14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

बंकरभित्रको प्रेम

कथा विमल लामिछाने November 30, 2020, 2:11 am
विमल लामिछाने
विमल लामिछाने

विद्रोहको विगूल बजेको थियो । गाउँमा युवाहरु भेटिन छाडेका थिए । समाज रुपान्तरणकालागि भनिएको वर्गीय आन्दोलन उत्कर्षमा थियो । त्यो बेला वर्गीय मान्छेहरुले गाउँलाई टेकेका थिए र शहरलाई ताकेका थिए । गाउँ गाउँमा परेड खेल्दै हिड्ने राता मान्छेहरुको समूह बाक्लै भेटिन्थ्यो । आन्तरिक सुरक्षालागि प्रतेक सेक्सनले निश्चित एरीयालाई कभर हुनेगरि बंकर बनाएर सेक्यूरिटी राख्ने नियमै थियो राता मान्छेहरुको । प्रत्येक रात सेक्यूरिटीको रोटेसन भइरहन्थ्यो । आफ्ना साथी र दुश्मन चिन्न सजिलो होस भनेर सेक्यूरीटीका सेक्सन कमाण्डरले कासन र पासवर्ड बनाएर सोही अनुसार सर्कूलर गर्ने नियमै रहेछ ।

त्यसदिनको कमाण्ड भने रविताको थियो । रविता रक्तिम बसेको बंकरमा पासवर्ड पुर्याउन जाँदा पहिलो पटक रक्तिमसँग बंकरभित्र भेट भयो । भेट भएदेखि नै रविताले रक्तिमलाई मन पराउन थालेकी थिइन् । शरिरमा टिमिक्क मिलेको सैन्य ड्रेस, देब्रे काँधदेखि घुँडासम्म पुग्ने राइफल भिरेको, अग्लो, गोरो, सुन्दर, अत्यन्त मिलेका दाँत, हल्का जुँगाका रेखी र मनमोहक मुस्कान । त्यो सुन्दर मुस्कानकै माझबाट निस्कने मधुरतम बोलीले कमरेड रविता ! भनेर बोलाएको आवाजले रवितालाई हरपल झस्काइरहयो ।

रक्तिमले पनि रवितालाई भेटेपछि मनमनै कल्पिए, ओहो ! कति राम्री र फस्र्याइली युवती । यिनलाई प्यार गर्न पाउने भाग्यमानी बाबुको छोरो को हुँदो हो ? यो प्रश्न मनको एक कुनामा नमेटिने ट्याटु भएर बसिरयो । हुन त रक्तिम रुपसँगै गुणमा पनि अब्बल थिए । आँट, साहस र हिम्मतले पूर्ण थिए रक्तिम ।

बंकरको पहिलो भेटपछि भने दुवैको कार्यक्षेत्र सँगसँगै जस्तो बन्यो । संयोग भनौ उनीहरुको जीम्मेवारीपनि सँग जस्तो हुँदै गयो । समान हैसियतका भइसकेका थिए दुवै । एकले अर्कालाई नजिकैबाट नियाल्ने अवसर दुबैले पाउँदै गए । कति पटक त ब्याटल पनि सँगै लडे । तरपनि त्यस्तो अवसर मिलेन, जहाँ मनभरीको भावना साट्न र आँखा चिम्लिएर गर्लम्म अँगालो हाल्न पाइयोस् ।

रविता रक्तिमप्रति हुरुक्क हुँदा हुँदैपनि खुलेर भन्न नसकी धेरै महिना विते । समयले यौवनका खुड्किला चढ्दै गयो । तरपनि साँस्कृतिक विचलनको लक्ष्मण रेखा तोड्न सकेनन् उनीहरुले । आरोह अवरोहमा छचल्किँदै गए मनभित्रका कुण्ठित प्यार र तृप्तिका उत्तेजनाहरु । हार र जितका युद्ध श्रृखला झै उत्तार चढाभमै रहे दुबैका आपसी योजनाहरु । फक्रिन पाएनन् प्रेमिल मनका कोपिलाहरु ।

जसरी वरिपरिका चियाबुट्टे डाँडाहरूका रुखहरूले कयौँ चोटी पतझर बेहोरे, कयौँ चोटी नयाँ पालुवाहरू पलाए, त्यसरी नै रक्तिम र रविताको प्रेमिल मनमापनि बहार पतझरपछिको बसन्त झै पाउलो फेर्दै गयो । तरपनि रविताले रक्तिमलाई पहिलेको रुपमा बदलिएको देखिनन् । उस्तै देखिन, उस्तै आकर्षक र हेन्डसम । मात्रै देख्थिन् सुन्दर र सदाबहार मुस्कान, उनीप्रतिको धुमधामको चाहना अनि असिम सम्भावना ।

द्वन्द्वात्मक भौतिकवादको माक्र्सवादी जीवन पद्धतितिर उन्मुख हुँदै रहँदा र लालसैन्य जीवनका आन्दोलनहरूबिचपनि रविताले मनमा भएको रक्तिमप्रतिको आकर्षण मत्थर गराउन कदापी सकिनन् । सँधै सँधै रक्तिमप्रतिको चाहनाले उनलाई पिरोलिरह्यो । उनको मनले भन्छ, हुन त माक्र्स पनि त कुनै बेला प्रेममा परेकै थिए । प्रेम त गर्छु वा गर्दिनँ निर्णय गरेर योजना बनाएर हुने पनि त होइन । बस्, अन्तरमनको साह्रै चोखो र गोप्य कुनाबाट प्रस्फुटित भावना हो प्रेम भनिन्छ । अनि मेरो प्रेमलाईचाहीँ ब्यस्तताभित्रको लालसैन्य जीवनले छेक्छ त ? मनमनै प्रश्न गरिन् । अँहँ छेक्तैन । रक्तिमप्रतिको आकर्षणले मेरो जीवनलाई केही उज्यालो, केही उत्साहपूर्ण, केही पूर्ण र धेरै अर्थपूर्णपनि बनाइदिएको छ । तर मेरो मनको प्रेमले आँखाको बाटो हुँदै उसको मनमा पस्ने कहिल्यै मौका पाएन । उनलाई देखेकै दिनदेखि आफ्नो मनको एक कुना कहिल्यै मेरो आफ्नो पनि हुन सकेन । मेरो मनको बंकरमा सधैँ उनैले कब्जा जमाएर बसे । अब म अठोट गर्छु, कमरेड रक्तिमसँगको प्रेमलाई पूर्णता दिएरै छाड्छु ।

उनको अठोटसँगै समयलेपनि साथ दिँदै गयो । एउटा ब्यारेक आक्रमणकालागि बंकर, सुरुङ र टनेलसम्बन्धीको सैन्य तालिममा दुबैजना प्रशिक्षकको रुपमा छानिए । एकहप्ताको कार्यक्रमकाविच रक्तिम र रविताविच घनिष्टता बढाउने अवसर मिल्यो । तालिम सकिएको दिन साँझ त्यही बंकरकै डिलमा बसेर तालिमको समिक्षा गर्दैथिए दुबै कमाण्डर । समिक्षपछि रविताले यही समयलाई आफ्नो बहसमा पार्न सोचिन् । रविताले यही सुनसान समयलाई अवसरको रुपमा लिइन् र त्यही बंकरलाई साक्षी राखेर प्रेम प्रश्ताव गरिन् ।

रक्तिमपनि रविताप्रति नतमस्तक भइसकेकै थिए । उनको कमाण्ड शैली, हाउभाउ, फर्साइलो पन र सहयोगी भावनाप्रति आकर्षित भइसकेका थिए रक्तिम पनि । रुपमा पनि रविता कम थिइनन् । रविताको प्रेमप्रश्ताव अस्वीकार गर्नै सकेनन् रक्तिमले । दुबैले कस्सेर हात मिलाए र एक अर्काको अँगालोमा बेरिए । वर्गीय भावनाभित्रको प्रेमलाई दुबैले लगतै कमाण्डमा जानकारी पनि गराए ।

०००

जन अदालतमा उनीहरुको प्रेम प्रस्तावमाथि दावी विरोधको समय सीमा तोकियो । कसैको दावी विरोध नपरेपछि उनीहरुलाई विवाहको बाटो खुल्ला गरिएको जनअदालतले फैसला सुनायो । करिब ३ महिनाको अन्तरालपछि त्यही बंकरबाट शुरु भएको प्रेम प्रस्तावले अबभने पूणता पायो र विवाहमा परिणत हुने भयो । युद्ध मैदानभित्रै उनीहरुले राइफल साटासाट गरेर विवाह गरे । जनबादी विवाह । रविता र रक्तिम आपसमा जीवनसाथी हुन पुगे । आफ्नै छनोट र सैन्यघेराभित्रको खुल्ला प्रेमको परिणाम छातीमा बोकेर जीवनको शाश्वत सत्यलाई अपनाएर उनीहरुले नयाँ यात्रा तय गरे ।

विवाहअघि मनोवैज्ञानिक धरातलमा एक–अर्कालाई स्वच्छ प्रेम गरिरहेका प्रेमी–प्रेमिका जब पति–पत्नीमा परिणत हुन्छन् तब व्यवहार पनि प्रेमी–प्रेमिकाको होइन, पति–पत्नीकै हुनुपर्ने हो, तर समय उनीहरुकालागी प्रतिकूल थियो । मात्रै विचारको स्कुलिङमा अढेको थियो सबैको मन र उनीहरुको पनि । परिवर्तनका पक्षधरले प्रतिकूल समयलाई अनुकूल बनाएर अघि बढ्नुपर्छ भन्ने स्कुलिङबाट आएका दुवैले मन मिचेर भएपनि आदर्शका पछि लाग्नुको विकल्प पनि त थिएन ।

कमाण्डमा उनीहरुलाई २ दिनको विदा दिने निर्णय भयो । अलि पारीको एकान्त गाउँमा उनीहरुको सेल्टरपनि तोकियो । साथीहरुले खाने र बस्नेको चाँजोपाँजो पनि मिलाइदिए । तर उनीहरुलाई हनिमुन, डेटिङ, भिजिटिङ जे नाम दिएपनि समय भने मात्र दुई दिनको थियो ।

प्रेम भनेको प्रेम हो । चाहे बंकरको होस् या महलको । यसमा कुनै प्रतिष्पर्धाको पनि जरुरत पर्दैन । प्रेम न पहिलो हुन्छ न दोस्रो । जब कसैको कसैसँग प्रेम हुन्छ त्यहाँ सुन्दर सपनाहरूको परिकल्पना अवश्य हुन्छ । प्रेममा स–साना कुरामा पनि खुसी मिल्छ । जीवन जिउने चाहना बढ्छ र प्रेमजोडीहरूले वर्तमानका लागि मात्र नभएर भविष्यका लागि पनि सुन्दर सपना सजाउँछन् । हिउँद महिनाको अति रोमान्टिक साँझमा, अझ भनौँ जुनेली रात र झ्याउकिरीको संगितमय त्यो साँझ श्वछ हावा चलेको खुल्ला र सुनसान त्यो रातभरि उनीहरु आपसमा रहे । यौवनको पहिलो सिँडीदेखिकै उनीहरुको अतृप्त मन, शरीर र आत्माले अपार सन्तुष्टि महसुस गर्यो । त्यो एउटा अविस्मरणीय रातले रवितालाई आमा बन्ने बाटो खुलाइदियो ।

०००

विदाको समय सकिएकै दिन दुवैजनाले आ–आफ्नो कमाण्ड समाले । योजना अनुसार उनीहरु एउटा ब्यारेक आक्रमणको तयारीमा जुट्नु थियो । छुट्टा छुट्टै आर्कबाट ब्यारेक आक्रमणको तयारी भयो । एउटा टिमको कमाण्ड रक्तिमले गरेका थिएभने अर्को टिमको कमाण्ड रविताले गरेकी थिइन् । यो योजनामा रक्तिमको टिमका ३ जनाको फष्ट एक्सनमा नै ज्यान गयो । तर कमाण्ड डग्मगाएन । दुबैको सक्रियता र कुशलताकाविच योजना सफल भयो । दुबैले आफ्नो बचेको टिम सहजताकैविच फर्काउन सके ।

लगत्तै अर्को एक्सनकोलागि रक्तिमको कमाण्डमा टोली खटियो । तर यो पटकभने रक्तिम फर्किएनन् । ..... .... .... रक्तिमको यो खवरले रवितालाई ठूलो घात भयो । रविता हरपहल रक्तिम सम्झिरहन्छिन् । तर रवितालाई समयले न मज्जाले रुन दिएको थियो, न विछोडको घडीमा तड्पिननै । समय थियो त अर्काकै बहसमा थियो । मात्र रविता समयको सारथी थिइन् । समयसँगै रवितामा रक्तिमको नासो पनि बढ्दैथियो । यस्तो अवस्थामा पनि रविताले कमाण्डको योजना र जिम्मेवारीलाई भने कदापी छोडिनन् ।

अब रविता आमा हुने समय भइसकेको थियो । रविताले बन्दुककै दोहोरीविच बंकरभित्रै छोरो जन्माइन् । जसको नाम राखिन् रवि । रविको रुपमात्र नभएर गुणमा पनि झलझली रक्तिम झल्किन्थ्यो । हुर्किदै गए रवि । रविलाई सबैले सहिदको छोरो भन्थे । रविपनि बाबुजस्तै साहसी छन् । उनी बाल सेनामा भर्ती भए ।

रविता आफ्ना सन्तानको यो बालापनको चन्चले स्वभाव देख्दा तार तार रक्तिमलाई झल्झली सम्झिन्छिन् । विगतका दिनहरुले उनलाई सताइरहन्छ । तर उनलाई परिवारबारे चिन्ता गर्ने फुर्सद छैन । अब उनको वर्गमुक्तिको विद्रोह र वर्गीय आन्दोलनको यात्रामा रक्तिमको अधुरो सपनापनि थपिएको छ । उनले पिरोलिएर आफुलाई खोक्रो बनाउनु भन्दापनि अझ साहस बटुल्नु छ । उनका कमाण्डरहरुले पनि पटक पटक उनलाई यही भनिरहन्थे — ‘शोकलाई शक्तिमा बदल्नुपर्छ कमरेड’ ।

अहिले रविताको कमाण्ड बदलिएको छ, उनको दर्जापनि बढेको छ । उनले अब थप जिम्मेवारी सम्हाल्नु पर्नेछ । उनकै कमाण्डमा अब ‘फाइनल टु फिनिसको लडाईं’ लड्ने उच्च कमाण्डमा योजनापनि बनिसकेको छ । उनलाई सैन्य फोर्सको कमाण्डर बनाएको छ । उनकै कमाण्डमा टोली अघि बढ्छ । रविताले जिम्मेवारीलाई कहिल्यै कम आँकलन गरेर बेवास्ता गरिनन्, यो पटक पनि उनी पछि हट्ने कुरा उनमा आएन ।

रविताले सबै सेक्सनका कमाण्डरहरु बोलाएर आन्तरिक तयारीमा जुट्न निर्देश गरिन् । सम्पूर्ण आन्तरिक तयारी सकिएपछि रविताको टोली ‘फाइनल टु फिनिसको लडाईंमा’ अघि बढ्छ । रविताको कुसल कमाण्ड यो पटक पनि पूर्ण सफल भएर पर्किन्छ, तर रविता आफु भने घाइते भएर फर्किन्छिन् । लडाईंको अन्तिम समयमा उनलाई आफ्नै साथीबाट छुटेको गोली पाखुरामा लाग्छ र घाइते हुन्छिन् । उनले समयमा र सहज उपचार नपाउँदा दाहिने हात सदाकोलागि गुमाउनुपर्छ ।

अब उनी घाइते योद्धा बनेकी छन् । उनले हात गुमाएर भएपनि दिएको जिम्मेवारी भने पूरा गरेरै छाडिन् । यो पटकको एक्सनले राष्ट्रिय तहल्का नै मच्चाइदिएको छ । देश नै तहस नहस बनाइदिएको छ । मुलुकमा परिर्वतनको संकेत देखिन थालेको छ । गाउँ गाउँबाट मान्छेहरु ब्यवस्था परिवर्तनकालागि लामबद्ध भइसकेका छन् । सडक र कुना कुनाबाट जुलुस निस्कन थालेपछि ब्यवस्था परिवर्तन हुन्छ ।

भूमिगत रहेका नेताहरुले खुल्ला मञ्चमा घाँटीले थाम्न नसक्ने गरि माला पहिरन्छन् र राज्यको बागडोर सम्हाल्छन् । देशभर दिपावली हुन्छ । रवितापनि मनभित्रको अँध्यारो छिपाएर भएपनि दिपावलीमा सामेल हुन्छिन् । विगत विर्सदो रहेछ समयले । अब रविता दिनदिनै ओझेल पर्दै जान्छिन् । विजयको उज्यालो भन्दापनि जीवनको अँध्यारो पाटोलेनै बढी थिचेको अनुभव गर्छिन् रविता । रविताले छोरो रविलाई खोज्छिन्, रवि खोइ कुनि कता अर्केतिर भूमिगत भएका छन् रे ।

अब रवितासँग रक्तिमले साटेको मायाँको चिनोपनि गुमिसकेको छ । आफ्नो भन्ने फगत एउटा चिज छ, जो जीवनभरी उनले बोकेको झुत्रे वान पोलरको झोला र झोलाभित्र चिटिक्क पारेर फे्रम गरिएको रक्तिमको फोटा । यही झोला बोकेर आजपनि रविता सडकको किनारामा एउटा हात हल्लाउँदै भोको पेट भर्ने कोषिस गरिरहेकी छन् धेरै दिन र वर्षदेखि । उनको कानमा ठूलो आवाज गुञ्जिन्छ, ‘आज शहिद दिवस । कमरेड रक्तिमको बलिदानी दिवस’ । हातमा रातो झण्डा बोकेका युवाले ठूलो श्वरमा भने– हामी सबैले सहिदको सम्मान गर्नुपर्छ .....। अरु सबैले हो मा हो, थपेर जय जयकार गरे । नजिकै चौतारीमा केही लाल ध्वजाहरु फहराईरहेका थिए । ध्वजाहरुका विचमा रक्तिमको फोटो टाँगिएको थियो । केही सुकिला र नौला अनुहारहरुले रक्तिमको वीरगाथा बोले, रक्तिमको बलिदानीले हिजोलाई आज बनाएको सुनाए र प्रशंसापनि गरे । उनले छेउमा बसेर सुनिरहिन् । रविताले रक्तिमको फोटो हेरिन, श्रदाले शीर झुकाइन्, उनलाई झलझली याद आयो हिजोका दिनहरुको । सम्झिन् रक्तिमले पहिलोपटक कमरेड रविता ! भनेर बोलाएको । क्यामराको रिल घुमेझै घुमिरयो बंकरभित्रको प्रेम र रक्तिमसँगको विगत । मनमा अटुट बगिरयो कहिल्यै नभुल्ने बंकरभित्रको प्रेम, बंकरमाथिनै बन्दुक साटेर खाएको कसम र जनबादी विवाह, रक्तिमसँगको अन्तिम भेट अनि रक्तिमका अधुरा सपना... । आँखा रसाइरहे । उनलाई लागिरहेछ, मुलुकको ब्यवस्था फेरियो तर अवस्था फेर्न बाँकी नै छ ।

झापा नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।