17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जिन्दगीका लागि मार्गदर्शन

निबन्ध अनिता ढकाल गौतम December 15, 2020, 12:46 pm
अनिता ढकाल गौतम
अनिता ढकाल गौतम

मान्छेलाई मान्छेकै जस्तो व्यवहार गरिनु दया, माया एवं करुणाको भावलाई उजागर गरेर समाजलाई सत्मार्गतिर लैजान तथा मनुष्य हुन चाहिने गुणलाई मानवताको परिभाषा भित्र राख्दा उपयुक्त होला । विदूर नीतिमा दिइएको तलको वाक्यलाई ध्यान दिंदा उद्यम, साहस, धैर्य, बुद्धि, शक्ति र पराक्रम मानिसका छ वटा गुणहरू भएको बताइएको छ ।

उद्यमं साहासं धैर्य बुद्धिः शक्तिः पराक्रम ः ।

षडेते यत्र वर्तन्ते तत्र देवो सहायकाः ।।

यी छवटा गुणहरू मध्ये चारवटाले प्रायः सधैँ सकारात्मक सन्देश दिन्छन् भने शक्ति र पराक्रमले कहिलेकाही नकारात्मक सन्देश दिन पनि सक्दछन् । किनकि शक्तिका श्रोतमा सत्ता, धन, तथा ज्ञानलाई लिन सकिन्छ । सत्ता र धन शक्तिको उन्मादमा ज्ञानशक्ति छायाँमा परेको छ । फलतः आध्यत्मवादलाई तिरष्कार गरी भौतिकवादमा विश्वास गर्दे पृथ्वीको देहन गर्दा संसार हल्लाउने शक्तिशाली राष्ट्रहरूलाई समेत सानो कोभिड भाइरसले थर्कमान गराएको छ । तसर्थ, ज्ञान शक्तिको आधारमा विश्वमा देखा परेको कोभिड–१९ लाई परास्त्र गर्न चिन्तन मनन गर्नु नै आजको आवश्यकता वनेको छ ।

तातो रातो ग्रह नेबुला फुटेर बनेका अनेक ग्रह उपग्रहमध्येमा पृथ्वीमा एकोकोशिया, बहुकोषिय जनावरबाट ढेडू वाँदरमा रूपान्तरण भै आजको मनुष्य वनेको हो । मनुष्यको इतिहास र अभ्यास अरवौ बर्षको होला । मनुष्य विकासको क्रममा पहिलेको ढुङ्गे युगवाट क्रमशः घुमन्ते, कृषिमा रुपान्तरित हुँदै आजको फलामे युगमा आइपुगेका छौँ । यस अवस्थामा एउटा पृथ्वीभित्र राष्ट्र, प्रदेश तथा गाउँ नगरका कोठा कोठामा विभाजन भएको छ । मनुष्य मनुष्यबीच सम्बन्ध राखेर समुदाय र समाज बनेको छ । यसै सम्बन्धको परिणामस्वरूप हामी मनुवाहरू सामाजिक प्राणीको रुपमा विकसित हुँदै आएका हौँ । हामी बसोबास गरेको समुदायलाई समाज जनाउँदछ । यथार्थमा, समाज भन्नाले विभिन्न रहनसहन ,व्यवस्था, धर्म, जातजाती भाषा भाषी अङ्गाल्दै एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूहलाई जनाउँदछ । यसलाई त्यहाँको सामाजिक नीति र नियमले बाँधेर राख्ने प्रयास गरिएको भन्ने बुझिन्छ ।

साच्चै भन्नुपर्दा विकासवादका विभिन्न चरणलाई पार गर्दे आज हामी ज्ञानबाट विज्ञान तथा प्राविधिक युगमा चलिरहेका छौँ । यसले मानिसको जीवनयापनलाई सहज बनाउन अहम भूमिका खेलेको छ । हाम्रा पीता पुर्खाले जस्तै कठिन जीवन अहिलेको युगले भोग्नुपरेको छैन । नाना खाना, छाना, बजाना, तथा तरानाका औजार उपकरणमा परिवर्तन भएकै छ । ढुङ्गाका हतियारबाट रासायनिक पदार्थद्धारा संञ्चालित औजार उपकरण पनि बनेकै छन् । पृथ्वीको एउटा कोठाबाट अर्को कोठामा सजिलै मिनटमै पुगेका छौँ । संसारको एक कुनामा बसेर हामी सजिलै सँग अर्को कुनामा बसेका व्यक्तिहरुसँग त्यो पनि भिडियो कल मार्फत सजिलै कुरा गर्न सकिरहेका छौ । आफ्ना हरेक इच्छा र आकांक्षा सहजै परिपूर्ति भै रहेका छन् । व्यक्ति व्यक्तिबीच ज्ञान हस्तान्तरण पनि भएकै छन् । यसलाई सकारात्मक पाटोको रुपमा लिन सकिन्छ । तथापि यसको परिणामले कतै हाम्रो जीवनमा नकारात्मक प्रभाव पनि पारिरहेको त छैन, मानिसमा हुनपर्ने धैर्यता साहस, ज्ञान तथा बुद्धिलाई छाडेर रिस क्रोध आवेग र आवेशको बाटो बनाएर कोठा कोठाको स्वामित्वको लोभले गर्दा मानवले मानवलाई मार्न त गएका छैनौ ? सिक्काको एउटा पाटो पर्दा अर्को पाटो गुमाए झै उग्रराष्ट्रवादको नाममा अर्काको परिवार नै विचल्ली त पारेका छैनौँ ? सोच्न पर्ने बेला आएको छ ।

यथार्थमा जीवन संघर्ष न हो । एउटा सानो शिशु आमाको गर्भवाट संघर्ष गर्दे यो धर्तीमा आउँछ, बिस्तारै बढ्छ कैशोर्यमा पुग्दै खिइदै बृद्ध अवस्थामा अझ घट्दै घट्दै एउटा संकटको अवस्थामा पुगेपछि अन्तत्वोगोत्वा माटोमा नै मिल्न पुग्छ । यो क्रम निरन्तर रुपमा चल्दै आएको छ र चलिरहनेछ । हेरौँ त हाम्रा बाजे बराजुहरू पनि यसरी नै परलोक गए । यथार्थमा हामीले पनि जन्मिदा न त केही लिएर आएका हौँ न त मृत्यु पछि केही लिएर नै जान्छौ । मृत्यु शाश्वत सत्य हो । तर आश्चर्य लाग्छ जन्मदेखि मृत्यु सम्मको यात्रामा मान्छे किन नकारात्मक क्रियाकलापप्रति उन्मुख भइरहेका छन् ? सवैले एकचोटी छातीमा हात राखेर मनन गर्नुपर्ने बेला भएको छ । दिनदहाडै चोरी डकैती, हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरू घटिरहेका छन् । कतै जन्म दिने बाबुबाटै छोरी बलात्कृत हुनुपर्ने अनि कतै काकी भतिजको सम्वन्धवाट अवोध शिशुलाई जन्म दिने, कतै घरपरिवारबाटै निरिह चेलीको हत्या हुने त कतै जात धर्म अनि रंग र लिङ्ग भेदको आधारमा मान्छेद्धारा मान्छे नै मारिनुपर्ने । यी र यस्ता विभत्स घटनाहरूले मन मुटु र मस्तिष्क पोलिरहन्छ ।

अहिले विश्व समुदाय नै कोरोना नामक भाइरससँग जुधिरहेको अवस्था छ । कोठा कोठा र बस्ती बस्तीमा आगो सल्केको छ । आगो निभाउने नाममा कसैले दशैं मानेका छन् त कतै पापी पेट भर्न आहारको खोजीमा सडकमा रोएका पनि छन् । कसैले यसलाई महामारीको संज्ञा दिएका छन भने कसैले यसलाई आतंक मात्रै हो भनिरहेका छन । यथार्थ र सत्य के हो त्यो त सही समय आएपछि भविष्यले नै बताउला । अहिले यसै सँग जुध्ने नाममा निषेधाज्ञा लगाइएको छ र संक्रमित र मृत्यु तथ्याङ्क सार्वजनिक गरेर आ–आफ्नो तरिकाले चर्चा परिचर्चा गर्न थालिएको छ । अनि संसारमा कोरोना बाहेक अरु रोग नै छैन कि जस्तो गरी यसैमा मात्र केन्द्रित रहेको देखिन्छ । हुने खानेलाई त खासै फरक नपर्ला तर रगत पसिना बगाएर खाने निमुखा गरिव जनता प्रति खोइ त चासो राखिएको ? भोको पेटले सारंगी बजाउँदै , अनि पीडाले रन्थनिदै आँखाबाट बग्ने नुनिला आँसुहरुसँगै रात कटाउने ती आम जनताहरु प्रति कहिले सजग हुने हो ? आवाज विहिनका आवाजहरूलाई कहिले बुलन्द बनाउने हो ? हामीहरूका अगाडि यक्ष प्रश्न उठेको छ ।

संस्कार र संस्कृतिको नाममा डिउटीमा खटिएका प्रहरीमाथि नै निर्मम तरिकाले प्रहार भइरहेको छ । कतै निषेधाज्ञाको नाममा जघन्य अपराध पनि भइरहेकाछन् तर ती सबै छायामा परेका छन् । के हाम्रो धर्म संस्कृति एवं परम्पराले यही सिकाएको छ ? के धर्मको मर्म र ज्ञान यही हो ? धर्मले त हामी सवै मनुष्य मनुष्यबीच एक आपसमा माया गर, आत्मसम्मान गर, गरिव दःुखीलाई सहायता गर भनेर सिकाएको छ । तर हामी त्यसको विपरित किन नकारात्मक बाटोतिर लम्किरहेका छाँै ? अनि हाम्रा युटुव मिडियाहरूले आफ्नो भ्यूज बढाउने नाममा तोडमोड गरी समाचार सम्प्रेषण गरिरहेका छन् । तर, त्यसलाई अनुगमन तथा मूल्याङ्न गर्ने निकाय भने मौन रहेको छ । नेतृत्व वर्ग पनि मास्टर बेडरुम तथा साना ठूला कोठा प्राप्तीको झगडामा अलमलिएका छन् । यसै बेला घरभित्रका झगडालाई मिडियामा ल्याएर बाझाबाझ गर्ने घटनाहरु दिनानुदिन बढ्दै गएको पाइन्छ । यस्तै हालका दिनमा शहर वा गाउँ दुवैतर्फ जमिन बाँझो छ, श्रमिकहरूले काम पाएका छैनन् । वित्तिय क्षेत्रमा पनि लगानी जोखिम नै रहेको अवस्था छ । यस्तो वेला करेसाबारीमा भए पनि तरकारी उब्जाई गरेर खाएको धन्य मान्ने अवस्थामा यदाकदा झगडा गरेको देख्दा कतै हाम्रो व्यवहार र आचरण मध्ययुगिन तिर त गएन ? सोचनीय विषय बनेको छ । अर्थात यस्ता पक्षवाट पर्न जाने सामाजिक तथा मानसिक असरहरू बारे कसले जिम्मा लिने ?

यसो भन्दैमा समाजमा सकारात्मक कार्यहरु नभएका होइनन । अहिलेको विषम परिस्थितिमा केही व्यक्तिहरूले सडकमा भोका जनताहरूलाई केही राहत होस भनी निशुल्क खाना खुवाइरहेका छन्, जुन अत्यन्तै प्रशंसनिय कार्य हो । कतिपय मनकारी व्यक्तिहरुले भाडामा बस्नेलाई केही राहत दिएर सहयोग गरिरहेका छन् । त्यस्तै हेटौडामा विभत्स किसिमले हत्या गरिएकी चेली सुस्मिता थापाकी माता पीताले पत्थरको जवाफ फूलले दिए झैँ यस समाजमा भए गरिएका विकृत तथ कुकृत्य विरुद्ध आफ्ना सबै पीडाहरूलाई मुटुभित्र अठ्याएर सामाजिक कार्यमा जसरी अगाडि बढेका छन त्यसलाई हामी सबैले हृदय देखि नै नमन गर्नै पर्दछ । यसर्थ समाज सुधारका लागी नकारात्मक कुरालाई हटाएर सकारात्मकता वृद्धि गर्नेतर्फ उन्मुख हुने बेला आएको छ । म, मेरो र मलाई भन्दा पनि हामी, हाम्रो र हामीलाई भन्ने भावना जगाउनु पर्ने देखिन्छ । प«mेड रिग्सले भनेका आफन्तवाद हटाएर योग्यतावादलाई बढाउन परेको छ । समाजबाट केही पाउनभन्दा समाजलाई केही दिन सक्नु नै मानवीय गुण हो भन्ने बुझाउनु परेको छ । अर्थात परोपकार पुण्याय पापाय परपीडनम् भन्ने भावनाको सन्देश स्कुलदेखि नै सिकाउनु परेको छ । मानिसको पहिलो पाठशाला परिवार नै हो भन्ने नैतिक शिक्षालाई जोड दिदै घर परिवारमा पनि सकारात्मक वातावरणको निर्माण गर्न सके सकारात्मकता वृद्धि गर्न सकिन्थ्यो । पूजापाठ, ध्यान, योगले पनि सकारात्मक भावनाहरु ल्याउन अहम भूमिका खेल्दछ । सानो सानो समुदाय बनाएर समाजमा सिर्जनशिल कार्यहरुतर्फ उन्मुख हुन सकिन्छ । आजको पुस्ता आधुनिक उपकरणतर्फ लालयित भइरहदा हाम्रो सोच नै साँघुरिएको अवस्था छ । तसर्थ, मोवाइल, टिभी, ल्यापटपमा मात्रै समय व्यतित नगरी केही समय प्राकृतिक वातावरणमा रमाउने, रमाइलो पारिवारिक माहोल बनाउन तर्फ लाग्न सकिन्छ । समाजमा हुनेखानेले विपन्न वर्गलाई सहयोग गरे उनीहरूको आत्माले नि केही राहतको सास फेर्न पाउने थिए । जनताको भोको पेटमा लात हानेर राजनीति गर्दा रोगले भन्दा भोक र शोकले मर्ने बेला भइसकेको छ । तसर्थ, काम गरेर खाने वातावरणको निर्माण गर्दै गाँसले सास धान्न पर्ने वेला आएको छ ।

अन्तयमा, जीवन र जगत के हो ? त्यसको उपयोग कसरी गर्ने भन्ने कुरा गीतामा तीनवटा कुरावाट अथ्र्याइएको छ । पहिलो हो गीताले मानव जातिलाई कर्म गर फलको आशा नगर, दोस्रो मान्छेको जीवन ह््रासवान छ भने तेस्रो शरीर मर्छ तर आत्मा मर्दैन । यथार्थमा मान्छेको उमेर बढ्दै जाँदा कार्य क्षमता खिइदै जाँन्छ र खिइएको शरीरलाई औषधि उपयोग गरेर केही समय राहत लिन सकिन्छ र अन्त्यमा माटोमा नै विलिन हुनपर्ने वताएको छ । माटोमा विलिन हुने स्वभाविक वा अस्वभाविक मार्ग मध्ये कोभिड –१९ अस्वभाविक मार्ग बनेको छ । सुख र दुःख जिन्दगीको दुई चक्र हो यो घुमिरहन्छ । जिन्दगी त आखिर दुई मुठी सास न हो एकदिन त अवश्य उडेर जान्छ । आरोप –प्रत्यारोप, लुछाचुँडीको वदला एक आपसमा सहयोग गरेर झै –झगडा रिस–राग देखि टाढा बस्नुमा नै सबैको कल्याण हुने देखिन्छ । त्यसैले महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदनमा लेखेका तलका वाक्यहरूलाई सुविचार गरेर हाम्रा हरेक पाइलाहरु सत्मार्ग तिर अगाडि बढाउँदा उपयुक्त होला ।

संसारलाई मुखमा हेरी कम्मर कसेर

आकाशतिर पखेटा चालौ पृथिवी बसेर ।

हो, उनले भने जस्तै हामीले सदियाँैसम्म पनि हाम्रो आफ्नो कर्महरु छोडेर जानुपर्दछ । ता कि भावी पुस्तालाई हाम्रा सत्कर्महरू जीवनको लागी मार्गदर्शन बन्न सकुन , अस्तु ।

निब्वाबोट, आँधीखोला गाउँपालिका ,स्याङ्जा जिल्ला, हाल मनमैँजू ,तारकेश्वर –९ कठमाण्डौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।