14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मुस्कान

लघुकथा ईगम खालिङ December 30, 2020, 4:08 pm
ईगम खालिङ
ईगम खालिङ

शिव सरले भर्खरै लिएको भाडाको घरदेखि अलिक मुन्तिर एउटा सानो चिया दोकान थियो। उसले त्यहाँ चिया पिउन थालेको यस्तै तीन-चार दिन मात्र भएको थियो। पाँचौं दिन कलेज जाँदा ऊ त्यहाँ चिया पिउन पस्यो।

चिया पिउँदै गर्दा उसको नजर अलिक पर बसिरहेकी एउटी तरुणी केटीसित जुझ्न पुग्छ। त्यो केटीले पनि नडराई उसलाई घरीघरी टुलटुल हेरिरहन्छे ऊ झन् नामले नै शिव किन पछि हट्थ्यो। नजर भङ्ग भइसकेपछि केटी अलिकति अप्ठ्यारो मान्दै दोकानबाट बाहिर निस्किई। उसको मन उज्यालो भएर आउँछ र आफैँलाई भन्छ, “कान्छा, बसाइको सुरुमा नै लवमा पर्छु क्या हो!”

आधा कपजति चिया पिइसकेपछि उसले दोकानेलाई सोध्छ, “भाइ, त्यो अहिले मसित नजर जुझाएर बाहिर निस्कने केटी को हो हँ?” सहजै “मेरी श्रीमती” भनेर दोकाने आफ्नो काममा व्यस्त भइहाल्छ। उत्तर सुनेर ऊ भित्रभित्र अतालिन्छ। त्यहाँबाट निस्केर तल पुगिञ्जेल उसको आँखामा त्यै केटीको अनुहार एकोहोरो आइरहन्छ।

बी० एड० कलेज आइपुग्ने बेलामा उसलाई एकजना साथीले “गुड मर्निङ, सर!” भनेर अभिवादन गर्छ तर उसले भने सिधै सोध्छ, “भन्नुहोस् त साथी, मन पापी कि आँखा पापी?”

“हत्, बिहानै पिएर आउनुभयो क्या हो?” भनेर साथी ऊबाट तर्किन्छ। ऊ रिसाउँदै “अँ, हो त, माथिबाट भक्कु पिउनुसम्म पिएर भक्कू भएर आएको!” भनिराखेर कक्षागृहतिर लाग्छ।

भोलिपल्ट, ऊ त्यो दोकान जाऊ कि नजाऊ भइरहन्छ। फेरि आफैँसित मुसुमुसु हाँस्दै आफैँलाई भन्छ, “हत्, कति आफैँसित हाँसिरहूँ !”

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।