14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

साहित्यको समालोचना

विचार बैद्यनाथ उपाध्याय December 30, 2020, 4:03 pm
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

समालोचना भनेको राम्रो र नराम्रो दुवै स्थितिको सम्यक विचार गर्नु हो। साहित्यको समालोचना भनेको लेखिएको साहित्यको स्तर, वैचारिक उत्तरण, विषयवस्तुको सामाजिक प्रासंगिकता, साहित्यिक मान्यता आदि विषयमाथि वस्तुनिष्ठ चर्चा गर्नु हो। साहित्यको स्वस्थ्य समालोचना भएन भने साहित्यको गुणगत विकास कठ्यांग्रिने संभावना बन्दछ। संख्यागत रूपमा साहित्यको सम्बृद्धि देखिए पनि गुणगत रूपमा भने साहित्यको विकास हुन सक्तैन।

समालोचना शब्दको अर्थ कुनै विषयवस्तु वा कुराका राम्रानराम्रा पक्षको मूल्याङ्कन निष्पक्षताका साथ गर्ने काम भनेर शब्दकोशमा उल्लेख गरिएको छ। साथै यो पनि कि कुनै ग्रन्थ, लेख, व्यक्ति आदिका गुणदोषको सम्यक् विवेचना गरिएको लेख वा प्रबन्ध, आलोचना, समीक्षा भनेर उल्लेख गरिएको पाइन्छ।

एक सन्तोषजनक साहित्य समीक्षाले जम्मै सामग्री र संसाधनको पनि मूल्यांकण गर्दछ र सम्पूर्ण निष्कर्षको पनि विश्लेषण गर्दछ। कुनै पुस्तकको समीक्षा मा त्यो पुस्तकको सामान्य परिचय, विषय वस्तु, भाषा शैली, महत्व, लेखक, प्रकाशक, मूल्य आदिको विषयमा बताइन्छ। भविष्यको निर्णय, योजना र विश्वसनीयताको लागि समीक्षाको आवश्यकता पर्दछ।

आलोचना (Criticism) शब्दको एक व्यापक अवधारणा छ। जस्मा कुनै विधा, लेखक, प्रवृत्ति आदिको मूल्याङ्कन विश्लेषणात्मक तरीकाले गरिन्छ। आलोचना जब समेटिन्छ, औचित्यपूर्ण विश्लेषण कम आफुलाई मन परेको र नपरेको विषयमाथि धेरै दृष्टि राखिन्छ तब यो समीक्षा नभएर पूर्वाग्रह दूषित गफमा परिणत हुन जान्छ। समीक्षामा क) पूर्वाग्रह मुक्त दृष्टिकोण, ख) वस्तुनिष्ठता, ग) प्रासंगिकता, घ) लेखनको उद्देश्य, ङ) निजस्वता र च) सहज, सरल र सारगर्भित सम्प्रेषणीयतामाथि विचार गरिनु पर्छ।

साहित्य आलोचनाको मूल उद्देश्य हो क) साहित्यको मर्मको उदघाटन गर्नु, ख) विषयवस्तु सुरूचिपूर्ण छ कि छैन विचार गर्नु, ग) साहित्यिक अराजकतामाथि अंकुश लगाउनु र घ) साहित्य कुन दिशामा जानु पर्छ त्यस्को पथ प्रदर्शन गर्नु।

सामान्यत दुई प्रकारको आलोचना पद्धति प्रचलित पाईन्छ- सैद्धान्तिक र व्यवहारिक। सैद्धान्तिक पद्धतिमा कुनै साहित्य रचनासंग सम्बन्धित आधारभूत सिद्धान्तको संचयन गरिन्छ। रीतिग्रन्थ, लक्षणग्रन्थ यसको उदाहरण हो। यस्ले न केवल साहित्यिक विवेचनलाई मजबुत आधार प्रदान गर्दछ अझ यस्ले साहित्यको फलकलाई व्यापकता पनि प्रदान गर्दछ।

व्यवहारिक आलोचनामा इनै सिद्धान्तहरूको आधारमा समालोच्य कृतिको आलोचना गरिन्छ।जस्तै – रचनाको विषय, उद्देश्य, रचनाको स्वरूप, मौलिकता, रचनाकारको चिन्तन आदिमाथि विचार गरिन्छ।

डा. श्याम सुन्दर दासको भनाई छ- आलोचनाको कर्तव्य साहित्यिक कृतिको विश्लेषणपरक व्याख्या हो। साहित्यकार जीवन र अनुभवको जुन तत्वहरूको संश्लेषणबाट साहित्यको रचना गर्दछ, आलोचना तिनै तत्वहरूको विश्लेषण गर्दछ। साहित्यमा जहाँ रागतत्व प्रधान हुन्छ त्यहीं आलोचना मा बुद्धितत्व प्रधान हुन्छ। आलोचनाले ऐतिहासिक, सामाजिक, राजनीतिक परिस्थितिहरूको र रचना शिल्पको पनि आकलन गर्दछ। साहित्यमा ती परिस्थितिहरूको पर्नसक्ने प्रभावमाथि पनि विचार गरिन्छ। व्यक्तिगत रूचिको आधारमा कुनै कृतिको निन्दा अथवा प्रशंसा गर्नु आलोचनाको धर्म हैन।

समालोचकले कृतिमा कुनै नयाँ कुरा उल्लेख गरिएको छ कि छैन, अरू पुस्तकहरूको दाँजोमा यस्को नवीनत्व र पुस्तकको सामाजिक सरोकार इत्यादि विषयमा ध्यान दिनु पर्छ।

वरिष्ठ साहित्यकार हिमांशु जोशी भन्नुहुन्छ- म मान्दछु कि यदि रचना सार्थक छ भने त्यो आफैं बोल्नेछ। र यो पनि मान्दछु कि ढिलो-छिटो यस्ता रचनाको मूल्यांकन पनि अवश्यै हुन्छ। समयले सबै सीमा रेखाहरू निर्धारण गर्दछ। जस्ले एकलै हिंडनमा विश्वास राख्दछन, उनिहरूमा आत्मविश्वास केही बढीनै हुन्छ, जो लेखकको लागि अन्तत वरदाननै सिद्ध हुन्छ।

तर यो मार्ग कम दुर्गम, दुष्कर र कम कष्टकर हुँदैन। म मान्दछु कि यदि तपाईमा उर्जा छ भने, लगातार लेख्ने क्षमता छ भने चुपचाप लेख्तै जानुहोस, रचनाले आफैं आफ्नो स्थान बनाउनेछ। यस्को लागि कुनै मञ्च अथवा कुनै आन्दोलनको सहाराको आवश्यकता पर्दैन। आफ्नो पक्षमा स्वयं लेखक बोल्नु भन्दा त राम्रो हुन्छ कि रचनालाई नै बोल्न दिउँ। यो त्यतिबेला सम्भव हुन्छ जब आफ्नो रचनाकर्मको प्रति लेखकमा निष्ठा र ईमानदारीता हुन्छ। तब बिना बैशाखीमै त्यो खडा हुन्छ।

साहित्य साधनाको लागि सच्चाई चाहिन्छ, मूलभूत ईमानदारीता पनि। मानवीय संवेदनाले त्यस्लाई गहिराई मात्रै प्रदान गर्दैन, एक उँचाई र विस्तृत विस्तार पनि। व्यावसायिकताको यस दौडमा, लाग्दछ साहित्यकारको परिसर सीमित बनाईदिएको छ। धेरै धेरै सीमित।

साहित्यको उद्भव आन्दोलनले हैन, आन्तरिक उद्वेगहरूबाट हुन्छ। त्यस्को लागि बाह्य प्रभाव भन्दा बढी भित्री चिन्तन चाहिन्छ- आत्म मन्थन। आयातित संस्कृतिको युगमा बाह्य साहित्यिक आन्दोलनको आत्मस्वीकारले निसन्देह अनेक प्रश्नहरूलाई जन्म दिएको छ। वास्तवमा कालको प्रवाहमा त्यो नै टिक्न सक्दछ जस्को जरा सुदृढ हुन्छ, बाहिर भन्दा भित्र गहिरो हुन्छ।

समालोचकले पाठकहरूलाई ध्यानमा राखेर समालोच्य कृतिको वस्तुनिष्ठ आलोचना अघि बढाउनु पर्दछ। पूर्वाग्रहले दूषित भै कसैलाई अनुचित प्रशंसा र कसैलाई मात्राधिक निन्दा गर्नु समालोचकको काम हैन। लेखिएको विषयवस्तुले लेखकको व्यक्तित्वलाई उजागर गर्ने हुँदा लेखक धेरै गम्भीर हुनु जरूरी हुन्छ।

(लेखक गगन के उस पार काव्यग्रन्थको लागि केंद्रीय हिंदी निदेशालयबाट अहिंदीभाषी हिंदी लेखक पुरस्कार (2012) ले सम्मानित हुनुहुन्छ।)

लेखकीय सम्पर्क- खांखलाबारी, उदालगुडी-784509, बीटीआर, असम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।