14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

व्यंग्यकार जगनिधि दाहालको व्यक्तित्व र कृतित्व

व्यक्तित्व / कृतित्व बैद्यनाथ उपाध्याय December 14, 2020, 11:06 pm
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

यो लेख लेखिरहँदा मेरो आँखामा जगनिधि दाहालको हँसिलो सौम्य अनुहारको झझल्को आईरहेछ। वहाँ अहिले हामीलाई छोडेर अनन्तको यात्रामा जानुभयो यो कुरो मेरो मनले मान्न खोजिरहेको छैन। तर यो सत्यलाई कतिन्जेल झुठलाउन सकिन्छ र ! व्यंग्यकारका रूपमा जगनिधि दाहालको एक छुट्टै परिचय छ। रौता ताराजुलीका भीष्म ढकालको साम्बा म्युजिक ग्रुपमा सामिल भै नेपालको विराटनगरको वीरेन्द्र सभा गृहमा हास्यव्यंग्य प्रस्तुत गरी आफ्नो व्यंग्यकारको परिचय प्रस्तुत गर्नु भएको थियो।मान्छे च्याप्ने मशीन कृतिमा वहाँ आफ्नो ढोल बजाउनु पर्दा भन्दै लेख्नुहुन्छ- वाल्यावस्थादेखि नै नाटक र नृत्य प्रति ममा दुर्बलता आउन थालेको हो। पहिले नर्तकको रूपमा नृत्य गर्दै जाँदा पछि नाटकमा स्त्री पात्रको भूमिका निभाउनु पऱ्यो। अनि पुरुष पात्रमा खलनायक, नायक, वीरयोद्धा आदिको भूमिकामा अभिनय गरियो। यसै बीच अग्रजहरूको कमीक प्रदर्शन देखेर मेरो म पनि त्यतापट्टि लहसिन थाल्यो। एक दुई ठाउँमा प्रदर्शन गर्न थाल्दा धेरै उत्साह, प्रशंसा प्राप्त भयो, म भुँइमा न भाँडामा हुन थालें। यसरी प्रदर्शन गर्दै जाँदा प्रत्यक्ष वा परोक्ष प्रभावले केही मात्रामा समाजका कुरीतिहरू सुधार भएको महसुस हुँदा झन् झन् हौसला बढ्दै गयो। हाइस्कूलमा पढदा छात्रसभाहरूमा पनि हास्यव्यंग्य प्रदर्शन गर्ने क्रम चल्दथ्यो। हास्य व्यंग्य बारे वहाँ अझै भन्नुहुन्छ- छात्रसंघ, भाषा-साहित्य-संस्कृतिको अधिवेशनहरू भानुजयन्ती, दशैं-तिहार, सरस्वती पूजा आदिको सांस्कृतिक कार्यक्रमहरूमा हास्यव्यंग्य प्रदर्शन गर्न थालियो। यस प्रकार आफ्नो गाउँ-ठाउँदेखि लिएर डिब्रुगढ, विश्वनाथ चाराली, जामुगुडी, सियालमारी, उदालगुडी, शिलाङखुटी, फुहुराबारी, बादागाउँ र सुदूर विराट नगर नेपाल आदि गरी अर्ध शताधिक मञ्चमा हास्य व्यंग्य प्रदर्शन गर्ने मौका मिल्यो। मञ्चसफल हास्यव्यंग्य धेर जसो आफ्ना पाराले र कतिपय अन्य लेखादिबाट सहाय लिएर पनि प्रस्तुत गरियो। विशेष गरी मलाई लाग्छ समाजमा फैलिएको रूढीवाद, कुरीति, अन्याय, दुर्नीति आदि सुधारमा ल्याउन हास्यव्यंग्य अन्यतम विधा हो।

व्यंग्य लेखनमा सिद्धहस्त जगनिधि दाहाल हँसमुख र अति सहज सरल व्यक्तित्व सम्पन्न लेखक हुनुहुन्थ्यो। आफ्नो व्यथा-कथा शिर्षक कविता संग्रहमा वहाँ लेख्नुहुन्छ- छात्र अवस्थादेखि नै कविताप्रति ममा केही दुर्बलता आएको हो। सन 1962-63 तिर हाइस्कुलको छात्र अवस्थामा आफन्त कतिपयलाई कविताको भाखामा चिट्ठी लेख्न रहर लाग्न थाल्यो। मेरो कविताको शुरूवात चिट्ठी लेखाइबाट नै भएको हो भन्न सकिन्छ। पछि स्कूलको मुखपत्र, छात्र-संघको मुखपत्रमा मेरा कविता प्रकाशित हुन थाले अनि म झन उत्साहित हुन थालें। बिस्तारै असमिया, हिन्दी तथा नेपाली भाषाका विभिन्न पत्र-पत्रिकामा पनि कविता प्रकाशित हुन थाले।यसरी नै मेरो कविता यात्रा शुरू भयो। वहाँ भन्नुहुन्छ- कविता कोरेर कहिले पुस्तकका बीचमा, कहिले ओच्छ्यानका पत्रमा त कुनै टेबलमा भएका खाताहरूका च्यापमा घुसारिन्थ्यो।

आफ्नो जीवनकालमा केवल चार कृतिहरू समाजलाई दिएर जानुहुने जगनिधि दाहाल लेखनमा गहन विषयहरूको चर्चा उठाउनु हुन्थ्यो। वहाँका धेरै लेखहरू अहिलेपनि अप्रकाशित नै रहेको कुरो जान्न पाईन्छ। जगनिधि दाहालको जन्म 2 जुलाई 1948 सनमा भएको थियो। वहाँको पिताको नाम थियो नरपति दाहाल र आमा हुनुहुन्थ्यो मनमाया देवी। यहाँका प्रकाशित कृतिहरू हुन- हिङ नभए पनि हिङ बाँधेको टालो (1997), हिङ बाँधेको टालो (2001), मान्छे च्याप्ने मशीन (2010) र व्यथा-कथा (कविता संग्रह), 2015 सनमा प्रकाशित भएको पाइन्छ। वहाँ च्याँखे पत्रिकाको सह-सम्पादकको रूपमा कार्यरत हुनुहुन्थ्यो। मधुसूदन घिमिरे, रेवति गौतम र मोहन भेटुवालका स्मृतिग्रन्थहरूको वहाँले सम्पादन गर्नुभएको छ। नेपाली, असमिया र हिन्दी भाषामा कथा, कविता र निबन्ध लेख्नु हुने जगनिधि दाहाल 1990 को दशकमा पूर्वांचल प्रहरीको रौता संवाददाताको रूपमा पत्रकारितामा पनि संलग्न हुनुभएको थियो। तर यस क्षेत्रमा धेरै दिन रहनु भएन। यहाँको परिचय असमर बातरि काकतर डेरश बसरीया जयन्ती उद्य़ापन समितिले प्रकाशमा ल्याएको असमर सांवादिक जीवन परिचितिमा पनि सामिल भएको छ। त्यहाँ जगनिधि दाहाललाई सेंटिनल, पूर्वांचल प्रहरी, जागरण, हाम्रो ध्वनि र देश वार्ताका संवाददाताका रुपमा उल्लेख भएको छ।

वहाँ एकजना संस्कृतिप्रेमी व्यक्ति पनि हुनुहुन्थ्यो। नेपाली संस्कृतिको विषयमा वहाँले धेरै लेखहरू पनि लेख्नु भएको छ। पी.यु. सम्म अध्ययन गर्नुभएका जगनिधि दाहालले हिन्दीको कोविद डिग्री पनि लिनु भएको थियो। वहाँ रौताको लाइलंपारा मध्य अंग्रेजी विद्यालयमा 1975 सनदेखि हिन्दी शिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो। 2008 सनमा वहाँ शिक्षकताबाट सेवानिवृत्त हुनुभएको थियो। पदमूक्त भए पछि वहाँ गाउँका बाल-बालिकाहरूलाई निशुल्क शिक्षा प्रदान गर्ने जमर्कोमा हुनुहुन्थ्यो। तर विभिन्न असुविधाले गर्दा वहाँको यो जमर्को धेरै दिन टिक्न सकेन। वहाँ एकजना भाषाप्रेमी व्यक्ति हुनुहुन्थ्यो। भाषा आन्दोलनमा वहाँको योगदानको कदर गर्दै अखिल भारतीय नेपाली भाषा समिति, असम राज्य शाखाले वहाँलाई भाषा सेनानीको मान्यता प्रदान गर्दै 1995 सनमा मानपत्रले सम्मान गरेको थियो। हास्य व्यंग्यमा वहाँको विशिष्ट योगदानको लागि गाउँ शिक्षा समितिले 1998 सनमा हास्य अभिनेताको सम्मान प्रदान गरेको थियो। असम साहित्य सभा, रौता शाखा समितिले वहाँलाई श्रेष्ठ अभिनेताको सम्मान प्रदान गरी वहाँको प्रतिभाको कदर गरेको थियो। 1993 सनमा असम नेपाली नाट्य सम्मेलनद्वारा विशिष्ट सेवा सम्मान प्रदान गरेको थियो।

2003 सनमा उदालगुडीमा हिन्दुस्तान टाइम्स प्रकाशन समुहको कादम्बिनी क्लब गठन गरिएको थियो त्यस बेला वहाँ रौता अञ्चलबाट सदस्य बन्नु भएको थियो। पछि कादम्बिनी क्लबले इन्द्रेणी रच्ने हस्ताक्षरहरू शिर्षक पुस्तक प्रकाशनमा ल्याएको थियो त्यसमा वहाँका चारवटा कथाहरू सामिल गरिएका छन। फेरि छोरो भेटाइदेऊ बा, हाम्रा कुर्मा मान्छे, रामेको चेष्टा र भाइटीकाको एकदिन कथाहरू समाविष्ट छन।

नेपाली परम्परागत भाँडा-कुँडा वहाँले जोहो गर्नु भएको थियो। समय समयमा वहाँका ती सामानहरू प्रदर्शनीको लागि राखिएको पनि देखिन्थ्यो। वहाँ एकजना स्वच्छ भावमूर्तिका व्यक्ति हुनुहुन्थ्यो। छट्याईं-फट्याँई वहाँको स्वभावमै थिएन। नवेम्बर 15 तारिख लक्ष्मी पूजाका दिन जब सबै मान्छे तिहारको रमझममा थिए त्यसै बेला वहाँ हामीलाई व्यंग्य विद्रूप गरी अचानक अनन्त यात्रा तर्फ लाग्नुभयो। यहाँको सामाजिक, सांस्कृतिक र साहित्यिक योगदानले हामीलाई सँधै अघिबढन घच्घच्याई रहनेछ।

खांखलाबारी, उदालगुडी-784509, बीटीआर, असम।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।