14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

ओछ्यानको खोजी

कविता विमल लामिछाने December 14, 2020, 11:10 pm
विमल लामिछाने
विमल लामिछाने

आकाशिएको महँगीले

सीमा नाघेको बेला

सानो कदकी मेरी संगीनी

लोलाउँदै गरेकी छोरी काखमा च्यापेर

सजिलो ओछ्यान मागीरहिछन् ।

मैले जान्दादेखि, उनी र म हामी हुँदासम्म

र आजपनि म ओछ्यान त ओछ्यान लगाइरहेछु

तर उनले मागेजस्तो र खोजेजस्तो ओछ्यान लाउनै सकिन ।

ओछ्यान त मैले धेरै पटक लगाएँ

कतै मेची भित्रिएर लगाएँ

कतै कोशी तरेर लगाएँ

कहिले पूर्व सिरानी फर्काएर लगाएँ

कहिले पश्चिम सिरानी पर्काएर लगाएँ

उत्तर र दक्षिण त कति फर्काएँ कति

तर उनले मागेजस्तो सजिलो ओछ्यान लाउनै सकिनँ ।

ओछ्यान त म ओछ्यान लगाइरहेछु

ढसना र तन्दा मिलाइरहेछु

झिँगा र भुसुनाले नदेखोस् भनेर

सँधै झुल टाँगीरहेछु

उनको इच्छा पूरा गर्न

उनले भनेजस्तै ओछ्यान खोजीरहेछु

तर सजिलो ओछ्यान लाउनै सकिन ।

आजपनि अनिदो आँखामा

मिठो सपना देख्ने अभिलाशा बोकेर

मेरी संगीनीले रोजेजस्तो र खोजेजस्तो

स्थायी र सजिलो ओछ्यान खोजीरहेछु ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।