इन्द्रकुमार विकल्पको कोरोना क्रिमुकसङ्ग्रहमा एक दृष्टि

कृति/समीक्षा सदानन्द अभागी December 30, 2020, 3:49 pm

सदानन्द अभागी
सदानन्द अभागी
परिचय–

कविता, उपन्यास, मुक्तक, लघुकथा, कथा, हाइकुका सिद्धहस्त साहित्यकार एवम् सम्पादक,पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्ष एवम् संरक्षक साथै गोविन्दस्मृति साहित्य पुरस्कारका संस्थापक इन्द्रकुमार विकल्प, नेपााली साहित्य जगतमा एउट चर्चित व्यक्ति हुन् । सम्झनाका डोवहरू कवितासङ्ग्र्रह (२०४४) सालमा प्रकाशन गरी कृतिकारको रूपमा देखिएका साहित्यकार इन्द्रकुमार विकल्पले आफ्नो साहित्य साधनालाई तीब्र गतिमा अघि बढाउँदै कोरोना क्रिमुकसङ्ग्र (२०७७) सम्म आइपुग्दा उनका ११ थान कृतिहरू बजारमा आइसकेका छ्न् । २०५४देखि हालसम्म “कालीको सुसेली” त्रैमासिक पत्रिकाको सम्पादन इन्द्रजीले नै गर्दै आउनु भएको छ । वास्तवमा भन्ने हो भने यो पत्रिका धौलागिरी अञ्चलकै एक उच्चस्तरीय अग्रणी पत्रिका हो । पर्वत जस्तो विकट जिल्लामा बसेर विकल्पले नेपाली साहित्यमा पुर्याएको योगदान अतुलनीय छ र सिङ्गो राष्ट्रभरी नै अनुकरणीय छ । विकल्पको साहित्कि योगदानको उच्च मूल्याङ्कन गर्दै वष्ठि साहित्यकार एवम् पर्वत साहित्य सङ्गमका वर्तमान अध्यक्ष राजेन्द्र पहाडीले मनका रङ्गहरू (मुक्तकसङ्ग्रह)को प्रकाशकीयमा लेख्नुभएको छ —“नेपाली साहित्य र खासगरी आफ्नो पर्वत जिल्ला तथा सिङ्गो धवलागिरी क्षेत्रको वाङमय विकासमा यिनको सक्रियता लोभलाग्दो छ ।” यो मुक्तकसङ्ग्रहमा उनी मुक्तकमा नौलो प्रयोग लिएर मुक्तक लेखनमा मार्ग दर्शक बन्न सबलरूपमा हामी समक्ष दर्शिएका छन् । यसरी नयाँ नयाँ प्रयोगको खोजी गर्दै विकल्प हाल ‘कोरोना’ क्रिमुकसङ्ग्रह लिएर हाम्रो अघि प्रस्तुत भएका छन् ।

क्रिमुकको अर्थ र ऐतिहासिक पृष्ठभू्रमि–

मेरो लागि ‘क्रिमुक’नितान्त नौलो शब्द हो । नयाँ शब्द नयाँ प्रयोग भएकोले सर्बप्रथम यसै कृतिमा विभिन्न साहित्यकारले पस्केका धारणालाई यहाँ प्रस्तुत गर्न चाहान्छु । साहित्यिक पोष्ट भाद्र दुई २०७७ सालको अङ्कमा ‘ हाइकूभन्दा ७ अक्षर लघु आयतनको क्रिमुक कसरी लेख्ने ?’ शीर्षकमा गोपाल देवानको लेख आएको छ । यस लेखमा क्रिमुकको परिभाषा,संरचना र सूत्रात्मक आलम्वलाई देवानजीले प्रष्ट्याउँदै लेख्नु हुन्छ –‘‘क्रियामुक्त कवितालाई संक्षेपमा क्रिमुक भनिएको हो । क्रिमुकको सूत्रात्मक आलम्ब ‘‘अनुमतिविना प्रवेश निषेध’’ हो । अनुमतिविना प्रवेश निषेध भने पछि त्यसको पछि छ लेखि रहनु आवश्यक हुन्न ।’ यसको प्रयोग थालनी अविराम क्रान्ति तथा गोपाल दिवानकै शब्दमा –‘क्रिमुकको प्रायोगिक धृष्टता मैले २०४७ साल देखि नै सुरु गरेको हुँ ।’ यो ‘पूर्ण क्रिया प्रयोग नगरी नै काव्यिक अभिव्यक्ति गरिने शैली हो ।’ क्रिमुक लेखनको विषयमा दिवानजी लेख्नु हुन्छ –‘२०६१र०६२ देखि पाँचथरका कवि भाइ लाल अन्जानले त्यताबाट छापिने केही हवाई साहित्यिक पत्रिकाहरूमा क्रिमुकहरू लेखेर छपाउँदै आएका छन् ।’ यसरी क्रिमुकको थालनीको विवरण देवानजीको लेखबाट प्रष्ट भए पछि यस कृतिको भूमिका लाल ‘‘अन्जान’’ सम्बाहाम्फेले लेख्नु भएको छ र यस क्रिमुक लेखन सम्बन्धि केही थप जानकारी पाइन्छ । लाला ‘‘अन्जान ’’जीले ‘गोपाल दिवानले क्रिमुक लेखनको आरम्भ भयो र वि.सं. २०७५ बाट सुरेश काफ्ले ‘विदारक’ले शब्द संयोजन मासिक मार्पmत काठमाण्डौबाट क्रिमुक लेखन आरम्भ गर्नु भयो ।’ लाला ‘‘अन्जान’’को २०७६ माघको जनमत मासिक अंक २६८मा ‘क्रिमुक लेखन एक अवधारणा’ प्रकाशनमा आयो । यसले क्रिमुक लेखनलाई थप दरविलो बनायो । कोरोना क्रिमुकसङ्ग्रह प्रति लाला ‘‘अन्जान ’’ लेख्नुहुन्छ–‘धौलागिरिका साहित्यिक धरोहरकवि तथा साहित्यकार इन्द्रकुमार विकल्पबाट क्रिमुक लेख्न आरभ मात्र होइन कोरोना कहरको बेला ‘कोरोना ’क्रिमुकसङ्ग्रह नै प्रकाशन गर्नु उहाँको साहित्यिक यात्रामा शिखर आरोहणको अर्को कीर्तिमानी बन्यो ।’लाल ‘‘अन्जान’’ ले यस कृतिलाई विश्वकै प्रथम क्रिमुक कृति भन्नुभएको छ ।

कृति एवम् क्रिमुकको संरचना –

लेखकले लेखेको लेखलाई अध्ययन गर्दा साहित्य पोष्टमा लेखेको लेखले क्रिमुकको संरचना पहिलो हरफमा तीन अक्षर र दोस्रो हरफमा छ अक्षरमा लेखिनु पर्ने भन्ने सूत्रधारलाई इन्द्रजीको क्रिमुकसङ्ग्रहले अक्षरस प्रयोगमा ल्याएको छ । यस कोरोना कृति आवरण पृष्ठ बाहेक ८० पृष्ठमा संरचित छ । आवरण अग्रपृष्ठमा कोरोनाबाट संरक्षण हुनको लागि मासको प्रयोग गरेको चित्रले सजाएको छ भने आवरणको पछिल्लो पृष्ठ कृतिकारको परिचयले सजिएको छ । पर्वत साहित्य सङ्गमको ३८औं प्रकाशनक्रममा प्रकाशित यो कृतिको मूल्य १५० रुपियाँ राखिएको छ । यो कृति बुबा स्व.गोपीमान जोशी र आमा स्व.नन्दकुमारी जोशीमा सादर समर्पण गरिएको छ । लाल अन्जान सम्बा हाम्फे, राजेन्द्र पहाडी, जनमत मासिक र पर्वत साहित्य सङ्गम परिवार कुश्मा पवर्त प्रति हर्दिक आभार व्यक्त गरिएको छ । यसको प्रकाशकीय पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले लेख्नु भएको छ ।यस कृतिमा २८४ ओटा क्रिमुक समावेश गरिएका छन् ।

कृतिले दिएका सन्देशहरू– संसारभरी महामारीले ल्याएको लकडाउन तथा त्रासलाई विविध मानिसले विविधरूमा चुनौतीको सामनालाई अवसरको रूपमा परिणतगर्दै सिर्जनामा जुटेको पाइन्छ । यही अवसरमा इन्द्रकुमार विकल्पले नेपाली साहित्यमा एउटा नूतन विधा ‘क्रिमुक’ कृति हामी समक्ष पस्कनु भएको छ ।थोरै अक्षरमा धेरै सन्देश दिन सकिने यो ‘क्रिमुक’ विधाको थालनीमा इन्द्रकुमार विकल्पजीले लेख्नु हुन्छ –

जीवन

नाङ्गो जिजीविषा

(क्रिमुक १, पृष्ठ १०)

जीवनमा मानिसले के खोज्छ भन्दा बाँच्ने इच्छा नै हो । मानिसले चाँहदैमा जति चाह्यो त्यति बाँच्न सकिने अवस्था हुँदैन । यो नाङ्गो अवस्थामा छ । यो संरक्षित छैन । यसरी नै इन्द्रजीले जीवन जगतका थुप्रै धारणा यहाँ दर्शाउनु भएको छ । जिन्दगीलाई कतै इन्द्रेणी सपनामा लिनु भएको छ भने जिगीषालाई धैर्यताको बाँधको रुपमा लिनु हुन्छ । सबैमा बाँच्ने आकाङछा पनि हुन्छ ता पनि मरण तथा सुनिश्चित यात्रामा मानिस पुग्नै पर्छ ।जीवन ,जिन्दगी,जीवन वर्णन आदिका विविध घटनाक्रमा प्राणी गजतले भोग्छ, संघर्ष गर्छ, कसैले सफलता प्राप्त गर्छ भने कोही असफल भएर जीवन बिताउन बाध्य हुन्छ ।

प्रेममा आधिरित त्रिमुकहरू– प्रेममा विमर्स गर्नु भन्दा केही क्रिमुक हेरौं –

अंगालो

मायालुको जालो

क्रिमुक २, पृष्ठ १०

जवानी

नजोगिने पल

क्रिमुक ६१, पृष्ठ २५

युवती

नयनको खेती

६७ ,पृष्ठ २६

सौन्दर्य भ्रामक नयन, मायालु गन्थन भकारी, योनाङ्ग प्राकृतिक लाज, युवती बैंशको नतिजा, गुलाफ प्रेमको प्रतीक, कोपिला फक्रँदो जवानी,धरती ममताकी खानी,रूपसी भ्रमित हेराइ आदि प्रेममा आधारित क्रिमुक यस कृतिमा विविधरूपमा आएका छन् । मायाप्रेमको परिभाषा व्यापक छ । जन्म दिने आमा, मातृभूमि लगायत युवा युवतीमा देखिने सबै खाले प्रेमको आफ्नै आफ्नै महत्व हुन्छ । यिन्ले समाजमा पार्ने प्रभाव पनि फरक फरक देखिन्छन् । इन्द्रजीले प्रेम र प्रेमसँग सम्बन्धित घटनाक्रमलाई सहज रूपमा प्रष्ट्याउने प्रयास गर्नुभएको छ ।

प्राकृतिक सौन्दर्यमा आधारित क्रिमुकहरू–यस कृतिमा प्राकृतिक सौन्दर्यले सिङ्गारिका क्रिमुकहरू पनि हामीले अध्ययन गर्न पाउँछौं । हेरौं प्राकृतिकमा आधारित केही क्रिमुकहरू–

हिमाल

गौरव गाथा

क्रिमुक ७५,पृष्ठ २८

बतास

रूप अनेक

क्रिमुक ९०, पृष्ठ ३२

गण्डकी,

अबिरल यात्रा

क्रिमुक ९९

इन्द्रेणी

सुन्दर सपना

क्रिमुक १०१

जङ्गल

पशुको मङ्गल

क्रिमुक १०२

हिमाल

अटल विश्वास

क्रिमुक, १०५

चट्टान

बलको उपमा

क्रिमुक, १२०

पहाड

देशको अस्तित्व

क्रिमुक २७०

तराई

देशको इज्जत

क्रिमुक,२७१

प्राकृतिक सौन्दर्य मात्र नभएर प्राकृतिक प्रकोप साथै विविध घटनालाई पनि यस सङ्ग्रहमा समावेस गरिएका छन् ।

विविध खाले क्रिमुकहरू– यस कृतिमा राजनीतिक अवस्था, नेतृत्वको चरित्र, अस्मिता, अक्षर, साधना, साहस ,प्रभूत्व, स्वमित्व, फसल, ओदान, आक्रोस, आवाज, सपना, सीमाना आकाश, आवास, विपना, अभाव, योजना, नग्नता, अस्तित्व, रहस्य, चुनाव, मित्रता, भावना, तिर्सना, इमान, विहानी, सम्बन्ध, तरङ्ग, गन्तव्य, तस्वीर, तर्कना, पखेटा,अभाव, सारङ्गी,, स्वभाव, शासन,आफन्ति,जागिर,जनता, सौन्दर्य, शिक्षक, माकुरा, संदेवता, संघर्ष, हिसाव, साहित्य, यातना, भरोसा, प्रवृत्ती, आवाज, दानव, मधुर, रुमाल, आदि आदिलाई क्रिमुकको रूपमा अथ्र्याइएको छ ।

शीर्षकी करण – यस कृतिको नाम ‘कोराना’ राखिएको छ । नेपालमा कोराना व्यापकरूपमा तथा –चरमसीमामा फैलिएको वेलामा सिर्जना गरिएको हुँदा नामाकरण ‘कोरोना’ गरिएको देखिन्छ साथै कोरोनालाई पराकाष्ट त्रास एवम् अन्योलको त्रासको रूपमा अथ्र्याइएको छ । शीर्षक साथृक नै देखिन्छ ।

प्रस्तुत शैली– क्रिमुक लेखनमा क्रिया मुक्त लेखनको रूपमा लेखिनु पर्ने र सूत्रको प्रयोग हुनु पर्ने भएकोले सोही अनुसार नै लेखिएको छ । सरल भाषामा सबैले बुझ्ने गरी प्रस्तुत गरिएको छ । इन्द्रजीका क्रिमुकमा लयात्मकता छ । भाव प्रस्तुतिमा संक्षिप्तताको साथै कतै बिम्ब,कतै प्रतीक, कतै व्यङ्गचेतना, कतै सौन्दर्यता, कतै मानवीय प्रवृत्ति, सामाजिक मूल्य मान्यता, चाडपर्व, धार्मिक अवधारणा, संस्कृति आदि विवध पक्षलाई जोडेर सुन्दर प्रस्तुति भएको देखिन्छ ।

झट्ट हेर्दा शब्दको अर्थ हो जस्तो भान हुन्छ तर यथार्थतामा क्रिमुक लेखनमा शब्दको अर्थ नभएर यसले दिने व्यापक सन्देशलाई लिएको जस्तो मलाई लाग्यो जस्तै जीवन भन्दा प्राणिको जन्मेदेखि मृत्युसम्मको समय भन्ने अर्थ हुन्छ तर यही जीवनलाई क्रिमुक लेखनमा जीवन नाङ्गो जिजीविषा भनिएको छ यसको अर्थ नाङ्गो जीवन बाँच्ने इच्छा या नाङ्गो बाँची रहने चाहना भन्ने हुन्छ । नयाँ शैली भएको हुँदा यहाँ मैले भावलाई प्रष्ट्याउने प्रयासमात्र गरेको छु । यो विषय मेरो लागि पहिलो अध्ययन हो । यस सम्बन्धित ज्ञान नहुँदा नहुँदै पनि केही धारणा राख्ने प्रयास गरेको छु भन्दै इन्द्रजीको प्रशंसनीय कामको उच्च मूल्याङ्कन गर्दै विदा चाहान्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।