14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

निन्दक मित्र चाहियो

हास्यव्यङ्ग्य कृष्ण प्रधान December 2, 2020, 11:20 pm
कृष्ण प्रधान
कृष्ण प्रधान

अर्काको भएभरको दोष बखान्नेलाई निन्दक भनिन्छ । कुनै व्यक्ति वा वस्तुको खोट देखाउने काम गर्छ निन्दकले । निन्दकहरू प्रत्येक गाउँ-घरमै झरीका च्याऊजस्तै पाइन्छन् । "कसैलाई के को धन्दा के को धन्दा; घर-ज्वाइँलाई खानुकै धन्दा" भनेजस्तो निन्दक स्वाभावा व्यक्तिलाई निन्दा गर्ऩ स्याउँ-स्याउँती भइराखेको हुन्छ । कथङ्कल एक दिन कसैको निन्दा गर्न पाएऩ भने विचरा निन्दक महोदयलाई रातभरि निँद्रै लाग्दैन । अर्काको बानी-बेहोराको अनावश्यक चर्चा गर्नु, अर्काको अनावश्यक खोजीनिधि गर्नु, चियोचर्चा गर्नु आदिजस्ता बानीहरू निन्दकको पहिलो खुराक हुन् । आफ्नो आङमा भैंसी हिँड़ेको नदेख्ने तर अर्काको आङमा जुम्रा हिँड़ेको टाढ़ैबाट देख्ने स्वाभाव हुन्छ निन्दकको । यो एकजना अब्बल निन्दकमा हुने गुण हो ।

अर्काको निन्दा गर्ने बानी कहिल्यै बिसेक नहुने रोग हो । यो गाड़े घाउजस्तै हुन्छ । अवचेतन मनमा एकपल्ट निन्दाको एक थोपा पनि रस पस्यो भने उक्त मनभित्र निन्दा गर्ने प्रवृत्ति गुहूमा सप्रिएको मूलाजस्तै झाँङिएर जान्छ । संसारका कुनै डाक्टर, धामी-झाँक्री, योगी-साधु, फेदाङ्बा-वैद्य, बड़े-बड़े वैज्ञानिक आदिले बिसेक पार्न सक्तैन । यसैकारण ता निन्दकहरूले अर्काको निन्दा गर्ने ठाउँ र दाउ खोजिरहेका हुन्छन् । आफूमात्रै ठिक अरू सबै बेठिक ठान्छन् यी निन्दकहरू । अर्काको निन्दा गर्न हरहमेशा आतुरिरहने निन्दकहरूका मुख जहिले पनि स्याउँ-स्याउँ चिलाइरहेको हु्न्छ ।

आफ्ना दौंतरीहरू वा समकालिन साथीहरूले उन्नति र प्रगति गरेर कहाँ-कहाँ पुगिसके तर यी निन्दकहरू आफू भने भत्केको गाड़ी ग्यारेजमा थन्केजस्तै गाउँ-घरमै थन्केर बसेका दृश्य सुठीसाह्रै टिठलाग्दो देखिन्छ । आफ्नै सहकर्मीहरू आफूभन्दा माथिल्लो तहमा पुगेका देख्ता अवचेतन मनभित्रको सुसुप्त तिरस्कारले आफैलाई कोपर्नुसम्म कोपर्छ, चिथोर्नुसम्म चिथोर्छ यी निन्दक पार्टीहरूलाई । सोही तिरष्कारलाई अवचेतन मनभित्रबाट फुत्तै बाहिर निकाली मिल्काउऩुलाई नै निन्दक आफ्ने आँतका सहकर्मीको बद्ख्वाइँ गर्न जुर्मुरिन्छ । यसले निन्दकलाई सामान्य सञ्चो भए पनि निन्दाको हाउगुजीले हजारौंपल्ट मरेर पनि बाँच्ने प्रयास गरिरहेको देखिन्छ । जीवनमा आफूले ठ्याम्मै केही गर्न नसक्ने हुतिहारा निन्दतकले नै अरूको निन्दा गरेर आफ्नो बहुमूल्य समय खेरो फालिरहेको हुन्छ । यसै र निन्दकहरूले अहर्निश एउटा पराजित जिन्दगी बिताइरहेका हुन्छन् ।

यो संसारमा निन्दकको शिकारमा निन्दित नहुने व्यक्ति विरलाकोटि पाइएलान् । सृष्टिको आरम्भदेखि नै हाम्रा देवी-देवताकै पालादेखि लिएर राजा-रङ्क आदि सबै-सबै निन्दित भएका इतिहास साक्षी छ । सत्यको पक्ष लिई असत्य मास्ने विभिषणलाई हामी आदर्श पुरूष मान्छौं तर तिनका समाजका सन्तान-दर-सन्तानले विभिषणजस्ता सत्यावादी पुरूषको बदख्वाइँ गरेनन् होलान् ? निन्दादेखि कोही पनि अमर छैनन्, हुँदैनन् पनि ।

निन्दकहरूको कामै ता अर्काको निन्दा गर्नु हो । अरू ता जाने पो गरोस् । काग करायो भन्दैमा पिना घरभित्रै गुम्साएर राख्नु भएन । कुकुर भुक्दैमा हात्ती पलेँटा कसेर बस्ने कहाँ हो र ? अचेलका हात्तीहरूले कस्ता-कस्ता फारसै थर्काउने पटेका गर्जनलाई नटेरी पटेकावालहरूकै अन्नबाली हाकाहाकी स्वाहा पारिदिन्छन् भने नाथे कुकुरको भुकाइलाई सूँढ़को रौं जति पनि नमान्नुपर्ने । यसकारण तपाईको निन्दा मात्रै गरिरहने निन्दकलाई तपाईले पनि कुकरकै जेरक्स ढुक्कैले ठान्दा पनि कुनै टुटा पर्दैन बरू नाफै हुन्छ । यति हो तपाईको निन्दा गर्नेको निन्दकको कुकुरजस्तो पूच्छर मात्र हुँदैन । पूच्छर छैन ता के भयो ? एकजना निन्दकले तपाईको ढुक्कैले निन्दा गर्छ भने तपाईले तिनको पूच्छर भएको नै कल्पना गरिदिनोस् न ! के पो बिग्रिन्छ र कल्पना गर्दा ? तर निन्दकसित सेखी गर्न उल्टो उनको बदख्वाइँ चाहिँ ठ्याम्मै नगर्नुहोला । लाखेस ! कुकुरले क्र्याप्पै भन्दैमा तपाईले पनि साटो फेर्न कुकुरलाई नै क्र्याप्पै पार्नुभयो भने ता नारायण गुहू र गोबरमा फरक नै कहाँ रह्यो र ?

कुनै निन्दकले तपाईको निन्दा गर्छ भने फ्री स्टाइलले निन्दा गर्न दिनोस् । अर्काको निन्दा गर्दा-गर्दा झुराझुरी भइसकेका दुइ सय ग्राम गिदीका मालिकबाट प्रवचनको आशा कसरी कुन आशा लिएर गर्नु ? अर्काको निन्दा गर्नु बाहेक एकजना अरू केही जानेकै हुँदैन । तिनको मनको भूगोललाई निन्दाकै जलवायुले प्रभावित पारेको हुन्छ । तपाईले गरेका उन्नति र प्रगति देखेर डाह-ईर्ष्या-आह्रिसले निन्दक दोब्रिएर, थिचिएर, नेप्टो-च्याप्टो, ङालाक्-ङिलिक् भएको देख्नुभएको छ के ?

तपाईको निन्दक तपाईको खाँटी प्रेरणा हो । आफू काम गर्ने कार्यालय वा गाउँ-घरमा कुनै निन्दक मित्र भइदिएनन् भने तपाईको उन्नति र प्रगतिमा लु साँच्चै 'एम्बार्गो' लाग्छ । तपाईले गरेका उन्नति र प्रगति तपाईको अहर्निश परिश्रम र

यसकारण आफूलाई जहिले पनि बाघजस्तै ठान्नुपर्छ अनि माननीयनिन्दक मित्रलाई बिरालो । बाघ बसेको ठाउँमा बिरालोको महत्त्व होला र ? तपाईका सहकर्मी र कुनै पनि गाउँले निन्दक छन् भने तिनलाई नबिझाउनुहोस् । यसबारे हेनतेन नभनेर धम्मपदको निम्न अंश यहाँ राख्न चाहन्छु -

"पोराणमेतं अतुल ! नेतं अज्ज तना मिव ।

निन्दन्ति तुण्हीमासिनं निन्दन्ति बहुभाषिनं ।

मितभाविणनम्चि निन्दन्ति नरिथ लोके अनिन्दितो ।। 227।।"

अर्थात् (हे अतुल ! यो पुरानो कुरो हो, आजको होइन । चुपो लागि बस्नेको पनि निन्दा हुन्छ, धेर बोल्नेको पनि निन्दा हुन्छ, कम्ति बोल्नेको पनि निन्दा हुन्छ, संसारमा यस्तो कोही छैन जसको निन्दा हुँदैन ।)

अर्को,

"न चाहु न च भविस्सिति न चेतरहि विजति ।

एकन्तं निन्दितो पोसो एकन्तं वा पखांसितो ।। 228।।"

अर्थात् (यस्ता व्यक्ति जसको प्रशंसै-प्रशंसा मात्र वा निन्दै-निन्दा न भएको छ न हुनेछ।)

यसकारण तपाई कुनै पनि निन्दकद्वारा निन्दित हुनुहुन्छ भने डराउने र सुर्ताउने काम छैन । निन्दक मित्रलाई तपाईको शत्रु वा विरोधी ता ठान्नै भएन । कवीर दासले भनेकै छन् -

"निंदक निपरे राखिए, आँगन कुटी छवाय ।

बिन पानी साबुन बिना, निर्मल करे सुभाव ।।"

अर्थात्, (निन्दकलाई हेलचेक्र्याइँ नगरी घरकै आँगनमा बस्ने ठाउँ दिनोस् । यसले ने नाफा हुन्छ भने तिनले तपाईको जति निन्दा गर्छन् तपाईले आफूलाई उति नै सुधार्ने मौका पाउनुहुन्छ ।)

हाम्रा राजनैतिक नेताहरूको भाषामा निन्दाकै मात्रा धेर पाइन्छ । निन्दामाथि नै यी नेताहरूलाई शोधकार्य गर्न दिए हाम्रा नेताहरू सबैले यतिञ्जेल महाविद्यावारिधि उपाधि हासिल गरिसक्ने थिए । तर अफशोस् ! हाम्रा विश्वविद्यालयतिर निन्दामाथि शोधकार्य गर्ने प्रावधान भने छैन ।

खासै कुरो गर्नु हो भने, हाम्रा नेताहरू विपक्षी नेता साथीहरूको निन्दा गर्न जति सिपालु छन्, उनै विपक्षी नेता साथीहरूको निन्दा सुन्न उति नै हरूक्कै छन् । यसैले ता हाम्रा नेताहरूले लाटा-सिधा-निमुखा जनता-जनार्दनका सुख-सुविधाप्रति ध्यान नदिएका हुन् । विकासप्रति कुनै चासो नदेखाएका हुन् । जनता-जनार्दनहरू नेताको निन्दा गर्न वाध्य भएका छन् । कारण, आश्वासन दिए अनुसार हाम्रा नेताहरूले जनता-जनार्दनलाई सुखै-सुख उपलब्ध र गाउँ-घरमा व्यापक विकास गरिदिएका हुँदा हुन् ता जनता-जनार्दनले नेताहरूको निन्दा गर्ने प्रश्नै आउने थिएन । यी जनता-जनार्दनले नेताहरूको सदैव निन्दा गरून् भनेरै हाम्रा नेताहरूले जनता-जनार्दन र विकासपट्टि घ्यान नदिएका हुन् । किनभने हाम्रा नेताहरू जनता-जनार्दनको निन्दा सुन्दा-सुन्दा थेत्तर भइसकेका छन् ।

तर म पो अभागी रहेछु । मेरो ता भाग्य नै खोटो । मेरो भाग्यमा निन्दक मित्र कहिल्यै जुरेन । मेरा सबै मित्रहरू मेरा प्रशंसकहरू मात्रै छन् । हामी मिलेर एउटा छुट्टै "पप्रप" (परस्पर प्रशंसा परिषद्) नामक संस्था गठन गर्दा पनि हुन्छ । तर मलाई ता प्रशंसक मित्र भन्दा पनि निन्दक मित्रकै सख्त खाँचो छ । मलाई फोस्रो प्रशंसा होइन कटु निन्दा नै जरूरी छ । किनभने कसैको फोस्रो प्रशंसा मान्छेलाई बगरको ढुङ्गाजस्तै बनाउँदोरहेछ । मेरा प्रशंसक मित्रहरूको फोस्रो प्रशंसाले म गजक्क र मसक्क हुनुबाहेक अऱ केही गर्न सकेको छैन । कसैको फोस्रो प्रशंसाले आफूले गर्नुपर्ने उन्नति र प्रगतिमा गतिलो वाधा पुऱ्याउँदोरहेछ भन्ने कुरो मैले छ्याङ्ङै बुझिसकेको छु । प्रशंसाले मान्छेलाई धृतराष्ट्र नै बनाउँछ । म पनि धृतराष्ट्र जतिकै भइसकेको छु । प्रशंसक मित्रहरूको खैराते प्रशंसामा गजक्क र मसक्क भएर अनि पात्तिएर, फुर्के भएर ग्यास बेलुनजस्तै माथि माथि मात्रै विचरण गर्ने भइसकेको छु । अहिले बुझ्दा मलाई ता प्रशंसक मित्रभन्दा पनि एकजना सशक्त, खप्पीस निन्दक मित्रकोको सख्त आवश्यकता परेको छ । कारण प्रशंसक मित्र खास अनि खाँटी शत्रु हुन् भने निन्दक मित्र चाहिँ खास मित्र....उन्नति र प्रगति गर्न हुटहुटी लाउने सञ्जीवनी बुटी ।

जीवनमा उन्नति र प्रगति गर्नु हो भने, अनिवार्य रूपले निन्दक मित्र चाहिन्छै-चाहिन्छ । मेरो खोट देखाउने, मेरो बद्ख्वाइँ गर्ने, मेरा भूल-त्रुटीहरूको हिसाब-किताब राख्ने निन्दक मित्र झट्टै चाहिएको छ मलाई ।

निन्दक मित्रको आवश्यकता छ मलाई । मेरो निन्दाको नालीबेली केलाउन बुती भएका कोही मित्र छन् भने मेरो निम्न ईमेलमा झट्टै सम्पर्क गर्ने सविनय अनुनय गर्दछु । त्यस्ता निन्दक मित्र पाएको खण्डमा ढुङ्गा खोज्दा देवतै भेटेको ठान्नेछु ।

पुछारमा, फेरि पनि के सूचित गर्न चाहन्छु भने मलाई झट्टै एकजना जण्डा निन्दक मित्र चाहियो, झट्टैभन्दा झट्टै चाहियो ।

सिलगढ़ी, उत्तर बङ्गाल (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।