ति जन्म दिएको हो । खानपिन र हिंडडुलमा मात्र होइन पत्नीसँग सम्भोग गर्न पनि म मान्छेद्वारा नै नियन्त्रित छु । यतिसम्म कि म र मेरी प्रियसीबीच स्वतन्त्र प्रेम सम्भव छैन । हाम्रो देश बिस्तार गर्न मान्छेले दिनुपर्छ । मलाई मेरी पत्नीसँग सहवास गरेवापत मेरी पत्नीको मालिकले भाडा तिर्नुपर्छ । बस्, म जन्मदै बोको न परें या त बली चढाइन्छु या अरूकै नियन्त्रणमा बाख्रीहरूसँग सहवास गराइन्छु । आखिर खुकुरीकै रेटाइबाट मृत्यु हुन्छ ।

मानिसहरू हाम्रा कृत्रिम शत्रु हुन्, प्रकृतिक शत्रु त बाघ, भालु, ब्वाँसो, बँदेलजस्ता जन्तु हुन् । यिनीहरूले हाम्रो आहार गर्नु त स्वाभाविकै हो तर मानिसले टुत्र्mयाएर हाडसमेत बाँकी राख्दैन । हाम्रो जाति नै उन्मुलन भएपछि के गर्लान् यिनीहरू ? त्यसो त हाम्रो मासुले मात्र नपुगेर कुखुरा भैंसी र चोंचेजस्ता प्राणी पनि लुछ्न पछि पर्दैनन् । बरु मैले गर्व गर्नुपर्छ मासुमध्ये हाम्रो मासु श्रेष्ठ हो । सर्वोत्तम र महँगो पनि हाम्रै मासु पर्छ । मान्छे पनि कति अदूरदर्शी छ कुन्नि, उनीहरूलाई यो थाहा छैन कि हाम्रो लोप भएपछि हाहाकार हुन्छ भन्ने । खाँदाखाँदै एक न एक दिन हामी लोप हुन्छौँ । हाम्रो शेषपछि कुखुरा, पाडा, चोंचे, हाँस, कुकुर सबै मासु सिद्धिन्छ । त्यसपछि आफ्नोअनुहार मिल्ने बाँदरको पालो आउँछ । यसै गरी सबै जनावरहरूको अन्त्य हुन्छ । त्यतिखेर यो पृथ्वीको घाँस खाने केही हुने छैन । या त घाँस मान्छेले आफैं खानुपर्छ या आगो लगाउनुपर्छ । सोचेको छैन उसले त्यतिखेरको वातावरण कति कहाली लाग्दो होला । मलाई अर्को कुराको पनि गर्व छ । अर्काको उपकारका निम्ति म ज्यान दिन डराउन्न । ‘परोपकार पुण्याय पापाय पर पीडनम्’ भन्ने उक्ति ममा शतप्रतिशत लागू भएको छ । मान्छेले केवल हत्या मात्र गर्छ । परोपकार हामी गरिरहेका छौँ । म चोक्टाचोक्टा भएर कति जनाको पेटमा पुग्छु ठेगान हुँदैन । विवाह होस् या वनभोज, ठूलाठूला होटल हुन या ससाना भट्टीपसल, म जताततै हुन्छु । म नभए आजका पाहुनाको सत्कार हुँदैन । म आफूले सोमरस सेवन गर्न नपाए पनि मसँग ऊ पनि साथी भएर हिंड्छ । त्यस्तो धमाका मच्चाउन सक्ने वस्तु मेरो साथी हो भन्दा हर्षित हुन्छु ।

म र मजस्तै अन्य मासुका निम्ति प्रयोग भइरहेका प्राणीहरूको अन्त्य भएपछि बाघ, भालुहरूको आहारा मान्छे नभएर अरू के नै हुन्छ र ? त्यो पनि विचार गर्दैन मान्छे । दुःख लाग्छ यो शाकाहारी प्राणीलाई यी सर्वहारी मान्छेले सिध्याए भने प्रकृतिले मान्छेलाई नै बली माग्नेछ । बलीको बोको म होइन, ऊ नै हुनेछ । गौतम बुद्ध भन्ने एउटा ज्ञानी मानिस जन्मियो भन्छन् । उसले चलाएको अहिंसाको उपदेश खै आजका मान्छेले मानेको ? बुद्ध त नजन्मेकै भए वेश हुने थियो, उसको ज्ञान अरूलाई काम लागेन, अरूले त्यो पालना गरेनन् ।

मेरो पनि शरीर छ, आत्मा छ, मन छ अथवा सबैथोक छ । बरु बढ्ता तिम्रोभन्दा बढी पुच्छर अनि सिङ छ । भलै बुद्धि तिम्रोजति नहोला तर याद गर दुखाइ त तिम्रोमेरोे बराबर नै हो । तिम्रोजस्तो भाषा नहोला तर दिल त मेरो पनि छ । मलाई पनि पूरा आयु ज्युन मन लाग्छ । तिमी बिरामी भए औषधी गर्छौ, मलाई भने... । थाहा छ मलाई थोरै तलमाथि प¥यो भने तरबार तयार पारिहाल्छौ ।

सिङ र पुच्छर भएकाले हामीलाई जनावर भन्छौ तर तिमीहरूको अदृश्य सिङ र पुच्छर कति खतरा छ गहिरिएर विचार गर त । हामी दाम्लाले बाधिएपछि त्यसकै अधीनमा रहन्छौँ तर तिमीहरू दाम्लो छिनालेर मन्द्राउँछौ । त्यसो त तिमीहरूको र हाम्रो दाम्लो फरक छ । तिमीहरू आफ्नो दाम्लो आफै बाट्छौ, हामी सक्दैनौँ । मैले सम्झाउन खोजेको के मात्र भने तिमीहरू सधैँ कानुनको उलङ्घन गर्छौ, मर्यादा नाघेर काम गर्छौ, नियम मिच्छौ त्यसैले हिंसातिर लाग्छौ । हामी हिंसा गर्दैनौं । मलाई तिमीहरूले काटे पनि म तिमीहरूभन्दा परोपकारी छु ।

मेरो मन तिम्रो कम्प्युटरभन्दा पनि छिटो छ । तिमी नपुगेको ठाउँमा म पुगें । म मान्छे मात्र भरिएको त्यस्तो ठाउँमा पुगें जहाँ पशुपक्षी केही छैनन् । कल्पना गर त त्यो ठाउँ कस्तो होला । तिम्रो भावी पिढीले अनुभव गर्नेछ किनकि हामीलाई बध गरेर तिम्रा शाखासन्तान बढिरहेछन् । अब हामी अटाउने ठाउँ नै यस पृथ्वीमा कहाँ होला र ? हामी बस्ने र चर्ने ठाउँ पनि तिम्रो हितका लागि सडक, हवाइमैदान आदि बनाएर सिद्धिने भए । अझ बढ्ता त घना वस्ती भएको सहरतिर महगो दाममा बेच्न लैजान्छौ दिनदिनै मलाई । गाउँतिर हाम्रो उठिबास भइसक्यो । कहिलेकाहीं चराउन लैजाँदा बाघले छोप्यो भने मात्र हाम्रो प्रकृतिक मृत्यु होला अन्यथा हुँदैन । आखिर म बाख्री बुढीको सन्तान न परें । न त म बोलेको तिमी बुझ्छौ न मेरो व्यथा नै । साक्षात् भगवान् नै प्रकट भएर अबदेखि बोका नकाट भने पनि मान्दैनौ तिमी ।

मेरो नीलो रगत भए कुरा बेग्लै हो । तिमीहरू भने जातीय समानताका लागि रातो रगतको एक मात्र मुद्दा अघि सार्छौैै । आखिर हाम्रो पनि रगत रातै छ नि कहिल्यै सोचेका छौ ? यो पनि विचार गर्नुपर्छ रातो रगतका आधारमा तिमी जातीय विभेद अन्त्य गर्छौ भने हामीलाई पनि पशुअधिकार चाहिन्छ । बडो मानवअधिकारको गुड्डी हाँक्छौ । आखिर तिमीहरूको जातीय विभेद रगतले छुट्याउँदैन, संस्कारले छुट्याउँछ बुझ्यौ ? तिम्रो आफ्नै संस्कार र सभ्यता घिनलाग्दो छ । यो कुरा गर्दा मप्रति तिम्रो हेराइ टेढो पर्ला, परे परोस् !

तिमीमा जस्तो धनी–गरिब, पुरुष–महिला, गोरे–काले, छूत–अछुत, साङ्ग–अपाङ्ग, हिन्दू–मुस्लिमजस्ता तमाम भेद–उपभेद हाम्रा छैनन् । हामी त सबै समान । हामीबीच पानी बाराबार चल्दैन । आखिर काटिनु र काटिएपछि चाटिनु हाम्रो नियति हो । तिमीहरूको जस्तो अन्याय हामी कसैबाट भएको छैन र हुन्न पनि । निर्धालाई दबाउने त मानवीय प्रवृत्ति हो । तिम्रो दाम्लाबाट मुक्त हुने हो भने हाम्रो आफ्नै स्वतन्त्र संसार छ । हामी त सबै मिलेर बस्छौं । तिमीहरूको जस्तो अर्काको रगत चुुसेर हामीलाई धनी बन्नु छैन । कसैलाई बास नदिएर गगनचुम्बी महल बनाउनु छैन । बस्, प्रकृतिले दिएको घाँस खायो बस्यो । अहिले त जेलमा परेको कैदीझैं अड्कलेको मुठी खानु परेको भएर पो लुछाचुँडी गर्नुपरेको ! तिमीलाई भने गर्नु नगर्नु गरेर जेल बस्दा पनि चाँडो रिहा हुन हतार हुने, हामी चाहिं सधैं मृत्युदण्डका भागिदार ! छोडिदेऊ अब हामीलाई पनि । हाम्रो पनि त बाँच्न पाउने अधिकार होला नि ? के यो पृथ्वी मान्छेका लागि मात्र हो ? यदि हो भने पनि त्यो कदापि हुन सक्दैन, ल देखाएर हेर त । कति बकबक ग¥यो यो बाख्री बुढीको नाति भनौला । गर्नै पर्ने भएकाले बकबक गरेको हो । हाम्रो बोली तिमी बुझ्ने होइनौ क्यारे ! मलाई बुद्धि नभएको, कामुकजस्ता संज्ञा दिन्छौ तिमी । हो, म बाख्री बुढीको नाति मात्र नभएर पोइ पनि हुँ । म कामुक छु । मलाई सम्भोग गर्न नाताले छेक्दैन तर देखेका छौ मलाई कहिल्यै एड्स भएको ? म मेरो जाति बाहेक कसैसँग यौनसम्पर्क गर्दिन । उखान त तिमीले नै बनायौ क्यारे ‘भेडा भेडासँग बाख्रा बाख्रासँग’ भन्ने । उता तिमीहरू एड्सको महामारीले ग्रस्त छौ । यौन स्वतन्त्रता हामीमा छ बरु । तिमी भने मान्छे नपाए हाम्रा दिदीबहिनी पनि बलत्कार गर्छौ । मैले नै देखेको छु । तिमीले कहिल्यै मैले तिम्रा दिदीबहिनी बलत्कार गरेको देखेका छौ ? दिन र रात सँगै नभएजस्तै तिमी बाँचुन्जेल हामीले मर्नुपर्छ । त्यसैले चित्त बुझाएको छु । हामीलाई एड्स छैन, तिमीहरूलाई मात्र छ भनेर ।

हामीहरू नकाटिने र मानिसबाट नचाटिने समय नजिकै आउने छ । त्यसैले अहिले म मर्नु परे पनि मेरा भावी पुस्ता सुरक्षित छन् । म मेरा साथीहरूलाई सान्त्वना दिने गर्छु, ‘हेर साथी हो, हामी जति कामुक भए पनि हामीलाई एड्स छैन, एड्स त मान्छेलाई मात्र छ । दक्षिण अफ्रिकामा आधासरि एड्सबाट ग्रसित भइसके । यो मानिसमा जताततै फैलन्छ किनकि मानिस यौन संवेगमा हामीभन्दा नीच जात हो । त्यसैले ढुक्क होऊ, एक न एक दिन यो संसारका मान्छे एड्सले सिद्धिनेछन् । त्यो दिन हामीले यसरी दाम्लामा बाँधिनु पनि पर्ने छैन र अचानामा रेटिनु पनि पर्ने छैन । जाबो लोप हुन आँटेको बाघले त कतिलाई पो खाला र ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।