14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

लकडाउनमा साहित्य र साहित्यमा लकडाउन !

निबन्ध चेतनाथ कणेल हरित November 30, 2020, 2:04 am

२०७६ चैत १० गते ‘जनभावना’ साप्ताहिकको अनुभूति स्तम्भमा हाच्छिउँ र कोरोना साहित्य शीर्षकमा मेरो आलेख प्रकाशित हुँदा मैले भनेको थिएँ– कोरोना हाम्रो देशमा आइसकेको छैन, तर आउने सम्भावना प्रबल छ, हालसम्म चीन र इटालीलाई कोरोनाले बढी सताएको छ, इटालीमा करिब ४ हजार र चीनमा करिब ३ हजार ३ सय जनाले ज्यान गुमाइसके । रोगको संक्रमण १८० देशमा फैलिइसक्यो, र, मानिस मर्ने क्रम अन्य देशमा पनि क्रमशः बढ्दै छ । यसको भयावहताले नेपाललाई पनि तर्साएको छ र बढी आवतजावत रोक्नैपर्ने अवस्था आएको छ । आदि आदि ...... ।

नभन्दै चैत ११ गतेदेखि लागू हुनेगरी सरकारले देशभर लकडाउन (बन्दाबन्दी) घोषणा ग¥यो । हामी एकान्तबासमा गयौँ । घरघरमा नै थुनियौँ । सिमानाहरू बन्द भए, उडान र यातायातका साधन बन्द भए । आन्तरिकरूपमा सम्पूर्ण आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, मनोरञ्जनमूलक कार्यक्रमहरू ठप्प भए । एकापसका भेटहरू बर्जित भए । घरबाहिर निस्कन होइन, आँगनमा निस्कनसमेत डर लाग्यो । सहरी क्षेत्रमा झन् मानिसको जीवन निष्क्रियतामा बित्न थाल्यो । आज करिब एक सय पच्चीस दिनपछि सम्झँदा हरेक कुरा ‘हो र ?’ ‘भएका थिए र ?’ जस्तो लाग्छ । आफैँलाइ विश्वास लाग्दैन । विश्वास लागोस् पनि कसरी ? अहिलेसम्म विश्वका सम्पूर्ण अर्थात् २१५ भन्दा बढी देश÷राज्यमा नै कोरोनाको संक्रमण पुगिसक्यो, विश्वभर साढे ६ लाखको ज्यान गइसक्यो, करिब पौने २ करोड मानिस संक्रमित बन्न पुगेका छन् । संक्रमण हुने क्रम दैनिक ३ लाखसम्म छ । तथ्याङ्क अचम्मैले बढेको–बढ्यै छन् ।

नेपालमा पनि कोरोनाका कारण मर्नेको संख्या करिब ५० को हाराहारीमा पुग्यो, संक्रमित करिब १९ हजार पुगे । यी सबै हामीले नसोचेका कुरा हुन् । स्थिति कता जाने हो, मर्ने मानिसको सङ्ख्या कति पुग्ने हो, त्यो कुरा सबै अनिश्चयको गर्भमा नै छ । सजगता र सचेतता बढाउनुबाहेक हामीसँग अर्को विकल्प छैन ।

साउन ७ गतेदेखि लकडाउन खुलेको छ । तर मान्छेका मन खुलेका छैनन् । सबै कुरा खुलेका छैनन् । आशंक, भय र भ्रमहरू पनि खुल्न सकेका छैनन् । विश्व स्वास्थ्य संगठन नै बेलाबेलामा अचम्भित हुने गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि घरि मास्क लगाऊँ भन्छन्, घरि नलगाऊँ भन्छन्, विचार र व्यवहारमा एकरुपता छैन । यी सबे अनिश्चयका प्रतीक र विम्ब हुन् । नेपालमा पछिल्लो समयमा समुदायमा पनि संक्रमण बढ्ने हो कि भन्ने भय बढिरहेको छ । उता भारतमा दैनिक करिब आधा लाख मानिसमा संक्रमण देखिनु, मर्नेको संख्या ३० हजारबाट उकालो लाग्नुले ‘खुला सिमानामा रहेको हाम्रो देश नेपालमा पनि त्यो लहर आउने त होइन ?’ भन्ने डर पनि बाँकी नै छ ।

लकडाउनमा पनि सिर्जना रोकिएन !

यस आलेखमा मैले कोरोनाको विश्वव्यापी विस्तार, प्रसार, प्रभाव, चिन्ता र चिन्तनको विस्तृतिभन्दा पनि लकडाउनको बेला पनि नेपाली साहित्यकारहरूले कलम र कम्प्युटर चलाउन छाडेनन्, साहित्य लेख्न छाडेनन्, झनै सिर्जनशील पो बने भन्ने सन्दर्भमा केही लेख्न खोजेको हुँ । हो, नेपाली साहित्यकारहरूले समसामयिक विषय पक्डेर कोरोना र लकडाउनकै विषयमा झन् धेरै साहित्य सिर्जना गरे यो लकडाउन समयमा । यही कुरा छोटकरीमा उठान गर्न खोजेको हुँ ।

लकडाउनका समयमा कोरोना–कहर, भय, त्रास, पीडा, चिन्ता, चासो सबै सबै उधिनेर स्रष्टाहरूले हजारौँ कविता, गजल, मुक्तक, हाइकु, कथा÷लघुकथा, निबन्ध लेखेर अनलाइनका पर्दा भरे, फेसबुक तथा अन्य सामाजिक सञ्जालका भित्ता सजाए, कथंकदाचित छापिने गरेका पत्रपत्रिकामा समेत त्यस्तै रचनाले स्थान पाए । मेरो आफ्नै कुरा गर्दा पनि यो चार महिनाको समयमा करिब दर्जनजति त साहित्यिकमात्रै रचना सिर्जना गरेँ । तीमध्ये धेरैजसो प्रकाशित भए, कतिपय फेसबुकका भित्तामा गए । अझै एकाध टाइप हुनै बाँकी छन्, डायरी र कापीका पानामा छन् । जसमध्ये आधाभन्दा बढी लकडाउन वा कोरोना साहित्मै केन्द्रित छन् ।

मजस्ता सयौँ साहित्यकार छन् यहाँ, जसले कम्तीमा पनि दर्जनभन्दा बढी रचना यो लकडाउन अवस्थामा सिर्जना गरेका छन्÷ ‘सेयर’ गरेका छन् । कतिपय स्रष्टाहरूले त ५० कै हाराहारीमा लेखेको अनुमान छ । लगभग एक, दुई दिनमा ती स्रष्टाका नयाँ रचना फेसबुक भित्ता तथा अनलाइन साहित्यका पर्दामा देख्न पाइयो । र, यो समय ‘जुम’ साहित्य पनि निकै फस्टायो । कतिपयले पैसा नै तिरेर जुमको अनलिमिटेड टाइम लिए, कतिपये ४० मिनेटको समय–सीमा र ५० जनाको सहभागी–सीमामा रहेर ‘होस्ट’ गरे । म आफैं पनि दर्जनभन्दा बढी जुम साहित्य गोष्ठीमा सहभागी भएँ । धेरै होस्टेहरूलाई मैले पनि हैँसे गरिदिएँ । साथीहरूको उत्साह, समर्पण र नवसिर्जनशीलता देख्दा कसले ‘नो’ भन्न सक्दोरहेछ र ? फलानो लिङ्कमा आउनुहोला भनेर मेसेज आइहाल्छ, अनि ‘जोइन’ गर्नैप¥यो । फेरि लकडाउनको समयले दिक्क पारेको बेला यस्ता सिर्जनशील क्षेत्रमा समय दिनु भनेको आफैँमा एक ‘सत्कार्य’ र ‘सर्वहिताय’ कुरा हो भन्ने सत्य–सन्दर्भले पनि हामी स्रष्टाहरू ‘कन्भिन्स’ थियौँ । चैत, वैशाख, जेठतिर लेखिएका तिनै रचना अहिले पढ्दा र सुन्दा आफैँलाई दिव्यानुभूति हुँदोरहेछ । आफैंभित्र विनोदानुभूति हुँदोरहेछ । मैले के गरेँ त भनेर एकपटक फर्केर हे¥यो भने कमसेकम तिनै रचनाको पवनले शीतलता दिँदोरहेछ । आफैँबाट सिर्जित जीवनक्रमका अमूल्य सूर्य–चन्द्र, दीपक, प्रकाश, रत्न, मणिजस्ता लाग्दारहेछन् ती । अन्त जान नपाए पनि साहित्यको तीर्थ र धाम त पुगिएछ भन्ने लाग्छ । केही नभए पनि केही त गरेँ भन्ने भाव आफैँभित्र उत्पन्न हुँदोरहेछ । ‘पुस्तक पढ्ने र सिर्जना गर्ने मानिसलाई समय कहिल्यै धेरै हुँदैन’ भन्ने विश्वव्यापी महत्वको उक्तिको सान्दर्भिकता र सामिप्य यसपटकको एकसय बीस दिने लकडाउनमा आफैँलाई पूर्ण लागू भएजस्तो अनुभूति भयो ।

मान्छे समय र नियतिमा चल्ने एक प्राणी ! मान्छे विधि र विधानमा खेल्ने एक प्राणी ! बस्, साहित्यकारहरूले पनि यही कुराको आत्मसात गरे । आफूलाई सिर्जना, सेयरिङ र कमेन्टिङमा व्यस्त राखे । साँच्चै भन्ने हो भने कोरोना–कहरका हरक्षणका अनुभव र अनुभूति साहित्यकारहरूले शब्दमा उतारे । कतिपय कलाकारले पनि कलामा उतारे । सिर्जना जारी छ ।

साहित्यकार एस्पी कोइरालाले कोरोना–कहर आरम्भ हुने बेलैतिर ‘कोरोनेश्वर’ शीर्षक दिएर लेखेको कविता मेरो मनमा ताजा छ । यता यही समयमा स्रष्टा सरु गुरागाईँ बैनी मिठो लयमा कविता वाचन गरेर युट््युबमा चम्किन् । लकडाउनअघि उनको नाम पनि नसुनेको म यतिबेला उनको ‘फ्यान’ भइरहेको छु । ममात्र होइन मेरो पूर्ण घरपरिवार उनको ‘फ्यान’ बनेको छ । कोरोना–कहरका बारेमा विभिन्न व्यक्तिले लेखेका थुप्रै थुप्रै कविता मिठो लय र स्वरमा स–सङ्गीत वाचन गरेर उनले युट्युबमा राखेकी छन् । त्यस्तै मनिषा भट्टराई बहिनीले पनि थुप्रै स्रष्टाहरूका रचना वाचन गरेर छोटाछोटा भिडियो युट््युब (रेज मिडिया) मा राखेकी छन् । मैले आफैँ हेर्न र पढ्न नपाएका यस्तै यस्तै कति स्रष्टा होलान् ? पछिल्लो समय जुम–गोष्ठीका समेत सबै भिडियो क्लिप्सहरू युट्युब र फेसबुकमा राखिदिने गर्नाले साहित्यानुरागीलाई धेरै सहज भएको छ । गद्यभन्दा छन्द कविताले युट्युबमा बढी बजार लिने कुरा भने नकार्न मिल्दैन । तर छन्दमा राम्रा कविता लेख्ने कवि एकदम कम संख्यामा रहेको कुरा पनि यहाँ भन्नैपर्छ ।

सबै साहित्यकार विविध ढंगले कोरोना–कालभर व्यस्त रहे, व्यस्त रहँदैछन् । साहित्यकार विधान आचार्य यो समयमा यही साहित्य संयोजन गर्ने काममा धेरै नै व्यस्त रहनुभयो । मेचीदेखि कालीसम्मका साहित्यकारहरूलाई जुमीकरण गर्न अभ्यस्त हरनुभयो । सञ्चारकर्मी तथा लेखक राजेश खनालसँगको एक वार्तालापमा वरिष्ठ साहित्यकार माया ठकुरी दिदीले भन्नुभएछ, ‘मैले घरमै एकान्तबास फेला पारेँ, तपोवन फेला पारेँ ।’ ‘तपोवन’मा दिदीले धेरै कथाका ‘प्लट’ तयार पार्नुभएछ !

अन्त्यमा,

साँच्चै भन्ने हो भने लकडाउनको बेला, घरभित्रै थुनिएको बेला, एकान्तबासमा हराउनुपर्ने बाध्यता आइलागेका बेला झन् धेरै साहित्य सिर्जना भयो । र, साहित्यमा कोरोना महामारी, लकडाउन, क्वारेन्टाइन, आइसोलेसनजस्ता विषयलाई साहित्यकारले यथेष्ट ठाउँ दिएका छन् । लकडाउन सकिए पनि साहित्यमा अब कोरोना र लकडाउनका कुरा निरन्तर समेटिइरहने छन् । ‘कोरोनासँगै बाँच्न सिकौँ’ भन्दै आजकाल हामीले भट्याइरहेका छौँ । आखिर सँगसँगै बाँचेपछि साहित्यमा पनि सँगसँगै स्थान दिँदै जानुपर्छ नै । आखिर साहित्य भनेको ‘समाजको ऐना’ न रहेछ ! अन्त्यमा, उदाहरणार्थ, लकडाउन सकिनेबित्तिकै साहित्यकार वासुदेव अधिकारीले ‘बन्दाबन्दीलाई आखिरी सम्बोधन’ शीर्षकमा कविता कोरेर फेसबुक पेजमा सजाएका यी केही पङ्क्ति उद्धृत गर्दै आजको लेखनीको बिट मार्न चाहन्छु ः

प्रिय बन्दाबन्दी,

हामीलाई थुन्यौ पनि

छाम्यौ पनि/जान्यौ पनि

भय पकायौ/भोक चखायौ

बेरोजगार बढायौ/धेरै सिकायौ/धेरै बुझायौ

सचेत पारी पारी

हामीलाई लुते बनायौ !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।